नवीनकुमार सुनुवार
जनता समाजवादी पार्टी नेपालभित्र अहिले फेरि एउटा समूहले हस्ताक्षर संकलन अभियान चलाएकाे छ । यसबाट पार्टीमा मुख्यतः तीन धार देखिएकाे छ । कोही एमालेमा जाने, कोही माओवादीमा जाने र कोही वैकल्पिक शक्ति बनाउने मनस्थितिमा छन् । याे कुरा सुन्दै पनि मलाई ताजुव लाग्छ, के यस्तै हुन्छ राजनीति !
सत्ता र शक्तिमा मै हुनुपर्छ, म नभए विद्रोह गर्छु भन्नेले जनताकाे उन्नती, प्रगति र देशकाे विकास गर्न सक्दैनन् । त्यस्ता मान्छेले कतिखेर कसलाई कसरी धोका दिन्छ थाहा हुँदैन । त्यसकारण, हामी फेरि एकपटक गम्भीर भएर साेचाैं । पार्टीभित्रकाे विवाद के हो ? पार्टीकाे आन्तरिक मतभेदलाई किन मिडियाबाजी गरिन्छ ? के पार्टीभित्र आन्तरिक गोपनीयता भन्ने चिज सकिएकै हाे ? यदि, हो भने केही भन्नु छैन । होइन भने यसरी मिडियाबाजी गरेर जगत हसाउन हुन्न ।
जसपाभित्रकाे विवाद के हो ? किन जसपाभित्र पटकपटक हस्ताक्षर अभियान चल्छ ? कहिले कुर्सीकाे विवाद, कहिले एमसिसी (मिलेनियम च्यालेन्ज कर्पाेरेशन)काे विवाद, कहिले केन्द्रीय सदस्यकाे हस्ताक्षर विवाद हुन्छ ? यी गम्भीर प्रश्न उठेका छन् । यी समस्याकाे समाधान मिडियाबाजी गरेर हुन्छ त ! यसरी पार्टीले गति लिन्छ ! भन्ने चिन्ता छ कार्यकर्तामा ।
मैले सुनेकाे र बुझेको कुरा के हो भने एमसिसी पास गर्ने कि नगर्ने भनेर विवाद भएपछि जसपाले एउटा सुझाव समिति गठन गर्याे । त्यो समितिले एमसिसी पास गरे नेपालमा अमेरिकी सेना आउन सक्ने भएकोले जस्ताको त्यस्तै पास गर्नु हुँदैन, केही बुँदा संशाेधन गरेर मात्रै पास गर्नुपर्ने सुझाव दियो । त्यही आधारमा ७५ प्रतिशत पार्टीका केन्द्रीय सदस्य एमसिसी विरोधी बनेका थिए भने २५ प्रतिशत केन्द्रीय सदस्य र केही नेता जस्ताकाे त्यस्तै पास गर्नुपर्ने भन्दथे ।
साच्चिकै नयाँ विचार प्रतिपादन गर्न खोजेको हो भने दस्तावेज ल्याउने आट गर्नुस्, छलफल गरौं । होइन भने व्यक्तिकाे लाभको लागि पार्टी फुटाउने काम बन्द गरौं ।
पार्टीका एक जिम्मेवार नेताले पाँच दलीय गठबन्धनकाे बैठकमा- एमसिसी तत्काल पास गरौं, जसपाले पूर्ण सहयोग गर्नेछ भनेपछि अर्का नेताले पार्टीभित्र छलफलै भएको छैन यो उहाँकाे व्यक्तिगत विचार हो भनेपछि ती नेता रिसाएर जुरुक्क उठेर हिडेका थिए । केही दिनपछि जसपाकाे सुझावमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने सहमति भएपछि जस्ताकाे त्यस्तै एमसिसी पास गर्नुपर्छ भन्ने २५ प्रतिशत केन्द्रीय सदस्य साथीहरुले पार्टीकाे निर्णयप्रति आगो बनेर पार्टी कार्यालय नै खरानी बनाउन खोजेका थिए । ती साथीहरु पदाधिकारी बैठकमा झन्डै मुक्कामुक्की गरे ।
राष्ट्रिय सभाको चुनावमा लुम्बिनी प्रदेशकाे टिकट नपाएपछि पार्टीमा ती साथीहरुकाे झन् असन्तुष्टि पैदा भयो । र केहीले त हेमराज राई हार्छन् लेखेर राख्नुहोस् पनि भने । उहाँहरुले भने अनुसार हेमराज राई राष्ट्रिय सभाकाे चुनावमा हार्नुभयाे, त्यसबारे पार्टीमा खासै चर्चा चलेन ।
पार्टीमा यसअघि पनि हस्ताक्षर अभियान चल्यो । संघीय बैठक बस्यो । एक जिम्मेवार नेताले अन्तिममा भाषण गर्दै- यो अस्थायी युद्ध विराम भनेर सम्बोधन गरे । त्यो शब्द सुनेर जसपा नेपालभित्र भिषण युद्ध रहेछ भन्ने अनुभूती भयाे मलाई । र, मनमनै हजारौं प्रश्न खडा भयाे । हामी कुन देश वा आफ्नै देशकाे सरकारसँग युद्ध गरिरहेका त छैनौं ? आफ्नै पार्टीका साथीहरुसँग कस्तो युद्ध लड्दैछौं भन्ने चिन्ता लाग्यो ।
यही चिन्ताको बीचमा गत वैशाख ३० गते स्थानीय तहकाे निर्वाचन भयाे । बागमती, गण्डकी, कर्णाली, सुदुर पश्चिम र लुम्बिनी प्रदेशकाे पहाडी भेगमा शुन्य परिणाम आयो । त्यसको समिक्षा बैठक नबस्दै पार्टीभित्र अहिले पनि हस्ताक्षर अभियान चल्यो । यो अभियानको उदेश्य के हो ? गन्तव्य के हाे ?
यो अभियानको गन्तव्य कहाँ हो भन्ने कुरा केही बुझ्न सकिएन । यसरी सधैं हस्ताक्षर गर्ने, विवाद निकाल्ने, एक अर्कामा अन्तरविरोध पैदा गर्ने गतिविधिले कसैलाई फाइदा गर्दैन । यदि, पार्टीको नीति कार्यक्रमप्रति असन्तुष्टि हो भने नयाँ दस्तावेज ल्याएर छलफल चलाएर जान सकिन्छ । त्यो पनि नगर्ने, यो पनि नगर्ने, खाली व्यक्तिलाई आरोपमात्रै लगाउने कार्य राम्रो होइन । कुनै नेतामा स्वेच्छाचारी प्रवृत्ति छ भने हल्लाले होइन, सल्लाहले ठिक पार्न सकिन्छ ।
हुन त अहिले जसपा नेपाल फुटाउन विदेशी वा स्वदेशी शक्ति लागेकै छन् । तर, यसरी अर्काको उक्साहटमा लागेर आफ्नो घर जलाएर खरानी धस्ने जोगीले जहाँ गए पनि केही गर्न सक्दैन । किनभने अहिले नेपाल देशको राष्ट्रिय स्वाधिनता खतरामा परेकाे छ । संसदबाट राष्ट्रघाती एमसिसी पास भएको छ । अमेरिकी इन्टेलीजेन्सका स्पेसल कमाण्डो नेपालमा बसेकाे बेला अमेरिकी सैनिक नेपालमा बस्न पाउने गरी एसपिपी सम्झौताकाे कुरा पनि उठेको छ । यही बेला पार्टीभित्र खिचलो निकाल्नु राम्रो हाेइन । राष्ट्र रहे पो राजनीति गर्नु, राष्ट्र नै नरहे के को राजनीति गर्ने ? साथीहरुले याे बुझ्नुपर्छ ।
अहिले पार्टीको आन्तरिक विवादमा केही नेता चुपचाप बस्नु भएको छ । चुपचाप बस्नुको कारण के हो भने विगतमा भएको उपयोगितावाद, आफ्नो स्वार्थ पूर्ती गर्न दौडेर म यो पार्टीमा बस्दिनँ, अर्कै पार्टीमा जान्छु मलाई अन्याय भो भनेर गुनासो सुनेर सम्झाएर बुझाएर राजनीतिक दुर दृस्ठि सिकाएर पठाएपछि आज उच्च ओहदामा पुगेका नेता-कार्यकर्ता छन् । त्यसैलाई उपयोग गरेर केही साथीहरुले आफ्नो स्वार्थका लागि अन्तरविरोध पैदा गर्ने काम गरेका छन् । त्यसबाट वरिष्ठ नेता अशोक राई सचेत भएको हुनुपर्छ भन्ने मलाई लाग्छ ।
तर, वरिष्ठ नेता अशोक राईको कतै नलागेपछि अहिले हस्ताक्षर अभियान पनि तीन धारमै विभाजन भएकाे देखिन्छ । पहिलो धार एमालेतिर जाने, दोस्रो धार माओवादीतिर जाने र तेस्राे धार जसपा फोडेर रेशम चौधरीकाे उन्मुक्ति पार्टी र लोसपासँग एकता गर्ने । यस्तो स्वार्थको राजनीतिबाट देशको विकास र जनताको समृद्धि हुँदैन । किनभने स्वार्थले भरिएको भाडा जुनसुकै बेला फुटेर छताछुल्ल हुन्छ । त्यसकारण, पहिचान र अधिकारकाे आन्दोलन जोगाउन सबै गम्भीर भएर एक हुन जरुरी छ । किनभने १० प्रतशित केन्द्रीय सदस्य तथा कार्यकर्ताहरु पहिचान र संघीयता मन पराउँदैनन् । पहिचानकाे प पनि सुन्न चाहँदैनन् । जसपाले लिएको सिद्धान्त कमजाेर पारेर पार्टी कब्जा गर्न चाहन्छन् उनीहरु । त्यसका लागि एकअर्कामा अन्तरविरोध पैदा गराउने, पार्टीमा विवाद निकाल्ने, संगठनलाई कमजाेर बनाउने प्रयास गरिएकाे छ ।
यसरी लुकामारी खेल्दै जाने हो भने जसपा आगामी प्रतिनिधिसभा र प्रदेश सभाकाे निर्वाचनमा झन् कमजाेर हुँदै जानेछ । स्थानीय निर्वाचनअघि गण्डकी प्रदेशमा पहिचानकाे आवाज बुलन्द पार्ने, फोनको भरमा संगठन निर्माण गर्ने गणेशमान गुरुङ, हुम गुरुङ, दिपक वाइबा लगायतलाई खेद्ने काम भयाे । त्यसकाे परिणाम स्थानीय निर्वाचनमा गण्डकी प्रदेश शुन्य भयाे भन्ने कुरा सबैमा हेक्का रहोस् ।
यदि, पार्टीको नीति र सिद्धान्त मन पर्दैन भने किन त्यही बसेर किचलो गर्ने ? सँगै मर्ने सँगै बाच्ने सुख दु:खमा एकअर्कालाई साथ दिने भनेर सिउँदाेमा एक चिम्टी सिन्दुर हालेर घर भित्र्याएको श्रीमतीसँग त सम्बन्धविच्छेद हुन्छ भने यो त विचार, नीति, सिद्धान्तले जोडिएको पार्टी न हो । विचार, नीति, सिद्धान्त र कार्यक्रम मन नपरे छाडेर जान पनि पाइन्छ ।
तर, हामी त्यसरी सम्बन्धविच्छेद गर्दा झनै कमजाेर हुन्छौं । हिजो चोक्टा खान गएको बुढी झोलमा डुबेर मरी भन्ने उखानले राम्रै काम गर्छ । किनभने माओवादी छाडेर, एमाले छाडेर आएका धेरै छौं हामी । सौताको रिसले पोइको काखमा हगेर बदला लिएँ भनेर रिस फेर्नु हुँदैन । साच्चिकै नयाँ विचार प्रतिपादन गर्न खोजेको हो भने दस्तावेज ल्याउने आट गर्नुस्, छलफल गरौं । होइन भने व्यक्तिकाे लाभको लागि पार्टी फुटाउने काम बन्द गरौं ।
(नवीनकुमार सुनुवार जसपा नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सहइन्चार्ज हुन् ।)
समय सन्दर्भ लेख ।
पार्टीमा समस्या आउछन त्यसको निकाश नीकाल्ने उपाय फुट होइन महाधिबेसन हो ।
कस्तो हस्तान्तरण अभियान जहिले पनि अरु काम पाएना कि कसो समाजिक सन्जालमा होइन पार्टी टेबल टक गरौं न हो नेतागन हरु आफ्नै पार्टी भित्रको नेगेटिभ खबर पढ्दा पढ्दा दिक्क लागि सक्यो!
एदम सान्दारभिक लेख, पद मात्र ताक्ने मांखो नमार्ने त्यस्ताहरुलाई बेलैमा तिनौ, कुरो ठिक हो, पहिचानको प पनि मन नपराऊने स्यालहरुलाई बजाऊन पर्छ!
100% सही कुराे । बाबुराम र वहाँ काे समूह जहिले पनि पदको लागि मरिहत्ते गरछ र पार्टीको काम भाँडमा जावाेस । कतिपय त राजनीतिक अनुभवी नभएको मानिस पनि कारयकािरणीमा राखेको छ ।