अशोक कुमार राई
समाजवादको विकासक्रमलाई हेर्दाखेरि यसले थुप्रै चरणहरु पार गर्दै आएको छ । वैज्ञानिक समाजवादका प्रणेता तथा दार्शनिक कार्ल मार्क्सको एउटा उक्ति उद्धरण गर्न चाहन्छु । कार्ल मार्क्सले भन्नुभो– ‘संसारको व्याख्या त विभिन्न दार्शनिकहरुले अनेक रुपमा गरेकै छन्, तर मुख्य कुरा संसारलाई फेर्नु हो ।’
त्यहीँ संसारलाई फेर्ने मान्यताबाट निर्देशित भएर वैज्ञानिक समाजवादको सिद्धान्तको तर्जुमा गरियो । मैले यहाँहरुलाई थाेरै निवेदन गर्न खोजेको कुरा के हो भने अहिले नेपालमा समग्रतामै समस्याहरु धेरै छन् । शिक्षा क्षेत्र पनि समस्याहरुबाट मुक्त छैन ।
तर समस्याहरुको व्याख्या गरेर, समस्याहरु औंल्याएर हाम्राे दायित्व पुरा हुँदैन । यहाँहरुको पनि पुरा हुँदैन, मेरो पनि पुरा हुँदैन, सरकारको पनि पुरा हुँदैन ।
त्यसो भएर मुख्य कुरा चाहिँ के हो भने ती समस्याहरुको समाधान खोज्नु हो । ती समस्याहरुलाई समाधान गर्नु चाहिँ महत्वपूर्ण कुरा हो ।
तसर्थ, मैले यहाँहरुबाट खोज्ने सहयोग भनेको के हो भने समस्यालाई औंल्याउनुको साथसाथै समाधान खोज्ने सन्दर्भमा पनि सहयोग चाहिन्छ । यो किसिमबाट समाधान गरौं, यो किसिमले जाऔं भन्ने रचनात्मक किसिमको प्रस्तावहरु आएको खण्डमा निश्चय नै सरकारको ठाउँमा अथवा शिक्षा मन्त्रालयमा ती चिजहरुलाई समाधान गर्ने गरी अगाडि बढ्न सदैव म सकारात्मक रहेको कुरा यहाँहरुलाई निवेदन गर्न चाहन्छु ।
समाजवादका अनेकौ रुपहरु विकसित भएर आएका छन् ।
जस्तो लोकतन्त्रमा, ‘फ्रेन्च रेवलुशन’पछि व्यक्तिगत स्वतन्त्रताको कुराले धेरै महत्व पायो । लेख्ने, बोल्ने, छाप्ने, सभा–सम्मेलन गर्ने, विरोध प्रदर्शन गर्ने, संगठन बनाउने, आवधिक निर्वाचन लड्ने आदि–ईत्यादि । जसलाई अहिले हामी ‘औपचारिक लोकतन्त्र’ भनेर चिन्छौं । तर, त्यसले मात्रै लोकतन्त्र पूर्ण भएन । लोकतन्त्र अधुरो भयो भनेर ‘अक्टुबर रेवलुशन’ भयो, ‘फ्रेन्च रेवलुशन’ले पुगेन ।
‘अक्टुबर रेवलुशन’ले राजनीतिक अधिकारलाई व्यक्तिगत स्वतन्त्रताको साथसाथै आर्थिक समानता, आर्थिक अधिकार, आर्थिक मुक्तिको अवधारणालाई अगाडि ल्यायो । ‘अक्टुबर रेवलुशन’पछि आजसम्म विकसित भएर आउँदा ‘इन्क्लुसिव डिमोक्रेसी’को अवधारणा आएको छ ।
समाजवाद खाली एउटा पवित्र आकाङ्क्षा मात्र होइन, हुनु हुँदैन । यो वस्तुगत यथार्थ हो । यो प्रत्येक नागरिकले दैनन्दिन महसुस गर्न सक्ने विषयवस्तु हो ।
लोकतन्त्र कस्तो? समावेशी किसिमको । कोही पनि पछि नछुटून्, कसैलाई पनि पछाडि नछाडियोस् । सबैलाई सँगसँगै लिएर जाऊन् । ऋग्वेदको भनाइजस्तो,
समानि व आकुती समानि हृदयानी वः
संगच्छध्वं संवदध्वं…
सँगै हिँडौं, सँगै अगाडि बढौं, सँगैसँगै यात्रा गरौं । हाम्रा आकाङ्क्षाहरु समान छन्, हाम्रा हृदयहरु समान छन्, हाम्रा चाहानाहरु समान छन्, हाम्रा भावनाहरु समान छन् भन्ने किसिमको ठाउँमा हामी अगाडि जानुपर्ने अवस्था छ ।
समाजवादलाई हामीले हाम्रो वास्तविकता अनुकूल, आफ्नाे देशको यथार्थ अनुकूल व्याख्या गर्नु सक्नुपर्छ, बुझ्न सक्नुपर्छ, नीति निर्माण गर्न सक्नुपर्छ र लागु गर्न सक्नुपर्छ । तब मात्रै हामी सफल प्रयोक्ता हुन सक्छौं, व्याख्याता मात्रै होइन ।
अर्को कुरा, अहिले विद्यालय शिक्षा ऐन आएको छ, बहुत कठिनाइका साथ सात वर्षपछि । आज बिहान मात्रै म यो कार्यक्रममा आउँदा सोझै अर्थ मन्त्रालयबाट आएको छु ।
किनकि, अर्थ मन्त्रालयले आर्थिक दायित्व पर्ने विषयवस्तुहरुमा छलफलको माग गर्यो । र, हामी छलफल गर्न गयौं । त्यहाँबाट बल्लतल्ल अघि प्रधानमन्त्रीजीले भन्नुभए जस्तै विद्यालय शिक्षा ऐन आउने मंगलबार मन्त्रिपरिषद्बाट संसदमा जाने कुरा सुनिश्चित गरेर म यहाँहरुको बिचमा आएको छु ।
धेरै खाले समस्याहरुलाई नाघ्दै नाघ्दै अब त्यो संसदमा प्रवेश पाउने ठाउँसम्म पुगेको छ । जसले स्थानीय तहलाई माध्यमिक शिक्षा सञ्चालन गर्ने अधिकार दिनका साथै शिक्षण पेसालाई सम्मानजनक बनाउनका साथै त्यसलाई गुणात्मक बनाउने र संविधानमा व्यवस्था गरिएको निःशुल्क अनिवार्य शिक्षालाई कार्यान्वयन गर्ने आधारहरु खडा गर्ने सुनिश्चितता गर्ने प्रयास गरिएको छ ।
त्यसआधारमा ऐनको मस्यौदा भएर संसदमा जाँदैछ र स्वाभाविक हिसाबले संसदले त्यसलाई आवश्यकताअनुरुप अझै परिमार्जन गर्नेछ, अझै छलफल र संशोधन गर्नेछ, जो संसदको सार्वभौम अधिकारको कुरा रह्यो ।
यसबाहेक, अब मेरो कार्यसूचीमा स्वाभाविक हिसाबले उच्च शिक्षासम्बन्धी छाता ऐन परेको छ । र, उच्च शिक्षासम्बन्धी छाता ऐन आउने सिलसिलामा स्वाभाविक हिसाबले उच्च शिक्षामा देखा परेका समस्याहरु, विकार–विकृतिहरु, संशोधन तथा परिमार्जन गर्नुपर्ने विषयवस्तुहरुलाई पनि त्यसबाट समाधान दिने प्रयत्न गर्नेछु ।
संविधानले हामीलाई मौलिक हकको रुपमा धेरै चिज दिएको छ । मौलिक हक तबसम्म कार्यान्वयनमा आउँदैन, तबसम्म त्यसलाई कार्यान्वयन गर्ने ऐन बन्दैन ।
ऐनहरु बनिरहेका छैनन् । ऐन बनिसकेपछि पनि त्यसको कार्यान्वयन धेरै नै महत्वपूर्ण कुरा हुन्छ । त्यसकारण त्यो कार्यान्वयनको सन्दर्भमा समेत विद्यार्थी साथीहरुले, सचेत नागरिकहरुले, राजनीतिक नेताहरुले, राजनीतिक दलहरुले, सबैले पहल गर्नुपर्ने आवश्यकता रहन्छ ।
यहाँहरुलाई थाहा छ, २०२० सालको मुलुकी ऐनमा छुवाछुतसम्बन्धी व्यवस्थाको अन्त्य गरिएको र पछिल्लो बेला गणतन्त्र आइसकेपछिको अवस्थामा छुवाछुतलाई दण्डनीय अपराध घोषणा गरिएको ।
तर, आजसम्म पनि समाजमा दुर्भाग्यपूर्ण अत्यन्त दुःखद, अत्यन्त पीडादायी निन्दनीय घटनाहरु घटिरहेकै छन् । त्यसकारण सबैले जागरुक भएर ऐन–कानुनलाई लागु गर्नका निम्ति लाग्नुपर्ने रहेछ ।
समाजवाद खाली एउटा पवित्र आकाङ्क्षा मात्र होइन, हुनु हुँदैन । यो वस्तुगत यथार्थ हो । यो प्रत्येक नागरिकले दैनन्दिन महसुस गर्न सक्ने विषयवस्तु हो ।
त्यसो भएको हुनाले राम्रो कुरा छिट्टै चाहियो भनेर मात्रै नहुँदाे रहेछ । वस्तुगत कुरा भएको हुनाले त्यो वस्तुगत नियमअनुसार नै अगाडि बढ्दो रहेछ, मानवको आकाङ्क्षाले मात्रै हुँदैन ।
मानव आकाङ्क्षाको चाहिँ खाली त्यसको गतिलाई उत्तोलित गर्ने वा धिमा गर्ने? त्यसलाई छिटो बनाउने कि ढिलो गर्ने? यो कुरामा अलिकति भूमिका हुन्छ ।
तर मूलतः त्यो वस्तुगत यथार्थ भएको हुँदा वस्तुगत नियमका आधारमा अगाडि बढ्छ । त्यसलाई मानव आकाङ्क्षाले डोर्याउन खोजियो भने त्यो फेल हुन्छ ।
हामीले पूर्वी युरोपलाई हेरेका छौं, हामीले रुसलाई हेरेका छौं । त्यहाँ पवित्र आकाङ्क्षा राखेर छिटो छिटो समाजवाद ल्याउन राष्ट्रियकरण गरियो । जनतालाई एकछाक रोटी सित्तैमा खुवाउने भनेर सरकारले प्रयोगहरु पनि गर्याे । तर, ती प्रयोगहरु सबै फेल भए । अर्थतन्त्र सुदृढ हुन सकेन, निर्माण हुन सकेन ।
पवित्र आकाङ्क्षा हुँदाहुँदै पनि त्यहाँको समाजवादी व्यवस्था ढल्यो, असफल भयो । त्यसकारण यी असफलताहरुबाट पनि शिक्षा लिएर हामीले धैर्यतापूर्वक वस्तुगत नियमहरुलाई बुझेर क्रमशः समाजवाद निर्माणको दिशामा अगाडि बढ्नुपर्ने कुरातर्फ म युवा–विद्यार्थी साथीहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।
(शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक कुमार राईले समाजवादी मोर्चानिकट चार विद्यार्थी संगठनहरुले आइतबार ललितपुरको च्यासलमा आयोजना गरेकाे ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ कार्यक्रममा आफ्नाे मन्तव्य राखेका थिए । सोही मन्तव्यका आधारमा यो सामग्री तयार पारिएको हो । स.)
अशोक सरले ठिक कुरा गर्नु भयो ।