धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पहलमा स्थापित ‘माया धराने बेसार उद्योग’को औपचारिक उद्घाटन गरिएको छ ।
शुक्रबार धरान–२० भञ्ज्याङस्थित उद्योग परिसरमा एक कार्यक्रमको आयोजना गरी मेयर साम्पाङसहित जनप्रतिनिधि, सरकारी कर्मचारीबाट उद्घाटन गरी बेसार विक्री गर्न समेत थालिएको हो ।
उक्त उद्योगलाई ‘गणतन्त्र नेपालको स्थानीय सरकारको पहिलो उद्योग’ भनिएको छ ।

बेसार उद्योगको भवन निर्माणका लागि उपमहानगरपालिकाबाट १६ लाख ५० हजार र उपभोक्ताबाट २ लाख ८ हजार ६११ रुपैयाँ लगानी भएको भएकाे छ ।
उद्योग सञ्चालनका लागि उपभोक्ता र बेसार किसानलाई सहभागी गराई प्रसाद राईको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएकाे छ ।
सञ्चालक समितिका अध्यक्ष राईका अनुसार उद्घाटनका लागि १५ सय केजी बेसार उत्पादन गरिएको थियाे ।
मेयर साम्पाङका सहयोगी मिना सिंगकका अनुसार उद्योग भवन उद्घाटनका दिन नै २ लाख ५५ हजार दुई सय रुपैयाँको बेसार बिक्री भएको छ । बेसारकाे माग बढेकाे छ ।

मेयर साम्पाङले माया धराने बेसार सतप्रतिशत शुद्ध रहेकाे बताए ।
उनले माया धराने साबुन उत्पादन गर्न नपाएकाे इखले माया धराने बेसार उद्याेग स्थापना गरिएकाे बताए ।
माया धराने बेसार उद्याेग खाेल्ने भिजन आफ्नाे भए पनि त्यसलाइ स्वीकार गरेर सहयाेग गरेकाे भन्दै उनले वडाअध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरूलाई धन्यवाद दिए ।
उनले उद्याेग स्थापनाका लागि श्रमदाताहरूलाई पनि धन्यवाद दिए ।


