शासकको सकुनी चाल, आदिवासीको हनुमाने ताल

– खुक्सङ खम्बु

भूमिका

हिन्दूहरुको धार्मिक ग्रन्थहरुमा अनेकौँ ‘क्यारेक्टर’ भएका हजारौँ पात्रहरु भेटिन्छन् । रमाइलो पक्ष के छ भने तीमध्ये सकुनी र हनुमान ‘क्यारेक्टर’ भने वर्तमान नेपालको शासक र आदिवासी जनजाति नेताहरुकाे चरित्रसँग ठ्याक्कै मेल खाने रहेछ ।

आग्रह–पूर्वाग्रह, आरोप–प्रत्यारोप भन्दा पर रहेर सकुनी र हनुमानको चरित्रसँग शासक र आदिवासीको चरित्रलाई दाँज्ने मात्र यस लेखमा प्रयत्न गरिने छ । अरु कुरा त विज्ञ पाठकहरुले बुझ्नुहुने छ ।

सकुनी

सकुनी महाभारतको एक खलपात्र हुन् । साइनोले कौरव र पाण्डवको मामा पनि हुन् । जुवामा छलकपट गरी पाण्डवलाई वनवास कौरवलाई राज्यसत्तामा सर्वत्र राज गराउन यिनको निकै ठुलो योगदान छ । उनी जालझेल छलकपट षड्यन्त्र गर्ने कलामा साह्रै निपुण मानिन्छन्, जस्तै नेपालका शासकहरु ।

नेपालका शासकहरुको चरित्र ठ्याक्कै सकुनीको जस्तो लाग्छ । जनता (आदिवासी जनजाति, मधेसी) लाई ढाँटेर छलकपटपूर्ण तरिकाले यिनीहरुले सत्ता चलाइरहेका छन् । जनतालाई छल्न चुनावमा एउटा कुरा गर्छन्, चुनावपछि अर्कै कुरा गर्न थाल्छन् ।

चुनावकाे घोषण–पत्रमा एउटा कुरा लेख्छन्, व्यवहारमा ठिक उल्टो गर्छन् । आदिवासी जनजातिको इमान्दारिता र सोझोपनको फाइदा उठाउँदै ‘सकुनी नेता’हरुले गर्नुसम्म नेपालमा मोज गरिरहेका छन् । देशमा उनीहरुकै मनपरी छ ।

आदिवासी जनजातिहरुको चाहिँ नागीमा चौँरी चराउँदै, पहाडको पाखोमा हलो जोत्दै, त्रिशुलीको खोचमा गिठ्ठा खोज्दै जुनी बित्छ । आदिवासीको यो दुःख शासकलाई खुबै मनपर्छ ।

वर्तमान नेपालको शासन सत्ता निश्चित जाति (बाहुन र क्षेत्री) को हातमा छ । उनीहरुको प्रथम कर्म आफ्नाे जातिको हितमा काम गर्नु हो । नीति, निर्माण, संविधान, कानुन बनाउनु हो । स्थानीय तह, प्रदेशको पुनर्संरचना बाहुनवादी संविधानको जबरजस्त घोषणा यसको छर्लङ्ग उदाहरण हो ।

विभेदमा पारिएकाहरुलाई सम्बोधन गरी राज्यको पुनर्संरचना गर्नुपर्नेमा शासक जातिकै हितमा फेरि पनि संरचना बनाइएको छ, संविधान घोषणा गरिएको छ ।

भूपि शेरचनले यो कवितामा हामी आदिवासीकै ‘हनुमान प्रवृत्ति’लाई देखेर व्यङ्ग्य गरेका हुन् कि झैँ लाग्छ ।

विज्ञ पाठकज्यू, अर्को सानो उदाहरण पनि राख्ने अनुमति चाहन्छु ।

६४७ वटा आदिवासी (राई, लिम्बु र धिमाल) को चिहान खनी झापामा आदिवासी रङ्गशाला बनाइँदै छ । उक्त रङ्गशालाको नाम ‘आदिवासी रङ्गशाला’ नामाकरण गर्ने सर्तमा आदिवासीहरुले आफ्नाे पुर्खा र आफन्तको चिहान खन्न दिएका हुन् ।

तर, केपी ओली नेतृत्वको सरकारले ‘मदन भण्डारी रङ्गशाला’ नामकरण गर्न खोज्यो । यसलाई के भन्ने ? सत्तासीन केपी ओलीहरु नेपाललाई पूरै बाहुनमय बनाउन चाहन्छन् भन्ने सानो प्रमाण हो, यो ।

आदिवासी र मधेसीको अस्तित्व, पहिचान र स्वाभिमान स्विकार्न तयार छैनन्, सकुनी शासकहरु । लेखनाथ पौड्यालले लेखेझैँ, ‘मैँ खाउँ, मैँ लाउँ, अरु सबै मरुन् दुर्बलहरु’ भन्ने खालको व्यवहार छ, उनीहरुको ।

अरु जातिको पहिचान र अस्तित्वलाई स्वीकार नगर्ने ‘सकुनी नेता’हरुको अतिवादी चिन्तन भोलिका दिनमा उनीहरुलाई नै भारी साबित हुने पक्का छ ।

हनुमान

रामायणमा हनुमान भन्ने अर्को पात्र भेटिन्छ । प्रभु भनेपछि हुरुक्कै हुने । एक आज्ञामा पूरै पहाड बोकेर ल्याउने । उधुम आज्ञाकारी । वचनको पक्का । जस्तै, वर्तमान ठुला पार्टी भनिएका पार्टीमा लागेका आदिवासी जनजाति नेताहरु ।

उनीहरु आफ्नाे प्रभुले भनेपछि व्यक्तिगत स्वार्थसिद्धका निम्ति जे गर्न पनि तयार हुन्छन् । उनीहरुलाई स्वाभिमान, पहिचान भनेको के हो ? हक, अधिकार, समानता के हो ? वास्ता हुन्न । जसले पहिल्यै स्वाभिमानलाई ‘टाँड्ना’मा सुकाई राखेर प्रभुको टाङमुनि मुन्टो घुसारिसकेका छन् ।

आफ्नाे पहिचानको बारेमा केही बोलौँ भने प्रभु रिसाउँने । प्रभु रिसाए फसाद पर्छ । आफ्नाे पार्टी र समुदायका आफू भन्दा जुनियरलाई टपक्क टिपेर प्रभुले सभासद्, मन्त्री बनाइदिन्छ । आफू त हेरेको हेर्यै । थाङ्नामै सुताइदिन्छ ।

सुते बरु आफ्नै जाति थाङ्नामा सुतोस् । प्रभुको आशीर्वाद प्राप्त गरी आफू त जुनसुकै हालतमा भए पनि सभासद् मन्त्री त बन्नैपर्छ । सभासद्, मन्त्री नभएपछि आफ्नाे समुदायमा नाक फुलाएर हिँड्न पाइएन । धाकधक्कु लाउन पाइएन ।

अनि प्रभुलाई रिस उठ्ने काम गर्नु भो त ? फलाना जातिबाट सभासद्, मन्त्री, सभामुख, राष्ट्रपति भएर गिनिज बुकमै नाम लेखाउने जो उनीहरुको महान् उद्देश्य छ । यस्ता महान् विचार भएका ‘आदिवासी हनुमान’हरु आजभोलि बग्रेल्ती भेटिन्छन् ।

धेरै ‘आदिवासी हनुमान’मध्ये यहाँनेर सुवास नेम्वाङको थोरै चर्चा गर्न प्रासङ्गिक देखिन्छ । सुवास नेम्वाङले आदिवासी जनजाति र मधेसी बहुल निक्कै समावेशी पहिलो संविधानसभालाई विघटन गरी बाहुन बहुल दोस्रो संविधानसभाका दुई चार जना बाहुनले बनाएका बाहुनवादी संविधान तदारुकताका साथ घोषणा गरी आफ्नाे प्रभुको राम्रै आज्ञा पालन गरे । सेवा गरे ।

यसबापत उनलाई आफ्नाे प्रभुको निगाहमा आगामी दिनमा (व्यक्तिगत) ठुलै चोक्टो हात पर्ला । भौतिक सुख, सुविधा पनि प्राप्त होला ।

तर, लिम्बुवानका राई, लिम्बुहरु सुवास नेम्वाङ सभामुख भएको खोक्रो आडम्बर पालेर अधिकारविहीन, पहिचानविहीन कहिलेसम्म बाँच्न सक्ने हुन् ? थारुहरु शासकको अन्याय अत्याचार खप्दै कहिलेसम्म बस्ने हुन् ? मधेसीहरु शासकको विभेद सहँदै कहिलेसम्म बाँच्ने हुन् ? कुरा त त्यतातिर पो छ ।

याे देश शासक जातिको मात्र पेवा होइन । न त ‘सकुनी शासक’ र ‘हनुमाने नेता’कै बिर्ता हो ।

निष्कर्ष

कवि भूपि शेरचनले निकै पहिल्यै लेखिसकेका छन्, ‘हामी वीर छौँ तर बुद्धु छौँ । हामी कहिल्यै वीर हुन सकेनौँ ।’

भूपि शेरचनले यो कवितामा हामी आदिवासीकै ‘हनुमान प्रवृत्ति’लाई देखेर व्यङ्ग्य गरेका हुन् कि झैँ लाग्छ । हो, साँच्चै हामी बुद्धु भयौँ र वीर साबित भयौँ । तर, विवेकलाई कहिल्यै प्रयोग गर्न खोजेनौँ । अरुको हनुमान बन्नमै रमायौँ ।

‘हामी सिर्फ क्यारेमबोर्डका गोट्टी हौँ, स्ट्राइकरले जता हान्यो, त्यतै उछिट्टिनुपर्ने,’ भूपिले यसो पनि भनेका छन् ।

महान् कवि भूपिको मृत्यु भएको धेरै भइसक्यो । तर, अझै हामी आदिवासीहरु क्यारेमबोर्डको गोट्टी र ‘हनुमान’ बन्नमै रमाइरहेका छौँ ।

केही शासक ‘बाहुन सकुनी’ र केही ‘आदिवासी हनुमान’ बन्दा उनीहरुको व्यक्तिगत स्वार्थपूर्ति त अवश्य होला । तर, सिङ्गो समुदाय र देश त उँधो लाग्ने रहेछ नि । बहुदल आएयता २५-३० वर्षे अनुभवले हामीलाई यहीँ पाठ सिकाउँछ ।

देशलाई सबैको साझा बनाउन, देशलाई साझेदारीमा सञ्चालन गर्न अब शासक बाहुनहरु ‘सकुनी’को स्तरबाट माथि उठ्न जरुरी छ भने समानता, अधिकार र पहिचान प्राप्तिको निम्ति आदिवासीहरु पनि हनुमानको स्तरबाट माथि उठ्न जरुरी छ ।

सबै कुराको बाधक त शासकको सुकनी चाल र आदिवासीको हनुमाने ताल नै हो । जति छिटो यसखाले चिन्तन र प्रवृत्तिलाई हामीले त्याग्न सक्छौँ, त्यसमै देश र तपाईं हामी सबैको कल्याण छ ।

(याे लेख पाँच वर्षअघि सार्वजनिक डटकममा प्रकाशित भएकाे थियाे । हाल पनि सान्दर्भिक देखिएकाेले यहाँ पुनः प्रकाशन गरिएकाे छ । स.)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्