जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसद महेन्द्र राय यादव डा. बाबुराम भट्टराई पक्षमा लागेका छन् ।

काठमाडौंको जडिबुटीमा आजदेखि सुरु भएको भट्टराई पक्षको केन्द्रीय समितिको बैठकमा यादव पनि सहभागी भएका हुन् ।

जसपाभित्र दुई धार बन्दा महेन्द्र यादवसँगै इस्तियाक राई, प्रदीप यादव भट्टराईको पक्षमा लागेका थिए ।

इस्तियाक राई र प्रदीप यादव हाल उपेन्द्र यादव (संस्थापन) पक्षमा लागेका छन् भने महेन्द्र यादवले भट्टराई नै साथ दिएका हुन् ।

भट्टराई पक्षमा भट्टराई पत्नी हिसिला यमीसहित, डम्बर खतिवडा, गंगा श्रेष्ठ र प्रशान्त सिंह रहेका छन् । खतिवडा र श्रेष्ठ पहिले तत्कालीन नयाँ शक्ति पार्टीकै नेता हुन् भने महेन्द्र यादव तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता हुन् ।

राजेन्द्र महताे र महन्थ ठाकुर समूह अलग हुँदा पनि महेन्द्र यादव जसपामै बसेका थिए ।

जसपाका वरिष्ठ नेता अशोक राई, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, हेमराज राई भने संस्थापन पक्षमै छन् ।