विचार, सिद्धान्त र कार्यशैली पनि मिलेको खण्डमा मात्रै अन्य दलहरूसँग एकता गर्ने निर्णय गर्दै जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ।
पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले विचार र सिद्धान्त मिल्ने दलहरूसँग मात्र एकता गर्ने, एकता हुन नसके तालमेल गरेर निर्वाचनमा जाने निर्णय भएको बताए।
तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको जसपाले अबको निर्वाचनमा तालमेल गर्दा पनि एजेन्डा मिल्नेहरूसँग मात्रै गर्ने भएको छ।
सामान्य अवस्थामा भएको अघिल्ला निर्वाचनहरूमा मुद्दा नमिल्ने दलहरूसँग पनि तालमेल गरी सहभागी भए पनि अब त्यस्तो नहुने उनले बताए।
श्रेष्ठले भने, “विगतमा सामान्य अवस्थामा भएको निर्वाचनमा भोटको लेनदेन भयो। तर यो निर्वाचन आन्दोलनको रापतापले संसद् विघटन भएको अवस्थामा हुँदैछ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद् र विज्ञहरूको मन्त्रीपरिषद् किन आवश्यक छ भने यी कुराहरू भए देशमा सुशासन कायम हुन्छ, भ्रष्टाचार अन्त्य हुन्छ र राजनीतिक स्थिरता आउँछ। त्यसकारण यो आजको मुख्य एजेन्डा हो। यसको लागि संघर्ष गर्दा पार्टीको प्रतिवेदनले यो संविधान अपुरो र अधुरो छ भनेपछि कुरा एकातिर र काम अर्कोतिर गर्न मिल्दैन।”
२०७९ सालको निर्वाचनमा एजेन्डा नै नमिल्ने एमालेसँग तालमेल गर्ने निर्णयमा आफू असहमत रहेको उनले स्मरण गरे।
श्रेष्ठका अनुसार केही समयअघि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र रिजवान अन्सारी नेतृत्वको दलबीच एकताको प्रस्ताव आएको थियो।
तर उपेन्द्र यादवसँग विचार र कार्यशैली दुवै नमिल्ने उनले स्पष्ट पारे।
“उपेन्द्र यादवजीसँगको सहकार्यमा हाम्रो पार्टीको नीति सिद्धान्तमा ‘संघीय समाजवाद’ भनेका थियौं, तर उहाँले कहिल्यै त्यो कुरा बोल्न चाहनुभएन। उहाँले जहिले पनि ‘सामाजिक लोकतन्त्र’ भनेर भाषण गर्नुभो। जबकि हामीले ‘संघीय समाजवाद’ भनेका थियौं,” श्रेष्ठले भने, “संगठनात्मक रूपमा पनि उहाँले हस्तक्षेपकारी नीति अपनाउनुभयो र कार्यशैलीमा एकल निर्णय लिनुभयो। पार्टीको घोषणापत्र र विधानमा भएका कुरालाई कार्यान्वयन नगर्ने उहाँको प्रवृत्ति थियो।”

केन्द्रीय सदस्य राधा तिमल्सिनाका अनुसार बैठकले जेनजी पुस्ताको भावनालाई व्यवस्थापन गर्ने गरी विचार, सिद्धान्त र कार्यशैली मिल्ने दलहरूसँग एकता वा मोर्चा बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ।
उनले भनिन्, “आगामी चुनावको तयारी गर्ने, त्यसको क्रममा मुद्दा, विचार, सिद्धान्त र कार्यशैली मिल्ने दलहरूसँग एकता, सहकार्य र मोर्चाबन्दीका लागि प्रयास गर्ने निर्णय भएको छ।”
उनका अनुसार बैठकमा विभाजनपछि पार्टी किन गतिशील हुन सकेन, सूचना सम्प्रेषणमा कमजोरी किन आयो, जेनजी आन्दोलनप्रति नेतृत्वको धारणा के हो, र आगामी निर्वाचनको तयारी कस्तो छ भन्ने विषयमा पार्टी अध्यक्ष अशोक राईले स्पष्टीकरण दिएका थिए।

केन्द्रीय सदस्य भीम राईका अनुसार तत्काल कुनै पनि दलसँग एकता सम्भव छैन।
उनका भनाइमा, माधव नेपाल र प्रचण्डहरूसँग कम्युनिष्ट विचारधारामै फरक मत छ भने, पटक–पटक सत्तामा पुगेका जनार्दन शर्मा र लोकप्रियतावाद मन पराउने सुदन किरातीहरूसँग पनि एकता सम्भव छैन।
उता झलनाथ खनाल र माधव नेपालहरू पहिचानका प्रखर विरोधी भएकाले उनीहरूसँग त एकता हुनै सक्दैन।
उनका अनुसार पछिल्लो जेनजी आन्दोलनले दलहरूको परम्परागत शैली र दृष्टिकोणलाई भत्काउन सफल भए पनि सत्ताको विषयमा असफल देखिएको छ।

दुई दिनसम्म चलेको बैठकमा पार्टी अध्यक्ष अशोक राईले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीका नीतिहरू सम्बन्धी राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए, जसलाई परिमार्जनसहित पारित गरिएको छ।



