जनता समाजवादी पार्टी नेपालले ५ लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्दैछ ।
भदाैको पहिलो साता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने गरी तयार गरिएको संगठन निर्माण अभियान मंसिरको मसान्तसम्म जारी रहनेछ ।
केन्द्रीय र प्रदेश सत्ताबाट बाहिर बसेको जसपा नेपालको सिंगो पार्टी पंक्ति आगामी चार महिनासम्म विशुद्ध संगठन निर्माणमा होमिँदै छ ।
त्यसका लागि जसपा नेपालले आफ्ना केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षण समेत दिएको छ ।
ललितपुरको महालक्ष्मीस्थान-६, सानोगाउँको थसी ब्यांक्वेटमा प्रशिक्षण चलाइएकाे हाे ।
साे क्रममा अध्यक्ष उपेन्द्र यादवले आगामी चार महिनासम्म संगठन निर्माण, बिस्तार, सुद्धिकरण र सुद्दढिकरण अभियानमा होमिन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ नाम दिइएको सो अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले केन्द्रीय सदस्यहरुलाई आह्वान गरेका छन् ।
संगठनलाई चुस्त दुरुस्त र बलियो बनाउने, पार्टी फुटाएर गएका लोभी, स्वार्थी र अवसरवादीहरुले आम समुदायमा छरेको भ्रमलाई चिर्ने र उत्पीडित समुदायको नेतृत्व गरेको एक मात्र पार्टीलाई क्षति पुर्याउनेहरुको भण्डाफोर गर्ने उद्देश्यले यो अभियान सुरु गर्न लागेको अध्यक्ष यादवले बताए ।
यो अभियान टोल, बुथ, गाँउ, नगर, पालिका, प्रदेश, संघीय निर्वाचन वा क्षेत्रमा केन्द्रीत हुनेछ ।