ओखलढुंगा पुगेर मुख्यमन्त्रीले पहिचानवादीहरुलाई चुनौती दिए

नेपाली कांग्रेसलाई नै उतानाे पारेर एमालेकाे बुई चढ्दै जस्केलाबाट मुख्यमन्त्री बनेका केदार कार्कीले नयाँ जोस या “नयाँ जोगीले धेरै खरानी घस्न खोजेको” उखान झैं ओखलढुंगामा मंसिर १९ गतेको कांग्रेसकाे भवन उद्घाटन कार्यक्रममा गएर धेरै कुरा गुमाएर फर्केका छन् । त्यतिमात्रै हैन, ओखलढुंगा कांग्रेस र केन्द्रीय कांग्रेससम्मलाई क्षति पुर्‍याएर फर्केका छन्, जसलाई यसरी समिक्षा गर्न सकिन्छ ।

१) संयुक्त संघर्ष समितिकाे नेताहरुको आग्रहलाई अस्विकार गर्दै दोस्रो पटक पनि उही जस्केला चोरबाटो प्रयोग गर्दै १ नम्बर प्रदेशको पश्चिम कटारी-घुर्मी हुँदै कडा सुरक्षा घेरामा ओखलढुंगा पुग्नुपर्ने अवस्था उनको लागि सम्मानजनक थिएन ।

२) कोशी हस्ताक्षरकर्ता ८२ सांसदमध्येका मुख्यमन्त्री र २ जना प्रदेश सदस्यको प्रचार गर्दै र थप १ जना उदयपुर कटारीबाट विना प्रचार ओखलढुंगा गएको कारणले केन्द्रीय नेताहरु र कांग्रेसको सारा कार्यक्रमलाई नै खल्लो बनाएकाे छ । जबकि, याे विरोध र प्रवेश निषेध यिनै संघीयताविरोधी, पहिचानविरोधी अनि प्रदेशविरोधी ८२ जना र प्लस ३ जना गाली-गलौज गर्नेहरुको विरुद्ध मात्रै हो । तर उनी लगायत थप ३ प्रदेश सदस्यहरुले ओखलढुंगाको कार्यक्रमलाई दुबोमा कुकुरको आची [मलमुत्र] सँग मिसाए झैं बनाइदिएका छन् ।

३) संघीयताका पक्षधर पहिचानवादी ९ जना नेताहरुलाई गिरफ्तार गरेर हिक्मत कार्कीकै पथ [दमनकारी पथ] अबलम्वन गरेको सन्देश स्पष्ट रुपमा दिएका छ्न् ।

४) प्रदेशको नाम “कोशी” खारेज आन्दोलनका संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएर द्वन्द्व समाधानको सट्टा ओखलढुंगालाई हेपेर आफ्नाे शक्ति प्रदर्शन गर्दै पहिचान पक्षधर आन्दोलनकारीहरुलाई चुनौती दिने सन्देश दिएका छन् ।

५) कार्यक्रमको भव्यता घटाइदिएका छन् । किनकि, ओखलढुंगाका धेरै कांग्रेसलाई भोट दिँदै आएका बहुसंख्यक राई, सुनुवार, तामाङ, मगर, गुरुङलगायत आदिवासी जनजाति, दलित तथा संघीयतामा पहिचान पक्षधर जिल्लावासीहरुलाई द्वन्द्वमा धकेल्न खोजेको कारणले धेरैजना कार्यक्रममा उपस्थिति नजनाएर घरमै बसेका थिए । जबकि, यी ४ जनाको उपस्थिति नभए संयुक्त संघर्ष समितिले विरोध गर्ने नीति नै थिएन र छैन । जुन विज्ञप्तिहरुमा स्पष्ट छ । तसर्थ, मतदाता लगायत शुभचिन्तकहरुको अझ उल्लेखनीय उपस्थिति हुन्थ्याे ।

६) प्रदेश नम्बर १ को १४ जिल्लाकै कांग्रेस सभापतिहरुको सार्वजनिक विज्ञप्तिको भाव अनुसार “प्रदेश नामकरणमा पुनः विचार गर्नुपर्छ, गल्ती भयो” भन्ने सन्देशले संयुक्त संघर्ष समितिलाई झिनो भए पनि कांग्रेसकाे लचिलोपनको आशा-भरोसा थियो । त्यसमा शंका उब्जाएर फर्केका छन् ।

७) ओखलढुंगामा शक्तिको दुरुपयोग गरेर उपस्थित हुनु, शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी लगाएर ९ जना [९ जनामध्ये एकजना कांग्रेसकै नेता] लाई गिरफ्तार गर्नुले अन्य १३ जिल्लामा पनि यही शैली मच्चाउन सक्ने कुराको संघर्ष समितिलाई चुनौती दिएर फर्केका छन् ।

८) प्रदेश १ को अत्यन्तै पश्चिममा मच्चाएको यो रडाकाेले गर्दा अरु जिल्ला सशक्त प्रतिकारको तयारी गर्नुपर्ने सचेत गरेर गएका छन् ।

९) उनलाई पहिला नजान आग्रह गरिएको थियो । त्यसपछि विरोध विज्ञप्ति जारी गरिएको थियो । जसरी पनि पुगेपछि कालो झन्डा र मुर्दावादसहितको प्रतिकारमा उनी ओखलढुंगाबाट अपमानित भएर फर्किनुपरेको छ ।

१०) अन्तिममा जोसमा होस गुमाउँदै सार्वजनिक रुपमै पार्टी सभापतिलाई विदा गर्न हतारको सन्देश, महामन्त्रीहरु गगन थापा र विश्वप्रकास शर्माको उछिताे काढ्दै समग्रमा केन्द्रीय नेताहरुलाई संविधान पढाउनसम्म भ्याएका मुख्यमन्त्री केदार कार्कीलाई महामन्त्री गगन थापाले उनकाे जिम्मेवारी स्मरण गराउँदै नराम्ररी झपारेका छन् ।

यो घटना कुनै हालतमा राम्राे घटना थिएन । यसर्थ, उनले प्राप्ति भन्दा पनि धेरै गुमाएका छन् । उनले संयुक्त संघर्ष समितिको आन्दोलनलाई हेपेर फर्केकाे सन्देश दिएका छन् । जबकि, यो आन्दोलनमा हजारौं कांग्रेस नेता-कार्यकर्ताहरु र मतादता तथा शुभचिन्तकहरु होमिएका छन् ।

तसर्थ, उनले गर्नुपर्ने पहिलो काम भनेको उनी जसरी मुख्यमन्त्री बने पनि आन्दोलनको बलमा हिक्मत कार्कीको सरकार ढलेको र उनी जस्ताेले त्यो अवसर प्राप्त गरेको प्रमुख कारणलाई उनले भुल्न हुन्नथ्याे ।

१०-१० महिनादेखि चलेको आन्दोलनको राम्ररी अध्ययन अनुसन्धान गरेर वार्ताको वातावरण सिर्जना गर्ने, वार्ता आह्वान गर्ने, द्वन्द्व समाधान गर्ने र प्रदेशलाई अधिकारसम्पन्न बनाउँदै संघीयता कार्यान्वयनकाे लागि आन्दोलनको मागलाई सम्बाेधन गर्ने र संविधानको पालना गर्दै-गराउँदै इतिहास रच्नेतिर लाग्नु पर्थ्यो । नकि, यस्ता ताण्डव मच्चाउँदै पहिचानको आन्दोलनलाई दमन गर्नेतिर लागेर अपमानित हुन जानु हुन्नथ्यो ।

आखिर उनी प्रमुख अतिथि, विशेष अतिथि केही पनि थिएनन् । शीर्फ चौथो नम्बरको वक्ता रहेछ्न् । अनि मुख्यमन्त्री बन्न पाएको छैन पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुलाई पढाउने नायकीपनमा बल गर्नुलाई हिजोआज कसैले रुचाउँदैनन् । सबैले बुझिहाल्छ्न् । उनले पनि यति बुझे हुन्थ्यो । यत्राे क्षति व्यहोर्नु पर्दैन थियो । तर कुर्सीको मात नै कस्तो कस्तो । भूपि शेरचनकाे “घुम्ने मेचमाथि … मान्छे” जस्तो ।

[जीवन हाताचो राईको फेसबुकबाट । उनी किरात राई यायोक्खाका अध्यक्ष हुन् ।]

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्