घोडाघोडी (कैलाली)। यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन्।

चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए।

तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरु त्यहाँबाट पनि विस्थापित भए।

“त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बीचमा बस्न थाल्यौँ”, नवलसिंहले विगत सम्झिँदै भने, “त्यहाँ धेरै परिवार थियौँ। वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि हामीलाई हटाएपछि हाम्रो कतै जाने ठाउँ थिएन। अनि यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौँ।”

सोही स्थानमा बस्दै आएका रतन नाथको पीडा पनि उस्तै छ।

डडेल्लधुरा पुख्र्यौली घर भएका रतनले सानैमा अभिभावक गुमाएपछि रोजगारीका लागि भारततिर गए।

भारतमै हुँदा गाउँमा नापी टोली आएछ। आफन्तले रतनको नाममा हुनुपर्ने जग्गा आफ्नै नाममा नाप्न लगाएछन्।

“बुवाआमा सानैमा बितेका थिए, म परदेशमा थिएँ”, उनले भने, “आफन्तले हाम्रो सबै जमिन आफ्नो नाममा नापी गराइ दिएछन्। म फर्किँदा मेरो टेक्ने जमिनसम्म थिएन।”

विसं २०६० मा डडेल्लधुरा छाडेर चुरे गाउँपालिका–४ स्थित गुठीको जमिनमा बसोबास गरेपनि त्यहाँबाट उठाइएपछि अहिले यहाँ आएर बसोबास गरिरहेको उनले बताए।

गाउँपालिकाले गरेको छानबिनअनुसार हाल वास्तविक पीडितहरु नै जङ्गल क्षेत्रमा बसोबास गरिरहेका छन्।

रतनको परिवार स्थानीय सूर्यमुखी आधारभूत विद्यालयको जङ्गल छेउको खेलमैदानमा पालमुनी बस्दै आएको छ।

रतन भन्छन्,“यो हाम्रो इच्छा होइन, बाध्यता हो। यहाँबाट स्कुलले खेलकुद मैदान खाली गर्दिनु भनिरहेको छ, अब कता जाने थाहा छैन।”

त्रिपालमुनिको जोखिमपूर्ण जीवन

हाल बालुवागडा क्षेत्रमा १५ भन्दा बढी परिवार अस्थायी टहरामा बसिरहेका छन्।

तीमध्ये केही परिवारका अभिभावकहरू रोजगारीको खोजीमा भारत गएकाले घरमा बालबालिका मात्रै छन्।

घरबार गुमाएर जङ्गलको बसोबास गरिरहेका उनीहरूको जीवन कष्टकर छ।

पालमा बालबालिकाहरुले जाडो धान्नै कठिन छ। स्थानीय कलिनाथका अनुसार वर्षायाममा पानी चुहिएर रासन, लत्ताकपडा सबै भिज्छ।

“पानी पर्दा टहराभित्रै भेल पस्छ”, उनी भन्छन्, “रातभरि बिच्छी र कीरा–काटीको डर हुन्छ। कति पटक त बिच्छीले टोकेर उपचारका लागि दौडिनु परेको छ। तर जाने ठाउँ कतै नभएपछि यही मृत्युसँग जुधेर बस्नुपर्ने अवस्था छ।”

गिट्टी कुटेर जीविका

यहाँका महिलाहरूको दिनचर्या बालुवा खोलामा बित्छ। ओलामा सङ्कलन गरिएको गिट्टी नै उनीहरुको आम्दानीको स्रोत हो।

“अहिले छोराछोरीको परीक्षा आइरहेको छ”, स्थानीय बुदीसरा सिंजाली भन्छिन्, “गिट्टी बेचेर आएको पैसाले परीक्षा शुल्क तिर्ने योजना छ।”

बुदीसराझैँ अन्य महिलाहरुको पनि मुख्य आम्दानीको स्रोत गिट्टी नै हो।

प्रति घनमिटर एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने गिट्टीबाट आउने पैसाले उनीहरूको घरको नुन–तेल चल्छ।

सो क्षेत्रमा मात्रै होइन चुरेको विभिन्न स्थानमा बसोबास गरिरहेका घरबारबिहीन परीवारको अवस्था समान छ।

वैकल्पिक बसोबासको व्यवस्था नहुँदा पीडितहरू हाल बसिरहेको स्थानमै बस्नुपर्ने बाध्यता रहेको चुरे गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले बताए।

उनका अनुसार २०७७ सालमा आएको बाढीलगायत अन्य कारणले बिस्थापित ११६ परीवार चुरे–४ को पनेरुगडा, टाँकगडा, बालुवागडा र चुरे–१ को खामाहाले, खानीडाँडालगायतका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन्।

सुरुमा घरबारबिहीन भन्दै वन क्षेत्रमा करिब सात सय परिवार बसेका थिए।

गाउँपालिकाले छानबिन गर्दा ११६ परिवार मात्रै पूर्ण रूपमा घरबारविहीन पाइयो। उनीहरुलाई वन क्षेत्र अतिक्रमण गरेको भनी विसं २०७९ मा वन कार्यालयले हटायो।

गाउँपालिकाले गरेको छानबिनअनुसार हाल वास्तविक पीडितहरु नै जङ्गल क्षेत्रमा बसोबास गरिरहेका छन्।

“विस्थापितहरूको समस्या वास्तवमै गम्भीर छ”, वडाध्यक्ष मगर भन्छन्, “तर स्थानीय तहसँग उनीहरूलाई तत्काल व्यवस्थापन गर्ने आफ्नै जमिन छैन। वन क्षेत्रबाट वन कार्यालयले हटाउन खोज्छ, यता उनीहरूको जाने ठाउँ छैन । यही कारणले उनीहरू जोखिमपूर्ण अवस्थामा छन्।”