चन्द्रप्रकाश बानियाँ
पश्चिमको खस समाजले दशैं मनाए पनि मुख्य चाड मानेको देखिदैन । पूर्वका राई-लिम्बुहरुले पनि दशैं पर्व गोर्खा राज्यले जबर्जस्ती थोपरेको हो भन्छन् ।
उपत्यकाका नेवारहरुले पनि दशै होइन मोहिनी पर्व मनाउँछन् । तराईमा पनि खासै पहाडको जस्तो दशै मनाइँदैन ।
पृथ्वीनारायण शाहको गोर्खा विजय अभियानसँगै नेपालको पूर्व-पश्चिम दशै पर्व विस्तार भएको देखिन्छ । गोर्खाको शाहवंशको मूल भिरकोटको मगरवंशसँग जोडिन्छ भनेर मानिन्छ ।
त्यसको अर्थ दशै पर्वको उद्गम चौबेसी राज्य रहेको देखिन्छ । चौबीसी राज्यहरु रहेको इलाका पुरानो मगरात हो । अर्थात कहीँकतै दशै पर्व मगरातसँग जोडिन्छ । मगरात मगरसँगै जोडिन्छ । त्यसैले दशैको उद्गम मगर जाति र मगरभूमिसँग जोडिन जान्छ ।
मगरहरुले दशै हाम्रो होइन भनेको पनि सुनिन्छ । मगरको पनि होइन भने दशै कसको हो त ?
खसको होइन, आर्यको होइन, राई-लिम्बुको पनि होइन, नेवारको पनि होइन । मूल खोज्दै जाँदा दशै मगरातसँग ठोकिन्छ ।
अर्को एउटा कुरा, दशैमा देवी पूजा होइन, हतियार पूजा गरिन्थ्यो । आजसम्म पनि गरिदैछ । कोट्पूजा गरिन्थ्यो । कोट भनेको निशान स्थान हो ।
निशानस्थान भनेर हतियार भण्डारलाई भनिन्थ्यो । दशैको कोट्पूजा भनेको हतियार पूजा हो । कोटमा राँगो अनिवार्य रुपमा बलि चढाइन्छ । त्यो परम्पराले पनि कोटपूजा आर्य परम्परा होइन भन्ने जनाउँछ ।
२/४ बर्षयता क्षत्री नामको संगठनले घट्स्थापनालाई क्षत्री पर्व भनेर मनाउन थालेको छ । क्षत्री भनेको हिन्दू पद हो । हिन्दूइतर समुदायमा चतुरवर्णी व्यवस्था हुदैन । दशै हिन्दू वा आर्य परम्परा हो भन्ने ऐतिहासिक आधार फेला पर्दैन । अनि कसरी क्षत्री पर्व भयो ?
आर्यवंशी क्षत्री जातको उद्गम गुजरात, राजस्थान, मेवाड् आदिलाई मानिन्छ । भारतमा यतिखेर रजपूत भनेर चिनिने समुदायलाई इतिहासले कुषाण र शक जातिको रुपमा चिन्दछ ।
नेपालका खस क्षत्रीहरु भारतबाट उक्लेका होइनन् । तिब्बततिरबाट ओर्लेका खसहरुले जनै भिरेर हिन्दू धर्म ग्रहण गरेका हुन् ।
भारतमा घट्स्थापनालाई क्षत्री दिवस मानिदैन ।
दशै खस पर्व होइन । नेपालको संविधान २०७२ ले खस भनेको पहाडी क्षत्रीलाई भनेको छ । पहाडी क्षत्रीभित्र खस र ब्राह्मणपुत्र खत्रीहरुलाई राखेको छ ।
आर्यवंशी क्षत्रीहरुलाई नेपालको संविधानले मधेसी भनेको छ ।
मूलत: खत्री भनेको आर्य ब्राह्मण र खस महिलाबाट जन्मेको वर्णशंकर समुदाय हो । खस र खत्री दुबै थरीको पुर्ख्यौली र मौलिक पर्व दशै हो भनिहाल्ने ऐतिहासिक र सांस्कृतिक आधार फेला पर्दैन ।
क्षत्री समाजको नेतृत्वले त्यसबारेमा कुनै अध्यययन गरेको हो कि लहै लहैमा जन्त हिँडेको होला कुन्नी ?