दमनकारी एसएसपी कार्कीलाई कारबाही नगरे फेरि आन्दोलन

ताम्सालिङ संयुक्त संघर्ष समिति, नेपालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की र अधिवक्ता भगवती पाण्डेलाई कारबाही नगरे पुनः सडक आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

समितिका अध्यक्ष डा. गणेश योन्जन तामाङले बिहीवार एक प्रेस विज्ञप्ति जारी गरी सरकारले हालसम्म पनि घटनामा दोषी देखिएका एसएसपी कार्की र अधिवक्ता पाण्डेलाई कारबाही नगरेको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएको हो ।

अधिवक्ता पाण्डेले तामाङहरुमाथि अपमान हुने गरी टेलिभिजनमा अन्तर्वार्ता दिएकी थिइन् ।

पाण्डेले तामाङहरुमा दाजुबहिनीबिचमै बिहे हुने र सोही कारण अपराधिक मानसिकता भएकाहरु जन्मिने आशयको अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिपछि उनलाई पक्राउ गरी कारबाही गरिदिन माग गर्दै प्रहरीमा उजुरी दिँदा पनि उनी लामो समय पक्राउ परिनन् ।

पाण्डेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै गत साउन १७ गते जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा तामाङ समुदायसहित आदिवासी जनजातिहरुले विरोध प्रदर्शन नै गर्नुपर्याे ।

साे क्रममा प्रहरीले प्रदर्शनकारीहरुमाथि निर्मम रुपमा  दमन गर्ने र मरणासन्न हुने गरी कुटपिट गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै उक्त घटनामा प्रहरीले बल प्रयाेग गरी निर्मम दमन गरेकाे स्वीकार गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

गृहमन्त्रालयले रामबहादुर शाहीको नेतृत्वमा छानबिन समिति गठन गरेकाे थियाे ।

तर, हालसम्म न उक्त समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ, न त प्रदर्शनकारीहरुमाथि पाशविक तरिकाले कुटपिट गर्ने संलग्न प्रहरीहरुलाई कारबाही गरिएको छ ।

तामाङ समुदायले प्रदर्शन गरेपछि साेही दिन प्रहरीले पाण्डेलाई बोलाएर सामान्य सोधपुछ गरी छोडेको थियो ।

तर, पाण्डेलाई जातीय भेदभाव तथा छुवाछुत ऐन २०६८, मुलुकी अपराध संहिता २०७४ र विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही गर्नुपर्नेमा केही घण्टा सोधपुछ गरेर छोडिदिएकोमा समितिकाे विरोध छ ।

समितिले पाण्डे र कार्कीमाथि कारबाही नहुनुले राज्य जातीय आधारमा अपराधीलाई संरक्षण गर्न उद्यत रहेको जनाएको छ ।

समितिले पाण्डे र तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका कार्कीलाई कानुन बमोजिम कारबाही गर्न,
छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र चरम यातना र कुटपिटबाट घाइते भएका प्रदर्शनकारीहरुलाई उपचार खर्च तथा क्षतिपूर्ति दिन माग गरेको छ ।

उनीहरुमाथि कारबाही नगर्ने हो भने पुनः सडक आन्दोलन थाल्ने समितिले चेतावनी दिएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्