ग्याल्पो ल्होसारः शेर्पा समुदायमा नयाँ वर्षको उत्सव

काठमाडाैँ। शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्।

‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ लाग्छ। शेर्पा समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन्।

पर्वको अवसरमा शेर्पा समुदायमा आफ्ना गाउँघर तथा टोलका बाटोघाटो र पानीका मूलहरू सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार ‘गुथुक’ र ‘खाप्से’ खाने तथा आपसमा शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ।

पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ।

स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ।

नयाँ वर्षका रूपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने विश्वास पनि छ।

यस पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सिर्जना गर्ने गर्दछ।

यस अवसरमा गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशिर्वाद प्राप्त गर्ने, विशेष परिकार खाप्से, डेशिल, गुथुक आदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीहरूको मौलिक पहिचान हो।

साल्पा अनलाइनका फेसबुक रिल्स हेर्नुहाेस्ः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img