शुक्रबार अपरान्ह ४ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा ‘१ नम्बर प्रदेशको पुनः नामाङ्कनः साझा नाम के हुन सक्ला ?’ शीर्षकमा छलफल सुरु भयो ।
डा. डम्बर चेम्जोङ, डा. केशवमान शाक्य, नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राई र किरात राई यायोक्खाका उपाध्यक्ष युवराज राई वक्ता थिए ।
किरात राई प्रज्ञा परिषदद्वारा आयोजित ‘किरात राई प्राज्ञिक सङ्गोष्ठी २०८०’ अन्तर्गत पाँचौ सत्रमा ‘साझा नाम के हुन सक्ला’ भनेर प्राज्ञिक बहस सुरु गरिएकाे थियाे ।
कार्यक्रममा ‘साझा नाम याे हुन सक्छ’ भन्ने धारणा वक्ताहरुबाट आएन । बहसको निचोड पनि त्यस्तो रहेन ।
तर, हलभित्र टम्म भरिएका सहभागीहरुकाे ध्यान डा. डम्बर चेम्जोङ र दुर्गा राईको घोचपेच र दोहोरीले तानिरह्यो ।
‘पहिचानवादी पार्टी भनिएका’ माओवादी केन्द्रले १७ फागुन २०७९ मा १ नम्बर प्रदेशलाई कोशी प्रदेश नाममा मतदान गरेको प्रसंग निकाल्दै चेम्जोङले सुरुमै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी केन्द्रको तुजुक देखाइदिए ।
उनले भने, ‘जसले राजनीतिक रुपमा सशक्त सबभन्दा बढी उठान गर्यो, पोहोर फागुन १७ गते कसरी अचानक भोट दियो त ? एसएलसीसम्म पास गरेपछि अथवा बाह्रखरी छिचोलेपछि म केका लागि लडिराखेको छु भनेर थाहा हुँदैन भोट दिनेबेला ?’
चेम्जोङले ठहरै पार्ने गरी तर्क राखेपछि माओवादी सांसद राईले एकपटक पहिचान पक्षधर पार्टीलाई भोट नदिएको भन्दै जनताप्रति क्रोध व्यक्त गरिन् ।
समाचार टिप्पणी
‘पहिचानकाे विपक्षमा रहेको एमाले र कांग्रेसलाई भोट दिने अनि माओवादीले कोशी प्रदेशमा भोट हाल्यो भनेर विरोध गर्ने ?’ भन्दै उनी जङ्गिएकी थिइन् ।
उनकाे भनाइ थियो, ‘माओवादी जनयुद्धमा आफ्नाे पार्टीको संरचना नै पहिचानको पक्षमा निर्माण गरेर आएको पार्टी हो नि ! तर १३ जना सांसद पठाउने अनि माओवादीले कोशी नाम राख्यो भनेर हुन्छ ? हुँदैन । हामीले समीक्षा गर्नुपर्छ । किनभने भोट चाहिँ दिन्छौं पहिचानविरोधीलाई अनि माओवादीले नाममा यसो गर्यो भन्न मिल्छ ?’
अब पहिचान पक्षधर पार्टी कुन हो चिन्नुपर्ने र यसबारे बहस केन्द्रित हुनुपर्ने उनकाे भनाइ थियाे ।
उनले माओवादी केन्द्रलाई पहिचानवादी पार्टीको रुपमा प्रस्तुत गरेपछि चेम्जोङले फेरि प्रहार गरे, ‘अहिले त को पहिचान पक्षधर, को विपक्षधर थाहै छैन । आँखाको कचेरा नपुछीकन बालकोट पुग्छ कि बुढानिलकण्ठ पुग्छ पत्तो हुँदैन पहिचान पक्षधर भनिने प्रधानमन्त्री । भोट दिने बेला स्वाट्ट खन्याइसक्ने अनि अब नयाँ प्रक्रियाबाट जान्छौं भनेर हुन्छ ? सकिसक्यो त, दशकौको लागि सकिसक्यो । कोशी प्रदेश बनिसक्यो । अहिले पानीमाथिको ओबानो हुने कोसिस गरेर हुँदै हुँदैन । त्यस्तो चेष्टा नगरे पनि हुन्छ ।’
पेलाइ अलि बढी भएपछि राईले मखुन्डो लगाएको मान्छेसँग लड्न गाह्रो भएको भन्दै चेम्जोङको ‘एमाले अनुहार’ उतार्न खोजिन् ।
किनकि, चेम्जोङ एमाले निकट प्राध्यापक हुन् ।
कार्यक्रममा राईले भनिन्, ‘आज यहाँ प्रस्तुत गर्दाखेरि राजनीतिक दलको हिसाबले वक्ताहरु ल्याउनुभएको भए साह्रै स्वाद आउँथ्यो । मलाई उपस्थित गराउनुभो एउटा राजनीतिक दलको माननीयको हिसाबले । तर अरु अदेखा राजनीतिक दलकै अदेखा वक्ताको रुपमा प्रस्तुत हुनुभाे, यो चाहिँ ठिक भएन । दल दलको बिचमा लड्न मजा आउँछ । तर अदेखा अनुहार मखुन्डो लाएकोसँग लड्न चाहिँ गाह्रो हुन्छ ।’
परिषद् सदस्य शालिक शतासक राईले सहजीकरण गरेको उक्त बहसबाट साझा नामबारे स्पष्ट धारणा बनेन ।
बहस खोक्रो र निरर्थक भयो । किनभने, सारमा कडा बहस गर्ने दुवै जना पहिचानसहित संघीयता स्थापित गर्न नचाहने दलका वक्ता थिए ।
राईकाे जाेड चाहिँ जुनसुकै हालतमा पनि १ नम्बर प्रदेशलाई पहिचानकाे नाम राख्छाैं भन्ने थियाे ।
चेम्जाेङकाे तर्क भने दलहरुकाे कमजाेरीका करण अहिले समस्या भइरहेकाे भन्ने थियाे । काेशी प्रदेश नाम राखिसकिएकाेले अब परिवर्तन नहुने उनकाे ठाेकुवा छ ।
यायोक्खाका उपाध्यक्ष युवराज राईले भने इतिहास, सभ्यता, भूगोल र संस्कृतिकाे आधारमा १ नम्बर प्रदेशको नाम किरात प्रदेश नै हुनुपर्ने जिकिर गरे ।
डा. केशवमान शाक्यले राजनीतिक सहमतिको आधारमा साझा नाम किरात प्रदेश हुन सक्ने धारणा राखे ।
एमाले, कांग्रेस, माओवादी र राप्रपाका गरी ८२ जना सांसदले १ नम्बर प्रदेशको नाम कोशी राखेपछि तत्काल उक्त नाम खारेज गरी पहिचानको आधारमा राख्नुपर्ने मागसहितको आन्दोलन वर्षदिनदेखि जारी छ ।
तर, कोशी खारेज गरी के नाम राख्ने भन्ने सन्दर्भमा आन्दोलनकारीहरुकै बिचमा एकमुख छैन । साझा नाम के लिएर जाने ? समस्या जारी छ ।