काठमाडौं उपत्यकामा बसोबास गर्ने चाम्लिङ राईहरुले शनिबार कोटेश्वरस्थित किरात राई यायोक्खामा भेला भएर सामूहिक रुपमा छौवा गरेका छन् ।

किरात राई चाम्लिङ खाम्बातिमको आयोजनामा छौवा गरिएको हो ।

चाम्लिङ राईहरुले हरेक साल भदौमा छौवा गर्ने गरेका छन् । यसलाई उधौली याम सुरु भएको रुपमा पनि लिइन्छ ।

छौवामा नयाँ अन्न (धान–घैया, कोदो लगायत)को परिकार बनाएर पहिले पितृलाई चढाइन्छ ।

किरात राई यायोक्खाका उपाध्यक्ष जनक राईका अनुसार यसपटक गोरुको सुकुटीदेखि भालेकाे मासु र जंगलमा पाइने अरिङ्गालसम्म व्यवस्था गरी छाैवा पुजा गरिएकाे हाे ।

गोरुको मासु (प्युपा सा) किरातीहरुले परम्परादेखि खाँदै आएको हाे ।

राणा शासनदेखि पञ्चायतकालसम्म आइपुग्दा किरातीहरुले सरकारलाई गाेरु काटे बापत मेक्चन कर तिर्नुपर्ने नियम रहेकाे बुढापाकाहरु सम्झन्छन् ।

किरातीहरुले पितृको पुजा गर्दा जाँड-रक्सीका साथै गोरुको मासु, भालेकाे मासु, जंगलकाे अरिङ्गाल र खोलाकाे माछा र पाहा पनि चलाउने गर्छन् ।

उनीहरुले वैशाख महिनामा उभाैली सुरु भएकाे रुपमा ह्विलुङ पुजा गर्छन् र साकेला सिली नाच्दै उभाैली मनाउँछन् ।

भेला पारिएकाे अरिङ्गालकाे बच्चा ।
छाैवा गर्दै नछुङ (धामी) ।