ललितपुर– मगर समुदायको भाषा, संस्कृति र इतिहासका विषयमा अनुसन्धानमूलक लेखहरू समेटिएको पुस्तक ‘शोधमाला’ सार्वजनिक गरिएको छ।
मगर अध्ययन केन्द्रको २४औँ साधारणसभाको अवसरमा गत आइतबार ललितपुरको धोबिघाटमा आयोजित कार्यक्रममा ‘शोधमाला’ सार्वजनिक गरिएको हो।
यसमा एमफिल तथा स्नातकोत्तर तह अध्ययन गरेका अनुसन्धानकर्ताहरूका लेख तथा प्राज्ञिक सामग्री समेटिएको मगर अध्ययन केन्द्रका अध्यक्ष हर्कबहादुर थापाले जानकारी दिए।
उक्त पुस्तक आदिवासी जनजाति आयोगका सदस्य डा. मीनबहादुर श्रीसले सार्वजनिक गरेका हुन्।
सो क्रममा उनले करिब दश वर्षको अन्तरालपछि पुनः ‘शोधमाला’ प्रकाशनलाई निरन्तरता दिनु मगर समुदायको भाषा, संस्कृति, इतिहास र सामाजिक पहिचानसम्बन्धी अध्ययन तथा अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण प्राज्ञिक उपलब्धि भएको भन्दै खुसी व्यक्त गरे।
उनले भने, ‘शोधमाला केवल लेखहरूको सङ्ग्रह मात्र नभई मगर समुदायको मौलिक ज्ञान, सामाजिक अवस्था, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पक्षलाई अनुसन्धानका माध्यमबाट दस्तावेजीकरण गर्ने महत्वपूर्ण सङ्ग्रह हो।’

कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष रक्षबहादुर रैका मगर, मगर अध्ययन केन्द्रका संस्थापक अध्यक्ष तथा संरक्षक डा. गोविन्दप्रसाद थापा मगरलगायतले आ–आफ्नो धारणा राखेका थिए।