व्यवहारमा लाेकतन्त्र आएकाे छैन

नेताहरुको मस्‍ती जनताकाे सास्‍ती

मेरो छिमेकमा एकजनाकाे नाम दिलबहादुर छ । तर उ दैनिक रक्सी पिएर आफ्ना परिवारलाई सताउने काम गर्छन् । अरूले दिएको सल्‍लाहलाई उसले “यो मेरो परिवार हो, म जेसुकै गरूँ, तिमीहरूलाई केको चासो ?” भनेर जवाफ दिन्‍छन् ।

उसले विवाह गरेर ल्‍याएको श्रीमती र उसले जन्‍माएको छोराछोरी भएको हुनाले परिवारका सदस्‍यहरूलाई दुःख दिन पाउनुपर्छ भन्‍ने उसको मान्‍यता रहेको छ । म कहिलेकाही उसको छोराछोरीलाई तिम्रो बुवाको नाम कति राम्रो छ है भन्छु । जवाफमा उनीहरूले “नाम अनुसारको काम वा व्यवहार भइदिएको भए हामी यो अवस्थामा हुने नै थिएनौं । हामीलाई हाम्रो ड्याडीको नाम होइन, तर उहाँको असल काम र व्यवहार चाहिएको छ अंकल” भन्छन् । दिलबहादुर र उसको परिवारले मेरो देशको वर्तमान अवस्थालाई हुबहु प्रतिनिधित्व गरेको देख्दा मन कटक्क खान्छ ।

हाम्रो देश नेपाल राणा, राजा, पञ्चायत, प्रजातन्त्र हुँदै सबैको प्यारो नाम ‘लोकतन्त्र’ सम्म आइपुगेको छ । यो लोकतन्त्र ल्‍याउने काममा हाम्रा नेताहरूको ठुलो योगदान रहेको छ भन्‍ने कुरामा दुइमत छैन । उहाँहरूको नेतृत्‍वमा आएको यो लोकतान्त्रिक गणतन्त्रात्मक संघीय राज्य व्यवस्थाको अभ्यास गरेको पनि लामो समय भयो । ठुलो बलिदानबाट प्राप्त गरिएको यो लोकतन्त्र आफैमा एउटा ठुलो उपलब्धि हो ।

अब लामो समय अभ्‍यास  गरिसकिएको यो लोकतान्त्रिक व्यवस्थाका नेतृत्‍वकर्ताहरूले देश र जनताहरूलाई भलो गरे कि, कुभलो गरे ? लेखाजोखा गर्दा अन्याय हुनै छैन । किनकि, हामीले ‘लोकतन्त्र’ भन्ने शब्द मन पराएर नाम राख्नकै लागि मात्र लोकतन्त्र ल्याएका होइनौं । यो शब्दले बोकेको मर्म, भावना, र विशेषतालाई मन पराएर ल्याएका हौं ।

अनि मुलुकमा यो व्यवस्था आएमा मुलुकलाई एक दशकमै स्विट्जरल्यान्ड, सिंगापुर बनाएर विकासको कायापलट गरेर देखाउने, सबै प्रकारका शोषण, सामन्त, भ्रष्टचार, बेथिति, अन्याय, अत्याचार र दमनलाई अन्त्य गरेर समाजमा स्वतन्त्रता, समानता, विकास, रोजगारी र सम्मृद्धि सिर्जना गरी देश र जनताको नाक उँचो बनाउने नेताज्यूहरूको प्रतिवद्धतालाई विश्वास गरेर ल्याएका हौं ।

तर के लोकतन्त्र प्राप्ति पछि हाम्रो मुलुकमा साच्चिकै यसको कर्म, मर्म, भावना, र विशेषता पनि आएका छन् त ? कि, नामको मात्र दिल बहादुर भएको छ लोकतन्त्र ? बिडम्वना नै भन्नु पर्छ, अँह ! हाम्रो मुलुकमा जनताको लागि लोकतन्त्र आएको छैन । जनताहरूले आफ्नो रगत, पसिना र मृत्‍युसँग साटेर ल्याएको लोकतन्त्र नाममा त आएको छ । तर त्यसको कर्म, मर्म, भावना, चरित्र,  विशेषता र व्यवहार पटक्कै आएको छैन ।

लोकतन्त्र नीतिमा आएको छ, तर नियतमा आएको छैन । नियतले संविधान, ऐन, कानुन, नीति तथा नियमहरूलाई आफू अनुकूल निर्माण र परिमार्जन गर्न सक्छ । तर संविधान, ऐन, कानुन, नीति तथा नियमले नियतलाई कहिल्यै परिवर्तन गर्न सक्दैन ।

मानिसहरूको विवेकले नीति निर्माण गर्छ । तर नीतिले कहिल्यै विवेक निर्माण गर्न सक्दैन । त्यसैले मानवता र त्यसको विवेक नीति भन्दा सदैव माथि हुन्छ । नीति निर्माणकर्ता मानिस सजीव प्राणी हो, उद्वारा निर्मित नीति निर्जीव हो । त्यो निर्जीव संविधान, ऐन, कानुन, नीति तथा नियमलाई निर्माणकर्ता सजीव प्राणी मानिसले जसरी चलायो, त्यो त्यसरी नै चल्छ । त्यसैले यसलाई चलाउने मानिसहरूको नियत असल छ भने यसले देश र जनताहरूको लागि असलै काम गर्छ, तर खराब छ भने खराबै गर्छ ।

त्यसैले हामी नेपालीहरूलाई लोकतन्त्रले आज के दियो भन्दा पनि यो लोकतान्त्रिक व्यवस्थालाई सञ्चालन गर्ने नेताहरूले यसलाई कसरी चलाए र यो व्यवस्था प्रति उनीहरूको नियत कस्तो छ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ ।

लोकतन्त्र पाँच वटा अक्षरहरू मात्र होइन । यो शब्दले विशेष अर्थ, कर्म, मर्म, भावना, र विशेषतालाई बोकेको छ । तर विडम्वना नै भन्नुपर्छ, हाम्रो देशमा लोकतन्त्रको ठेकेदार हुँ भन्ने नेताहरूले ‘लोकतन्त्र’ भन्ने पाँच वटा अक्षरले बनेको नाम खुबै मन पराए ।

तर त्यसको अर्थ, कर्म, मर्म, भावना, र विशेषतालाई पटक्कै मन पराएनन् र व्यवहारमा ग्रहण गर्न चाहेनन् । उनीहरू ‘लोकतन्त्र’ शब्दको पारखी त भए । तर त्यसको व्यवहारिक मर्म अनुसारको कर्मको भयंकर विरोधी भए । त्यसैले जनताले रगत, पसिना र ज्यान दिएर ल्याएको लोकतन्त्रमा नेताहरू श्रीपेच नलगाएका राजाहरू भइ लोकतन्त्रको नाम नै कलङ्कित बनाएर लोकतन्त्रको खास्टो ओडेर राजतन्त्रको शासन चलाई शोषण, दमन, अन्याय, अत्यचार र भ्रष्टचारमा उत्रिएका छन्  ।

अनि टपरीमा भात खाने नेताहरू सुनको थालमा खाने भएका छन् । तर चाँदीको थालमा भात खाने जनतालाई चाहिँ टपरीमा खाने बनाएर विचारक पाउलो फ्रेरेको सत्तासीन वर्गको हेजेमोनीका कारण उत्पीडितहरूको मन-मस्तिष्कमा पनि उत्पीडकले वास गरेको हुन्छभन्ने भनाइलाई व्यवहारमा उतारेका छन्  

हिजो सर्बहारा वर्गको चर्को भाषण गर्दै, जनतासँगै हात्तीछाप चप्पल र गोलस्टार जुत्ता महिनौंसम्म नखोली डुङ्डुङ्ती गन्हाउने गरी लगाएर बासीभात हातैले हसुर्ने नेताहरू आज सत्ता र शक्तिको बागडोर सम्हाल्ने भएपछि गाँस काटेर दिने जनतालाई रैती बनाएर नेताहरू राजा भएका छन् ।

त्‍यसैले त उनीहरू झुपडीलाई बिर्सिएर आलिशान महलमा, चप्‍पललाई छोडेर प्राडो, पजेरो र बुलेट कारमा, बासी ढिँडोबाट पिज्जा र बर्गरमा, तितेपाती, बनमारा, सिटामोल, बेटाजिनबाट विदेशका ब्रान्‍डेड अस्‍पतालमा, तोलाबाट बोरामा, आउँछ, जान्छ, खान्छबाट आइसिन्छ, खाइसिन्छ, गइसिन्छमा स्‍तरोन्‍नती भएका छन् ।

हिजो राजा कालमा पनि सार्वभौसत्ता जनतामा निहित भनिन्थ्यो । तर व्यवहारमा राजा संविधान भन्दा माथि बसेर देश र जनतालाई चुस्थे । आज लोकतान्त्रिक गणतन्त्रात्मक संघीय राज्य व्यवस्था भनिन्छ । तर यो लोकतान्त्रिक पद्धतिमा पनि नेताहरू संविधान, ऐन कानुन, नीति  नियम भन्दा माथि रहेर जनतालाई सताउने, लुट्ने र चुस्ने काम गरि नै रहेका छन् ।

राज्यको सम्पूर्ण डाडु पन्युँ आफ्नो हातमा लिएर राज्‍यका सबै संवैधानिक निकायहरूलाई दाँत र नङ्ग्रा बिनाको बाघ बनाएर धमाधम मानव अधिकार हनन गर्ने, उद्योगधन्दाहरू कौडीमा बेच्ने, भ्रष्‍टचार गर्ने, घुस खाने, बोराका बोरा सुन गायब बनाउने, अनियमितता र अपराध लुकाउनको खातिर कानुन नै संशोधन गर्ने, ठेक्कापट्टा, सरुवा बढुवामा अनगिन्ती घुस लिने, देशको स्वभिमान, खोलानाला र भूभाग नै बेच्ने, ठेलगाडा तथा नाङ्ले पसलेबाट पैसा असुल्न डण्डा चलाउने, कुनै व्यक्ति, अभियान्ता, पत्रकार तथा मिडियाले अलि चर्को स्वरमा विरोध गरे धाकधम्की र भौतिक आक्रमण नै गरी धरपकड गर्ने, लोकतन्त्रको निम्ति लड्ने लडाकुहरू उपचारको निम्‍ति भीख माग्‍दै बलिन्द्र आँशुका धारा बगाउनुपर्ने, देशमा चरम बेरोगारी र नैराश्‍यता सिर्जना गरेर भएका सबै युवा जनशक्‍ति युरोप अमेरिकाको होटलमा र अरबी खाडीमा बेचिनुपर्ने, जनतामाथि कर माथि कर थोपर्ने सुविधा केही पनि नदिने । अनि तिनै पीडित जनताले  तिरेको कर र विप्रेषणले धानेको मुलुकमा जनताले नुन र सिटामोल पनि खान नपाइरहेको अवस्थामा सिटामोल खान र रिफ्रेस्मेन्ट गर्न राज्यकोषबाट अरबौ रुपैयाँ खर्च गरेर विदेशका महंगा अस्पताल, होटल तथा रिसोर्टहरू धाउने, आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्तिको जोहो गर्ने, चाकरी गर्ने कार्यकर्ता, आसेपासे, भरौटे, इष्टमित्र, नातागोता, गर्लफ्रण्डहरूलाई पद, पैसा, टेन्डर सेन्डर त कति छ कति गर्ने प्रवृत्ति हिजो राजा महाराजाहरूको पाला देखि नै चलिआएको हो र आज पनि चल्‍दैछ ।

वास्‍तवमा हाम्रा नेताहरूको बोली समाजवादको छ । तर व्‍यवहार चाहिँ पुँजीवादी अधिनायकवादको जस्‍तो छ । दिलबहादुर मैले विवाह गरेर ल्‍याएको श्रीमती र मैले जन्‍माएका छोराछोरी हुन्‌, त्‍यसैले मेरो परिवारलाई दुःख दिन पाउने हक छ भन्‍ने विचारले अभिप्रेरित भए जस्‍तै, हाम्रा नेताहरूमा हामीले ल्‍याएको लोकतन्‍त्र हो, त्‍यसैले देश र जनताहरूलाई हामीले चुस्‍न, लुट्‌न र दुःख दिन पाउनुपर्छ भन्‍ने मनसाय बोकेका छन्‌ भन्‍ने कुरा उनीहरूको व्‍यवहारले प्रष्‍ट देखाउँछ । त्‍यसैले उनीहरूको  नकारात्मक पक्षहरूको विरोध गर्ने बित्तिकै राजावादी, अतिवादी, प्रतिगामी, लोकतन्त्र विरोधी लगायतका अनेकौं पगरी भिराइ दिइहाल्छन् यहाँ ।

मानौं, यो लोकतन्त्र भनेकै नेताहरूले जनतालाई लुट्न चुस्न पाउने लाइसेन्स हो । उनीहरूले जतिसुकै खराबी गरे पनि त्यो असलै हो । यो लोकतन्त्र एउटा राजालाई हटाएर हजारौं नेताहरूलाई राजा बनाउन ल्याइएको व्यवस्था हो । यो कुराले नेताहरू, तिनका चाकरदार, कार्यकर्ता, आसेपासे, भरौटे, इष्टमित्र र नातागोताहरूको चित्त दुखाए पनि यथार्थ त यही नै होः जसरी मेरो छिमेकी दिलबहादुर रक्सीको मातले लठ्ठ परेर उसको परिवारका सदस्यहरूको पीडा देख्दैन । त्यसरी नै हाम्रा नेताहरू सत्ताको मातमा लठ्ठ परेर जनताको चित्कारलाई सुन्दैन ।

दुःख र नैराश्यताले उकुसमुकुस जनता कहिले पत्रकारको पक्षमा, कहिले अभियान्तको पक्षमा, कहिले हाँस्यकलाकारको पक्षमा त कहिले एउटा कर्मचारीको पक्षमा त कहिले कसको पक्षमा नारा लगाएर हिडेका छन् । यी नाराबाजीहरू निस्‍कनुको कारण जनताले संविधानमा खाद्य सम्‍बन्‍धी हक लेखेको कागज पाए, तर खानलाई अन्‍न नपाएको हुनाले बालाजुको सडकमा एउटी नारी भोकले बेहोस्‌ हुन परेको छ ।

स्‍वास्‍थ्‍य उपचारको हक कागजमा पाए, तर विरामी हुँदा खानलाई सिटामोल पनि नपाएको हुनाले उप्फरमा चर्को आवाजमा गीत बजाउँदै भिख मागेर गल्‍लीहरू चहार्नु परेकोछ । रोजगारीको हक कागजमा पाए, तर उसले हातमुख जोड्‌नलाई कुनै काम नपाएको हुनाले आफ्नो कलिला बालबच्‍चालाई एयरपोर्टमा छुट्‌टाले पन्‍छाउँदै खाडी मुलुक पस्‍नु परेको कुरा नेताहरूले कहिल्‍यै नबुझेको कारणले हो भनि बुझ्दैन, तर उनीहरूलाई राजावादी, अतिवादी, प्रतिगामी र विदेशी देख्छ र तिनीहरूलाई सिध्याउन साम, दाम दण्ड भेद प्रयोग गर्छ ।

यसरी नै नेताहरूले लोकतन्त्रको खास्टो ओडेर राजतन्त्र भन्दा पनि भ्रष्ट भई जनताहरूलाई आँखामा छारो हालिराख्ने हो भने, जनताहरू नेताहरू प्रति होइन, हजारौं नेपालीहरूको बलिदानबाट प्राप्त लोकतान्त्रिक पद्धति र प्रणाली प्रति नै रुष्ट हुनेछन् र लोकतन्त्र नै खतरामा पर्ने देखिन्छ । त्यसैले नेताहरू नामको मात्र लोकतन्त्रिक होइन, त्यसको कर्म, मर्म, भावना, चरित्र, विशेषता र व्यवहारमा लोकतान्त्रिक हुन अति नै आवश्यक छ । नेताहरू नीतिमा मात्र लोकतन्त्रिक होइन, नियतमा पनि लोकतान्त्रिक हुनुपर्छ ।

त्‍यसैले अब नेताहरूले किनबेच हुने संसदीय व्‍यवस्‍थाबाट होइन, तर जनताहरूबाट प्रत्‍यक्ष निर्वाचित कार्यकारी  राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीहरू चुनिने व्‍यवस्‍था गर्नुपर्छ । उनीहरू जनताबाट प्रत्यक्ष निर्वाचित भएर जानुपर्छ र दलप्रति होइन, तर जनताप्रति जिम्मेवार र जवाफदेही हुनुपर्छ । विदेशमा रहेका सबै नेपाली नागरिकहरूले मतदान गर्न पाउने व्‍यवस्‍था गर्नु पर्दछ ।

हरेक संवैधानिक निकाय तथा सरकारी कार्यालयहरू व्यवहारमै राजनीतिक दवाव, प्रभाव, प्रलोभन र हस्तक्षेपबाट अलग गर्नुपर्छ । एउटा नागरिकले कुनै राजनीतिक दलको झोला नबोकी, कुनै दलाल र नेताहरूलाई नभेटी, भनसुन, चाकारी, चाप्लुसी नगरी, बिना घूस सहजै काम गर्न सक्ने वातावरण बनाउनुपर्छ । अनि देशलाई समानता, शान्ति, अमनचैन, सुशासन, रोजगारी, विकास र सम्मृद्धीको मार्गमा हिडाउनुपर्छ । यो लोकतन्त्रले नेताहरूमा प्रसिद्धि र जनताहरूमा सम्‍मृद्धि ल्‍याउने बनाउपर्छ । यसको लागि लोकतन्‍त्र ल्‍याउन योगदान दिने नेताहरूले ठूलो छाती बनाएर हामीले लोकतन्‍त्र ल्‍याएर व्‍यवस्‍था परिवर्तन गर्‌यौं, तर जनताहरूको अवस्‍था परिवर्तन गर्न हाम्रो क्षमताले भ्‍याएन भन्‍ने कुरालाई महशुस गरेर, देश र जनताको अवस्‍था बदल्‍न क्षमतावान्‌ युवाहरूलाई शासनसत्ताको बागडोर संम्‍हाल्‍न दिनुपर्छ । होइन भने, अब व्‍यवस्‍था बदल्‍न योगदान गर्ने पुरानो दलहरूलाई जनताहरूले धन्‍यवाद दिएर बिदा गर्दै, जनताहरूको अवस्‍था बदल्‍न देश र जनताको निम्‍ति काम गर्ने हुटहुटी भएका युवाहरूलाई काम गर्ने अवसर दिनु पर्दछ ।

जनताहरूले पनि चुनावको समयमा नेताहरूको गुलियो भाषण र एक चोक्‍टा मासु, एक मुठी चिउरा र एक चुस्‍की रक्‍सीमा सिंगो देश र आफ्नो भविष्‍य साट्‌न बन्‍द गर्नु पर्दछ । एउटा सामान्‍य चोरले हाम्रो गरगहना तथा पैसा मात्र चोर्न सक्‍छ, तर एउटा राजनीतिक चोरले हाम्रो रोजगारी, शिक्षा, स्‍वास्‍थ्‍या, विकास अनि हाम्रो सात पुस्‍ता सम्‍मको भविष्‍य  चोर्न सक्‍छ भन्‍ने विषयमा सबै जनताहरू सचेत हुनुपर्छ ।

यो देशमा केही हुन सक्‍दैन भनि निराश भएर विदेश पलायन हुनतिर होइन, तर यही नेपाली मातृभुमीमा सकारात्‍मक सोंचका साथ मुलुकमा रहेका बेतिथीहरूलाई चिर्न आफुसँग भएको क्षमतालाई प्रयोग गर्नु पर्दछ । राजनीतिक हिसाबले जनताहरूले नयाँ नयाँ विरूवाहरू उमार्ने, तर ठूलो रूखको छहारीमा बस्‍नुपर्छ भन्‍दै  विचार, विकास र सम्‍मृद्धिको हिसाबले बूढो भएर दाउरा भइसकेको ठुटोहरूले सम्‍मृद्धिको फल दिने आशामा पानीझैं मत खन्‍याउन बन्‍द गर्नु पर्दछ । अन्‍यथा, इतिहासकार टासिटसले भने जस्‍तै “मुलुक जति धेरै भ्रष्‍ट हुँदै जान्‍छ, देशमा नयाँ नयाँ कानुनहरू बन्‍दै जान्‍छन्‌” भन्‍ने भनाइ सत्‍य साबित हुन्‍छ । अनि जनताहरूको हकअधिकार, विकास, सम्‍मृद्धि र रोजगारी कागजका ठेलीहरूमा सीमित हुन्‍छन्‌ । अनि जनताको समस्‍या चाहिँ अनन्तकाल सम्म रहने छन् ।

लेखकलाई प्रतिक्रिया पठाउनका लागि [email protected]

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

4 COMMENTS

  1. देशमा हाल भइरहेको अवस्था यस्तै छ, सहिबिंस्लेशण हो

  2. वर्तमान अवस्था वास्तवमै लेखक ज्युले लेखेका सहि सत्य हाे। तर यसलाई बदल्ने कुरा मुख्य हाे याे लेखमा छैन। जानेर नै लेखक ज्युले यश बारे नलेख्नु भएकाे हाे कि अन्य केही छ?

  3. सामन्ति mind set बाट सामन्ति साेंच, ब्यवहार निश्रृत हुने हाे , यसमा दुई मत छैन् । लेखमा समुचित विम्वकाे प्रयाेग भएकाे छ । उनिहरूकाे पछिल्लाे तथा ब्यवहार जनघाती भएकाे कुराका शमयद दुईमत छैन् । तर मेराे के विषयमा विमती छ भने यस्ताे बिकृती, विसंगतिलाई परास्त गर्न सकिन्छ भन्ने आगामी कार्यदिशा पनि ृल्लेखअ भईदिएकाे भए सुनमा सुगन्ध हुने थियाे।

  4. नीतिमै पनि लोकतन्त्र छैन, विभेदयुक्त र व्यक्ति समूह विशेषलाई मात्रै फाइदा हुनेखालका ऐन कानुन परिपत्र जारी भैरहेका छन् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्