नेपाल थामी समाजका अध्यक्षसहित २७ जना थामी जातिका अगुवाहरुले ‘थामी लिपि’ भन्दै गलत सन्देश प्रचार गरिएको बताएका छन् ।
थामी समाजका अध्यक्ष सुखवीर थामी, थामी समाजका सल्लाहकार गोपीलाल थामी, पूर्व संविधानसभा सदस्य चुनबहादुर थामीलगायत २७ जनाले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी थामी लिपिबारे गलत प्रचार गरिएकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
हाल थामीहरुको लिपिबारे प्राज्ञिक खोज तथा अनुसन्धान र पहिचान गर्ने काम जारी रहेको र औपचारिक रुपमा लिपि निर्माण हुन बाँकी रहेको उनीहरुले प्रष्ट पारेका छन् ।
केही दिनयता सामाजिक सञ्जालमार्फत केही व्यक्तिहरुले हातले लेखेर तयार पारिएको अलग किसिमकाे एक लिपिलाई थामी लिपिको रुपमा प्रचार गरिरहेका छन् ।
उक्त प्रचारले थामी समुदायमा भ्रम सिर्जना गर्ने भन्दै हालसम्म आधिकारिक लिपि नै तयार नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘सरकारले सूचिकृत गरेको ५९ आदिवासी जनजातिमध्ये अति सिमान्तकृत समुदायअन्तर्गत पर्ने हामी थामी समुदायको भाषा, संस्कार, संस्कृति, भेषभूषा, इतिहास, परम्परा आदि हालसम्म लोपोन्मूख अवस्थामा नै रहेको छ । लिपिको सम्बन्धमा भने अध्ययन अनुसन्धान हुँदै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हिजोआज एउटा अमुक संस्थाबाट प्रचार गरिएको थामी जातिको भनिएको लिपिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । थामी समुदायमा विविध विषयहरुमा लामो समयदेखि खोज, अनुसन्धानहरु भइरहेकै छ । हाम्रो लिपिको सन्दर्भमा पनि विविध खोज तथा अध्ययनहरु नभएको होइन ।’
उनीहरुले लिपि सम्बन्धीको काम महत्वपूर्ण र संवेदनशील हुने भएकोले याे काम पर्याप्त खोज, अनुसन्धान र समुदायको अधिकतम सहभागिताबाट मात्र टुंगाेमा पुर्याउन सकिने जनाएका छन् ।
‘हालसम्म थामी भाषाको वर्ण निर्धारण गर्ने कामहरु भएको छ । तर केही समयको खोज, अध्ययन, केही व्यक्तिहरुको मात्रै सहभागितामा हाम्रो समुदायको आधिकारिक लिपि यो हो भनी दाबी गर्नु मनासिब कदापि हुन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी विश्वभर रहेको तमाम थामी समुदायमा अहिले सामाजिक सञ्जालमा आएको थामी भाषाको भनिएको लिपि नेपाल थामी समाजले आधिकारिक रुपले प्रस्तुत नगरेको र पर्याप्त खोज अध्ययन नगरी केही व्यक्तिहरुको मात्रै संलग्नतामा गरिएको यसखाले काम सिंगो समुदायले अपनत्व ग्रहण गर्न नसक्ने हुनाले यसमा कोही भ्रममा नपर्न हामी हार्दिक अपिल गर्दछौं ।’
विज्ञप्तिमा हालसम्म थामी भाषाको वर्णहरु लघुतम युग्मको परीक्षणअनुसार ३१ वटा व्यञ्जन वर्ण र १२ वटा स्वरवर्णहरु मात्र निर्धारण गरिएको जनाइएको छ ।