पेसाले डा. युवराज तेयुङ लिम्बु मेडिकल डाक्टर हुनुहुन्छ । तर उहाँ मेडिकल क्षेत्रका साथै लेखन क्षेत्रमा पनि सक्रिय रहनुभएका ऊर्जाशील व्यक्ति हुन् । त्यसरी आफ्नाे विषय वा आफ्नाे पेसाभन्दा एकदमै फरक क्षेत्रमा लागेर काम गर्ने मानिसहरु संसारमा कम मात्रै पाइन्छ । त्यस्तै दुर्लभ मानिसहरुकाे बिचमा राख्न सकिन्छ, ‘डाक्टर युवराज तेयुङ लिम्बु’लाई ।
उहाँले आफ्नाे लेखनलाई अगाडि बढाउने क्रममा नेपालका मूलधारका भनिने मिडिया, पत्रकार, इतिहासकार, बुद्धिजीवी, प्राध्यापक आदिले सुन्नै नचाहने, मनन् गर्नै नचाहने, मनै नपराउने विषय वा लामो समयदेखि नेपालको मूलधारबाट वञ्चितीकरणमा परेका जातजातिको पहिचान, समावेशीकरण, भाषिक विभेद, समानुपातिक समावेशिता, सांस्कृतिक विभेद, एकल जातीय अहंकारवाद, नस्लीय चिन्तन, राज्य पक्ष र राज्यमा पहुँच भएका पक्षबाट अर्को पक्षमाथि भएको अथवा हुने गरेको विभेद आदिका विषयलाई सशक्त ढंगले अगाडि बढाइरहनुभएको छ ।
त्यसको एक मात्रै कारण हुन सक्छ, डाक्टर युवराज तेयुङ लिम्बु स्वयम् राज्यद्वारा ऐन, कानुन, नीति, नियम, विनियम आदि बनाएरै विभेदमा पारिएका, उत्पीडनमा पारिएका नेपालका आदिवासी जनजाति मूलका हुनु । हो, त्यही कारणले पनि उहाँमा जातीय पहिचान, सांस्कृतिक चेतना, समावेशीकरण, समानुपातिक समावेशीकरण, समानता, आदिवासी जनजातिको हक अधिकार के हो ? किन आदिवासी जनजाति लगायत नेपालका उत्पीडित जातजाति, वर्ग, समुहका मानिसहरु सम्पूर्ण जनसंख्याको लगभग ७० प्रतिशत हुँदा पनि किन अल्पसंख्यक (लगभग ३० प्रतिशत आर्य-खस)हरुबाट शासित भएर बस्नु परिरहेको छ ? उनीहरुको हातमा शासन सत्ताको साचो हुनु त परै जाओस्, शासन सत्तामा आफूहरुले पाउनुपर्ने भाग समेत नपाइरहेको स्थिति कसरी निर्माण भयो भन्ने सम्बन्धमा धेरै राम्रोसँग ज्ञान रहेको छ ।
त्यसैले गर्दा डाक्टर लिम्बुले आफ्नाे र परिवारको आर्थिक स्थिति सुधार गर्ने र अरुको हेरेर एैयश आरामको जीवन जिउने दिशातिर नलागी लामो समयदेखि नेपालभित्र बसोवास गर्दै आएका आदिवासी जनजाति, मधेसी, दलित–शिल्पीलगायत उत्पीडित समुदाय, वर्ग र समूहका मानिसहरुका लागि योगदान गर्नेतर्फ लाग्नु भएको हो । हुन पनि यसो हेर्दाखेरि मेडिकल डाक्टर, त्यसमा पनि मेडिकल विषयका एक विज्ञले नेपाल र नेपाली समाजभित्र रहेका अत्यन्तै जटिल र जकडिएर रहेका विषय र समस्याका सम्बन्धमा चासो र चाख राख्दै कलम चलाउनु अवश्य नै चानचुने कुरो होइन । हुन पनि डाक्टर लिम्बुले आफ्नाे पेशा वा नियमित काम गर्दै लामो समय (वि.सं २०६०–०६१) देखि फुटकर रुपमा विभिन्न त्रैमासिक, द्धैमासिक, मासिक पत्रिका, विशेषाङ्क, दैनिक पत्रपत्रिकाहरु र अनलाइन न्युजपोर्टलहरुमा लेख-रचनाहरु लेख्दै, सिर्जना गर्दै आउनुभएको छ ।
त्यसैको फलस्वरुप डाक्टर लिम्बुले केही समयअघि ‘अस्तित्व पहिचान र संघीयता सन्दर्भमा’ नामक किताब, जुन किताबमा २९ वटा लेखहरुको संग्रह रहेको छ, सो संग्रह आम पाठकसामु ल्याउनुभएको छ ।
डाक्टर लिम्बुले सो किताबमा समग्र नेपालका उत्पीडित जातजाति, भाषाभाषी, दलित, मधेसी, महिला, पिछडिएको क्षेत्र, धार्मिक अल्पसंख्यक, सीमान्तकृत आदिको आवाजलाई बुलन्द ढंगले उठाउनुभएको छ । तापनि डाक्टर लिम्बुको २९ वटामध्ये अधिकांशले लेखहरुले नेपालका आदिवासी जनजातिहरुका विषय र मुद्दालाई सशक्त ढंगले बोलेको छ । त्यसैअनुसारको प्रतिनिधित्व राज्यको हरेक अंगमा हुनुपर्छ भनी लेख्नु भएको छ ।
त्यस क्रममा उहाँले एकलकाटे ढंगले आवाज नउठाएर, मनगढन्ते ढंगले फत्तुर मात्रै लगाएर नलेखेर हालसम्म राज्य सत्तामा भएका वा सहभागिता जनाएका जातजाति, भाषाभाषी, क्षेत्र, लिंग, वर्गको तथ्य, तथ्यांकसहित, उदाहरणसहित लेख्नुभएको छ । जहाँ राज्य वा राज्य पक्षद्वारा विभेद गरिएको विभेलमा परेका जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको तस्बीर तथ्य, तथ्यांक र दसी–प्रमाणहरु पनि प्रायः जसो सबै लेखहरुमा राखिएको छ ।
डाक्टर लिम्बुले लेख्नु भएको आफ्नाे किताब ‘अस्तित्व पहिचान र संघीयता सन्दर्भमा’ किताबको पाना नम्बर–१५१ मा ‘नेपालमा आदिवासी जनजातिको मौलिक पहिचानको सवालमा Top down कि Bottom up दृष्टिकोण ? शीर्षकको अर्को लेखमा डाक्टर लिम्बु लेख्नुहुन्छ,‘ सामाजिक द्वन्द्व, युद्ध आदि मावन सिर्जित घटनाहरु हुन्, जुन मानव नियन्त्रित घटनाहरु हुन् । सायद प्रकृतिको आफ्नै उत्कृष्ट नियमहरु छन्, जसले मानव सिर्जित पक्षहरु, सर्वोच्च कमान्डर, सर्वोच्च अदालत, परमादेश, नेता, धनी, गरिब, क्रान्ति, राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद आदि केही पनि बुझ्दैन ।
प्रकृतिको नियमलाई न कुनै सर्वोच्च अदालतको परमादेशले रोक्न सक्छ न कुनै शक्ति राष्ट्रको भिटोले नै रोक्न सक्छ । समाजमा प्रचलित नियम कानुनहरु आदि समाज, सरकार र राज्यद्वारा अर्थात् मानव निर्मित दस्तावेजहरु हुन्, यसमा वर्चश्वशाली र प्रभुत्वशाली समुदायको वा व्यक्तिको दृष्टिकोण, विश्वास र चाहनाको प्रभाव रहन्छ…भनी संसारमा प्रचलित विचार राख्ने दुई सिद्धान्त Top down र Bottom up का बारेमा नेपालका आदिवासी जनजातिहरुले Top down को सिद्धान्त रोज्ने कि Bottom up को सिद्धान्त रोज्ने ? सम्बन्धमा विभिन्न उदाहरणसहित चर्चा गर्नु भएको छ ।
उहाँले नेपालका आदिवासी जनजातिहरुले मौलिक पहिचानको सवालमा विभिन्न उदाहरणसहित लामो व्याख्या गर्दै नेपालका आदिवासी जनजातिहरुले Bottom up Approach को सिद्धान्त अपनाउनुपर्ने विचार राख्नु भएको छ । त्यसको ज्वलन्त र पछिल्लो उदाहरण चाहिँ थप ब्याख्या गर्दै डाक्टर लिम्बुले १ नम्बर प्रदेशको नामांकनलाई दिनु भएको छ ।
उहाँका अनुसार पहिले (अहिले कोशी नामांकन भइसकेको छ) प्रदेश नं. १ को नाम Top down Approach/Bottom up Approach बीचको अनिर्णित द्वन्द्वका कारण नाम रहन नसकी प्रदेश नं. १ नै रहन गएको हो, थियो ।
अन्त्यमा, नेपालका आदिवासी जनजाति, उत्पीडित जाति, भाषाभाषी, दलित, मधेसी, महिला, पिछडिएको क्षेत्र, धार्मिक अल्पसंख्यक, सीमान्तकृत समुदाय, वर्ग आदिको आवाजलाई बुलन्द ढंगले लेखिएको, सशक्त ढंगले विषय उठान गरिएको थोरै किताबमध्ये डाक्टर लिम्बुले लेख्नुभएको ‘अस्तित्व पहिचान र संघीयता सन्दर्भमा’ पनि पर्न सक्छ ।
त्यसैले हामी सबैले यो किताब पढ्नैपर्ने देखिन्छ । जसले गर्दा हाम्रो बौद्धिक खुराक, ज्ञान, प्रज्ञान, विवेक, सिकाइ, बुझाइ, चेतना, चैतन्यको स्तर बढ्छ ।
राम्रो समिक्षा । एउटा व्यक्तिको मुटुको उपचारसित तल्लिन डा. युवराज लिम्बुले मुलुकको संघीयता, जुन मुलुकको मुटु नै हो, सित गहन विचार-विमर्श आफ्नो पुस्तकमा गर्नु भएको छ। जुन अत्यन्त महत्वपूर्ण कार्य हो । मुलुक स्वस्थ्य भए न व्यक्तिको स्वास्थ्य स्वस्थ्य रहन्छ । त्यसकारण डा. लिम्बु कृतिका लागि बधाईका पात्र भए भने, कुलुङ जी पुस्तक पढेर समिक्षाका लागि धन्यवादका पात्र भए । दुवैजनालाई नोगेन रो !