अघिल्लो चुनावमा गरेको वाचा अनुसार काम गर्न नसकेकोले यसपटक मेयर उठ्दिनँ

पार्टी नेतृत्वले वैकल्पिक राजनीतिकाे खोल ओढेर पश्चगमनतिर जाने नीति लियाे

विवेकशील साझा पार्टीकी नेतृ रन्जु दर्शनाले अघिल्लो पटकको स्थानीय निर्वाचनमा आफैले गरेको वाचा र घरघरमा बाँडेको घोषणा–पत्र अनुसार काम गर्न नसकेकोले यस पटकको निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताएकी छन् ।

हिजो उनले पाँच वर्षे समिक्षा–पत्र सार्वजनिक गर्दै यस पटकको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने आफ्नाे नैतिकता नभएको बताइन् ।

उनले पार्टी नेतृत्वले वैकल्पिक राजनीतिकाे खोल ओढेर पश्चगमनतिर जाने नीति लिएको, पार्टीमा झगडा, टुटफुट र विभाजन भएको मूल्यांकन गरेकी छन् ।

उनले भनेकी छन्, ‘म आफैले अघिल्लो पटकको स्थानीय निर्वाचनमा गरेको वाचा, घरघर मतदातालाई बाँडेको घोषणा–पत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफूले मेयर पदको आकांक्षा राखी चुनावमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समिक्षा गरेकी छु, तसर्थ यस स्थानीय निर्वाचनमा रन्जुको उम्मेदवारी रहने छैन ।’

अघिल्लो पटक विवेकशीलबाट काठमाडौं महानगरको मेयरमा निर्वाचन लडेकी रन्जुले आफूलाई राजनीति छोडेको रुपमा नबुझ्न आग्रह पनि गरेकी छन् ।

‘स्थानीय तहको राजनीतिमा समुदाय, स्थानीयसँग निकटको सम्बन्ध हुनैपर्छ,’ उनले भनेकी छन्, ‘मेरो सक्रियता राष्ट्रिय मुद्दा, पार्टीको राजनीतिमा बढी व्यतित भएको छ, यसर्थ यिनै सक्रियता अनुसारको कदममा म अघि बढ्नेछु ।’

२१ वर्षको उमेरमा मेयरमा उठेकी रन्जुले कूल २३ हजार ४३९ मत ल्याएकी थिइन् ।

हाल विवेकशील साझा पार्टीकाे अध्यक्ष रवीन्द्र मिश्र छन् । बीबीसीका पूर्वपत्रकार समेत रहेका मिश्र संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रकाे विरुद्ध र हिन्दु राज्यकाे पक्षमा देखिएका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img