नझुक्किनुस् है,
मान्छेका अनुहार भएकाहरू
सबै मान्छे कहाँ हुन् र ?
अनुहारले मान्छे देख्नुभो होला
तर विचारले, कर्मले हेर्नुस् त
तिनीहरू केवल कुकुर हुन्
मात्र गधा हुन् ।
कुकुर प्रवृत्तिका मानिसहरू
जिन्दगीभर…
एक टुक्रा हड्डीका निम्ति
मालिकको पाद् सुँघिरहन्छन्
मान्छेको समानता र न्यायको असिम चाहनालाई
लात मारेर, घात गरेर
सिर्फ एक चोक्टा मासुका निम्ति
विभेदको सिक्रीले बाँधिन मन्जुर हुन्छन्
र त्यसपछि
शत्ताधारी मालिकको आलिशान महलबाट
तल सडकमा
न्यायको खोजीमा निस्केका
मान्छेहरूलाई बेस्मारी भुक्छन्
साला, कुकुरहरू ।
च्योच्यो… कुतिकुति…
कुकुरको बफादारीता देखेर
मालिकले चारो फ्याल्छ
ला, एक चोक्टा सांसद
ला, एक चोक्टा मन्त्री
ला, एक चोक्टा प्रतिष्ठानको उपाध्यक्ष
ला, एक चोक्टा आयोगको अध्यक्ष
दशकौं देखि मालिकको ढोकामा
र्याल काढ्दै कुरी बसेका कुकुरहरू
लाज पचेर ज्यान फ्यालेर
चोक्टातिर झम्टिन्छन्
ङारङार, ङुरङुर एकापसमा लड्न थाल्छन्
यो दृष्य खुबै हेर्नलायक हुन्छ
मान्छेको अनुहार भएको
कुकुरको गती देखेर
सिंहदरबारको बार्दलीबाट
मालिक मन्द, मन्द मुस्कुराउँछ
थुक्क, कुकुरको जुनी ।
हेनुस् त गधाको ताल
साला गधाहरू
मालिकको भारी बोक्न नपाएर
कहिले फाइभस्टार होटलमा त
कहिले मालिकको बङ्गलामा रोइरहेका छन्
ए मेरा प्रिय मान्छेहरू !
मान्छेहरू कहिले देखि यसरी
कुकुर भए ? गधा भए ?
र विभेदको साङ्लोमा बाँधिन मन्जुर भए ?
एक चोक्टा मासुका निम्ति आफैलाई भुले ?
मान्छेको हुर्मत् लिए ?
मान्छेको बेइज्जत गरे ?
यदि यिनीहरू मान्छे भएका भए त
समानता चाहन्थे, समता चाहन्थे
स्वतन्त्रता चाहन्थे, न्यायनिसाफ गर्थे
अन्याय भो भन्थे, अन्यायको विरुद्धमा लड्थे
मान्छे हुन भुलेका
यी कुकुर र गधाहरूलाई
खै, कसरी मान्छे बनाउने होला ?
खै, कसरी मान्छेलाई बचाउने होला ?
-खुक्सङ खम्बू राई
समय सान्दर्भिक भान्जा
कडा
gajab kabita khuksang g
तपाईको विशेषता झल्किन्छ कवितामा