२२ वर्ष भइसक्यो– रिब्दुङ–महेश्वरी सानो डुम्रे खोटाङकी समिता राई ‘आशधनी’ हराएको।
२०६० साउन १४ गते बिहानै परिवारका कसैलाई नभनी उनी छिमेकी बहिनी प्रतिभा राई ‘मिङ्कु’सँग काठमाडौं हिँडेकी थिइन्।
तर उनीहरू काठमाडौं होइन, सिक्किमको गान्तोक पुगे।
केही दिनमै मिङ्कु एक्लै नेपाल फर्किइन्। २१ वर्षीया आशधनी भने त्योबेलादेखि नै आजसम्म सम्कर्कविहीन छिन्।

मिङ्कु, तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको क्रममा केही महिना संगठनमा लागेकी थिइन्। तर पछि भागेर घरमा आइन्।
फेरि माओवादीले फेला पार्ला र साथै लैजाला भन्ने त्रासले गाउँ छोड्नुपरेको उनी बताउँछिन्। आशधनी चाहिँ किन हिँडेकी थिइन्? थाहा छैन।
मिङ्कुका अनुसार गान्तोक पुगेको १५–२० दिनमै दुवैले नेपाल फर्कने सल्लाह गरेका थिए। तर फर्किने दिन बिहान आशधनी एकाएक एक जना ट्रक चालक युवकसँग अर्कैतिर लागिन्।
‘दिदी तपाईं कहाँ गएको’ मिङ्कुले सोध्दा उनले जवाफ दिइनन्।
‘बेलुका चाहिँ झोला तयार पारेका थियौं। नेपाल फर्किने सल्लाह गर्दा दिदीले हुन्छ भन्नुभएको थियो,’ मिङ्कु भन्छिन्, ‘भोलिपल्ट बिहान हेर्दा पनि हेर्नुभएन, बोल्दा पनि बोल्नुभएन, खुइँखुइँ हिँडेर जानुभो।’
मिङ्कु र आशधनी गान्तोकमा जसको घरमा बसेका थिए, आशधनी त्यही घरको माइलो भाइसँग हिँडेकी थिइन्।
मिङ्कु त्यसै दिन त्यही घरकी जेठी भाउजुसँग काँकडभिट्टासम्म आइन्। भाउजु झापास्थित माइती आएको समय थियो त्यो।

रिब्दुङबाट गान्तोकसम्मको यात्रा
मिङ्कुका अनुसार, उनीहरू रिब्दुङबाट उदयपुरको घुर्मी पुगे। घुर्मीबाट बस नचलेपछि पैदल हिँडेर कटारी पुगे।
कटारीबाट काठमाडौं जाने योजना थियो।
तर, बाटोमा ओखलढुंगा घर बताउने तीन दाजुभाइ भेटिए। उनीहरूसँगै कटारी पुगे।
त्यहीबेला काठमाडौं जाने बाटो कृष्णभीरमा ठुलो पहिरो गएर बस चल्न छाड्यो।
एक दिन एक रात बस्दा पनि बाटो खुल्न नसकेपछि ती दाजुभाइले गान्तोकतिरै काम पाउने र आफूहरूकै घरमा बस्न सकिने बताए।
दुवै जना सहमत भए। र अन्ततः पश्चिम (काठमाडौं) हिँडेका उनीहरू पूर्व (गान्तोक) पुगे।

गान्तोकका दिनहरू
दुवै जना गान्तोक पाल्जोर रंगशाला निर्माणस्थलनजिकै रहेको ती दाजुभाइको टिनको छाप्रोमा बसे।
मिङ्कु र आशधनीले केही दिन रंगशालाको काम पनि गरे।
‘माथि झुरुप्प घरहरू थिए, तल खोलाको डिलमा एउटा टिनले बारेर बनाएको छाप्रो थियो। हामी त्यही छाप्रोमा बसेका थियौँ,’ मिङ्कुले भनिन्।
त्यसबिचमा मिङ्कु बिरामी परिन् र घर फर्किने कुरा उठ्यो। तर फर्किने दिन आशधनी अर्कैतिर हिँडेपछि मिङ्कु चाहिँ फर्किइन्।

२२ वर्षपछि पनि अनुत्तरित प्रश्न
आशधनी कहाँ छिन्? कस्तो अवस्थामा छिन्? आजसम्म कसैले थाहा पाएको छैन।
इन्टरनेट र सामाजिक सञ्जालको युगमा पनि उनको अनुहार कतै भेटिँदैन।
दुई दिदी, निरा र प्रमिता अहिले पनि बहिनीको खोजीमा छन्।
‘छन त छ, तर एकदम दुःखमा छ, बन्धक जस्तै छ रे,’ धामीको जोखाना साहिँली दिदी प्रमिता सुनाउँछिन्।
आशधनीका दाजु ईश्वरमान अहिले गाउँमै खेती–किसान गरेर बसेका छन्।
आशधनी हराउँदा बुबा जीवितै थिए। ‘आशधनी कहाँ छिन्’ भनेर सोधिरहने उनको गत साल निधन भयो।
आमा पहिल्यै दिवंगत भइसकेकी थिइन्।
धामीको जोखानाले भने जस्तै बहिनी परिबन्धमै परेको जस्तो लाग्छ प्रमितालाई।
२०५९ साल चैतमा खिचिएको तस्बिर हातमा बोकेर प्रमिता अझै बहिनीको प्रतीक्षा गर्छिन्।
‘कहीँ छौ भने सम्पर्कमा आउनू, फोन गर्नू,’ गहभरि आँशु पारेकी प्रमिताले योभन्दा बोल्न सकिनन्।
सोधखोज र शंका
रिब्दुङकै राकेश राई नाताले मावली दाजु अहिले सिक्किममा बस्छन्।
हालै उनले पाल्जोर रंगशाला वरिपरि पुगेर सोधखोज गर्दा त्यो परिवार त्यहाँबाट वर्षौअघि नै हिँडेको थाहा पाए।
ती दाजुभाइ ओखलढुंगाका थामी समुदायका थिए भनिएको छ।
मिङ्कुका अनुसार त्यो परिवारमा तीन दाजुभाइसहित जेठोको श्रीमती र दुई छोराछोरी थिए।

मिङ्कु र उनको आमाप्रति प्रमिताको गुनासो छ। किनकि, आशधनी हराएको बिहान ‘आशधनी खोइ’ भनेर सोध्दा मिङ्कुकी आमाले थाहा नभएको बताएकी थिइन्।
तर प्रमिताको भनाइअनुसार, त्यसअघि नै हिँड्ने योजना बनिसकेको रहेछ।
‘हामी राति कामबाट आयौं। खाना खाएपछि ऊ (आशधनी) हिँडी। पछि थाहा भयो मिङ्कुको घरमा गएको रहेछ,’ प्रमिता भन्छिन्, ‘भोलिपल्ट बिहान म मिङ्कुको घर गएर हाम्रो बहिनी खोइ भन्दा मिङ्कुकी आमाले कुन्नी भन्नुभो।’
आशधनीले आफ्ना कपडा पहिल्यै प्याक गरेर लगेकी थिइन्। प्रमिता भन्छिन्, ‘मिङ्कुको आमालाई थाहा थियो। सल्लाहमै हिँडेका हुन् यिनीहरू।’
माओवादी द्वन्द्वको भय र असुरक्षाले मिङ्कुलाई गाउँ छोड्न बाध्य बनायो। तर आशधनीले किन गाउँ छाडी?
गान्तोकमा आशधनी जुन युवकसँग हिँडेकी थिइन्, उसको न नाम थाहा छ, नर थर।
तीन हप्ता सँगै बस्दा पनि त्यतिबेलाकी १६ वर्षीया मिङ्कुले ती युवक र उनको परिवारको वास्तविक परिचय पाउन सकिनन्।
