मुन्दुम सभ्यता र दर्शनमा चल्ने किरात राई समुदायमा अहिले पनि हिन्दु धर्म संस्कृतिहरुको प्रभाव रहिरहेकै छ ।
तर, शिक्षा, चेतना, पहिचानको आन्दोलन र देशको राजनीतिक परिवर्तनले हाल सबै जातिहरुमा मौलिकताको खोजी गर्ने चलन सुरु भएको छ । यो क्रम किरात राई समुदायमा पनि छ । र, राई समुदायमा एउटा हिम्मतका साथ त्यसको सुरुवात गरेका छन् खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका जनक राईले ।
झण्डै चार वर्षअघि आफूलाई मातृशोक पर्दा उनले केश मुण्डन गरेनन् । किरातीहरुले आफ्नाे बाउआमाको मृत्यु हुँदा केश मुण्डन गरी सेतो टालो लगाउने चलन छोड्नुपर्ने उनको भनाइ छ ।
हाल राईहरुको जातीय तथा सामाजिक संस्था किरात राई यायोक्खाका महासचिव समेत रहेका उनले मातृशोक परेको त्यो बेला गाउँमा आफ्नाे मान्यताको प्रयोग गर्दै सांस्कृतिक क्रान्तिको थालनी गरे ।
तर, छरछिमेक र गाउँलेहरु भने छक्क परे । कतिपयले कान पछाडि ‘यो बहुलाएछन्’ पनि भने ।
‘केश काटेको छैन, सेतो फेटा बाँधेको छैन । छक्क परेर सबैले मलाई हेरे,’ मातृशोकको त्यो क्षणको अनुभव सुनाउँदै राईले भने, ‘मान्छेहरुले सिधै त भन्न सकेनन्, पछि मैले सुनेँ, अब यसले फाल्टै धर्म परिवर्तन गरेछ भनेछन्, कतिपयले यो एकघरे एकथरे भयो भनेछन्, कतिले मान्छे बढी पढेपछि बहुलाउँछ भन्थे हो रहेछ यो बहुलाएछ भनेको पनि सुनियो ।’
ललितपुरको सातदोबाटोमा बस्दै आएका उनी आमाको दुखद् निधनको खबर पाउनासाथ तुरुन्तै गाउँ हिडेका थिए ।
बिच बाटोबाटै उनले गाउँमा रहेका दाजुभाइहरुलाई फोन गरेर दुःख बार्दा केश नकाट्ने र सेतो टालो पनि नलाउने आफ्नाे निर्णय सुनाए ।
त्यसले गाउँमा निकै अप्ठेरो परिस्थिति पैदा गरेको थियो । उनका दाजुभाइहरु नै विभाजित भए । आधाले गर्न दिने, आधाले नदिने अडान कसे ।
अन्तमा, जनकलाई मात्रै त्यसरी गर्न दिइने भयो । ‘तिमीलाई चाहिँ गर्न दिने भयौ तर तिम्रो भाइहरुलाई चाहिँ जबरजस्ती गर्न पाउँदैनौ भन्नुभयो, मैले ठीकै छ भनेँ,’ उनले भने ।
पछि विदेशमा रहेका दुई जना भाइहरु पनि दाजु जनकसँग सहमत भए । उनले गाउँका धेरैजसो दाजुभाइहरुलाई कुरो बुझाए, मनाए ।
मान्छेको मृत्यु हुँदा केश काटेर सेतो फेटा बाँध्ने चलन दुई कारणले किराती संस्कार नभएको उनको जिरह छ ।
‘हामीले मर्दाखेरि केश काटेर सेतो टालो लगाएर दुःख बार्ने परम्परा छ, यो दुईटा कुराले हाम्रो होइन भन्ने स्पष्ट हुन्छ । एउटा भनेको मुन्दुममा जे कुरा छ त्यो हाम्रो मौलिक संस्कार संस्कृति हो । मर्दा केश काट्नुपर्छ भन्ने कुरा मुन्धुममा उल्लेख छैन । त्यसैले त्यो हाम्रो होइन,’ उनले भने, ‘केश काटेपछि सेतो टालो कस्नुपर्ने वा सेतो कपडा बाँधेर दुःख बार्नुपर्ने । यो कुरामा पनि किन मेल खाँदैन भने हामी राई जातिले सेतो रंगलाई शुभकार्यमा प्रयोग गर्ने सांस्कृतिक रंगको रुपमा लिएका छौं । यसको उदाहरण हामीले शिर उभ्याउनी गर्दाखेरि, विहेकार्जेमा फेटा लाइदिँदाखेरि, सम्मान गर्दाखेरि सेतो कपडाको फेटा लगाइदिएर सम्मान गर्ने चलन छ भने खुसीमा पनि सेतो र दुःखमा पनि सेतो, यो हुन सक्दैन भन्ने मलाई पहिलेदेखि नै लागिरहेको थियो ।’
किरात राई सांस्कृतिक कलाकार संघका संस्थापक महासचिव समेत रहेका सांस्कृतिक अभियान्ता राईले विहे गर्दा समेत श्रीमतीलाई सिन्दुरपोते गरेका थिएनन् ।
विहेमा सिन्दुर लगाउने चलन किरातहरुको मौलिक संस्कार नभएको उनको बुझाइ छ ।
किरात राई समुदायमा हाल कायम रहेको विहेपछिको पहिलो दसैंमा नयाँ ज्वाइँ जानैपर्ने, गाईको मूतले घरपरिसर चोख्याउनुपर्ने लगायत हिन्दु धर्म संस्कारका धेरै चलनहरु छोड्नुपर्ने र सोको सट्टा मुन्दुम अनुसारका कर्महरु मात्र अनुसरण गर्नुपर्ने उनको भनाइ छ ।
बाँकी भिडियोमाः
