महासंघ, नेतृत्व र आदिवासी आन्दोलन: खिम घलेका अपेक्षा र सुझाव

आदिवासी आन्दोलन अब सडकमा मात्र होइन, रणनीतिमा पनि जित्नुपर्छ

गुगल म्याप पछ्याउँदै नेपाल आदिवासी जनजाति महासंघको सिनामंगलस्थित कार्यालय पुग्दा अध्यक्ष निमा लामा ह्योल्मो ३२औँ विश्व आदिवासी दिवसको तयारीमा व्यस्त हुनुहुन्थ्यो । एउटा कुरा के महसुस हुँदो रहेछ भने, कुनै संघ–संस्थाको नेतृत्वमा नरहेपछि बोलाइने र भेटघाटका सन्दर्भहरू स्वतः पातलिँदै जाँदा रहेछन् । सायद त्यसैले धेरै वर्षसम्म महासंघका कसैले पनि बोलाएनन्, र मैले पनि आफैँ जानुपर्ने आवश्यकता ठानिनँ । यद्यपि, महासंघले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा भने म सहभागी भइरहेकै थिएँ ।

नेपालको आदिवासी आन्दोलनलाई नजिकबाट नियालिरहेकाले महासंघका गतिविधि र त्यसको नेतृत्वमा रहेका व्यक्तिहरूका कामबारे अनभिज्ञ हुने प्रश्न नै भएन । महासंघको मात्र होइन, नेपाली आदिवासी समुदायका अभियन्ताहरूबारे पनि धेरथोर जानकारी राख्दै आएको छु नै ।

हालका अध्यक्ष निमा लामा ह्योल्मोलाई मैले लामो समयदेखि चिन्दै आएको छु । धेरेका लागि उहाँ पर्यटन व्यवसायी, बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री र आदिवासी अभियन्ताका रूपमा परिचित होलान् । मैले भने करिब दुई दशकदेखि उहाँलाई आदिवासी अभियन्ताका रूपमा चिन्दै आएको छु । महासंघको विदेश सचिव रहँदादेखि नै विभिन्न सन्दर्भमा अभियानहरूमा हामीबीच सहकार्य पनि भएको थियो । मृदुभाषी र सरल स्वभावका उहाँ आफ्नो अडानमा भने उत्तिकै दृढ, स्पष्ट र रणनीतिक देखिनुहुन्छ  ।

मैले नेपाली आदिवासी आन्दोलन बुझ्न थालेदेखि नै एउटा मान्यता राख्दै आएको छु, नेपाल आदिवासी जनजाति महासंघ नै यस आन्दोलनको मूलधारको संस्था हुनुपर्छ । तर, महासंघ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (तत्कालीन अनिज, हाल फोनिज) बीचको सम्बन्ध पनि स्पष्ट हुनुपर्छ भन्ने मेरो धारणा रहिआएको छ ।

एकपटक महासंघका तत्कालीन महासचिव प्रा. डा. ओम गुरुङले नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) लाई महासंघको सम्बन्धन प्राप्त संस्था बनाइएको पत्र पठाउनुभएको थियो ।

पत्र प्राप्त भएपछि अनिजका पदाधिकारीहरूसँग परामर्श गरी मैले जवाफी पत्र पठाएँ । त्यसमा स्पष्ट रूपमा उल्लेख गरिएको थियो, अनिज महासंघको सम्बन्धन प्राप्त संस्था होइन र हुन पनि सक्दैन ।

विगतमा जस्तो सडक आन्दोलन मात्र निर्णायक छैन । आज परिणाम हासिल गर्न विषयगत ज्ञान, रणनीतिक सोच, संवाद क्षमता र वार्ताको कौशल उत्तिकै आवश्यक छ ।

हाम्रो तर्क थियो, अनिज अन्य संस्था जस्तो होइन । कुनै दिन महासंघ वा महासंघले सञ्चालन गरिरहेको आन्दोलनले बाटो बिराएको महसुस भयो भने, अनिज र त्यससँग आबद्ध पत्रकारहरूले महासंघ, त्यसको नेतृत्व र अभियानको आलोचना गर्न पनि स्वतन्त्र हुनुपर्छ । पत्रकारिताको स्वतन्त्रता र उत्तरदायित्व यही हो ।

पछिल्ला केही वर्षयता नेपाली आदिवासी आन्दोलन र त्यसमा महासंघको भूमिकाबारे बारम्बार प्रश्न उठिरहेका छन् । वास्तवमा महासंघको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान र स्वीकार्यता जति बढेको छ, त्यससँगै चुनौतीहरू पनि थपिएका छन् ।

राज्य तथा अन्तर्राष्ट्रिय तहमा आदिवासी अधिकारसँग सम्बन्धित सरोकारका विषयहरू विस्तार भएका छन् । अब आन्दोलन सडकमा सीमित छैन; बन्द कोठाभित्र हुने वार्ता, छलफल र नीतिगत संवादहरू पनि उत्तिकै निर्णायक बन्दै गएका छन् ।

यस्तो अवस्थामा महासंघको जिम्मेवारी झन् बढेको छ । समुदायमा चेतना मात्र होइन, अपेक्षा पनि व्यापक रूपमा बढेको छ । तर, प्रभावकारी नेतृत्वको अभाव हुँदा ती अपेक्षाहरू कतिपय अवस्थामा फरक ढंगले अभिव्यक्त भइरहेका छन् ।

यही सन्दर्भमा धेरै वर्षपछि महासंघको कार्यालय पुगेर अध्यक्ष निमा लामा ह्योल्मोसँग मैले दुईवटा सुझाव विशेष रूपमा राखें:

पहिलो,

नेपाली आदिवासीहरूको छाता संगठन महासंघ नै हो । राष्ट्रिय स्तरमा हुने आन्दोलन र अभियानहरूको नेतृत्व पनि महासंघले नै गर्नुपर्छ ।

कसले के भन्छ भन्ने व्यक्तिगत विषय हुन सक्छ । तर महासंघको नेतृत्व आफ्नो भूमिकामा डगमगाउनु हुँदैन । यद्यपि, समय धेरै परिवर्तन भइसकेको छ । विगतमा जस्तो सडक आन्दोलन मात्र निर्णायक छैन । आज परिणाम हासिल गर्न विषयगत ज्ञान, रणनीतिक सोच, संवाद क्षमता र वार्ताको कौशल उत्तिकै आवश्यक छ ।

दोस्रो,

महासंघको नेतृत्वमा फराकिलो सोच र खुला हृदय हुनुपर्छ । बाहिर बसेर महासंघ वा आन्दोलनको आलोचना गर्ने सबै मानिस विरोधी हुँदैनन् । धेरैजसो त आन्दोलनका शुभेच्छुक र सहयोगी नै हुन् ।

महासंघको कार्यसमिति जातीय संस्थाका प्रतिनिधिहरूबाट बनेको हुन्छ । तर, त्यसबाहिर पनि बौद्धिक समुदाय, विभिन्न संस्थाहरू र स्वतन्त्र व्यक्तिहरू छन्, जसले आदिवासी आन्दोलनमा अर्थपूर्ण योगदान दिन सक्छन् ।

उनीहरूसँग विषयगत विज्ञता छ, केही हदसम्म स्रोत पनि छ र योगदान गर्ने इच्छाशक्ति पनि छ । त्यसैले महासंघले खुला मनले उनीहरूसँग संवाद गर्दै उनीहरूको ज्ञान, अनुभव र क्षमतालाई आन्दोलनको सम्पत्तिका रूपमा आत्मसात गर्न सक्नुपर्छ ।

अध्यक्ष निमा लामा ह्योल्मोको आदिवासी आन्दोलनप्रतिको बुझाइ, प्रतिबद्धता र दृढताले पहिलो सुझाव कार्यान्वयनमा सकारात्मक परिणाम आउने अपेक्षा गर्न सकिन्छ । दोस्रो पक्षमा पनि उहाँले पहल सुरु गरिसकेको जानकारी दिनुभएको छ । आशा गरौँ, उहाँले अघि सारेका प्रयासहरूले सफलता पाउनेछन्, र त्यसको सकारात्मक संकेत ३२ औँ विश्व आदिवासी दिवसको मूल समारोहबाट नै देख्न पाइनेछ ।

(स्राेतः खिम घलेकाे फेसबुक)

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्