नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने बताएका छन् ।
माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरीप्रसाद पौडेलको श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
सो अवसरमा बोल्दै उनले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफू लडिरहने बताए ।
देशको समसामयिक राजनितिक अवस्थाबारे चर्चा गर्दै उनले अहिले राजनीतिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनै पनि राजनीतिक दुर्घटना हुन नदिई देशलाई जोगाउन आफूहरु क्रियाशिल रहेको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरी पनि रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडि बढाउने बताए ।
आफूले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्तावसहित एमालेसँग पार्टी एकता गरेको बताउदैं अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले त्यसलाई चकनाचुर पारेको बताए ।
प्रधानमन्त्री ओलीको तानासाही शैली अब देशले धान्नै नसक्ने बताउँदै उनले छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गरे ।
सो अवसरमा अध्यक्ष प्रचण्डले स्वर्गीय हरीप्रसाद पण्डितले कम्युनिस्ट आन्दोलनलाई ठूलो योगदान दिएको भन्दै पौडेलप्रति श्रद्धञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए । पौडेलको ९० बर्षको उमेरमा गत असार २ गते निधन भएको थियो ।
सोमबार साँझ चितवन आएका अध्यक्ष प्रचण्डले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा केही दिनअघिको अविरल बर्षाले निम्त्याएको बाढीले डुबानमा परेको वडा नं २६ को सिसई लगयतका क्षेत्रको अनुगमन गर्ने र १० बजे नदी नियन्त्रण सम्बन्धी सरोकारवाला कार्यालय प्रमुखहरूसंग जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल गरि आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।