११ महिना ४ दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेर सोमबार बिदा भएका जनता समाजवादी पार्टीका नेता अशोक राईले अबको जीवन लेखपढमै बिताउने बताएका छन् ।
चार वर्षपछि आफू उमेरले ७० वर्ष पुग्ने र त्यसपछि सक्रिय राजनीति नगर्ने उनको घोषणा छ ।
सोमबार अपरान्ह ४ बजे शिक्षा मन्त्रालयमा कर्मचारीहरुले आयोजना गरेको विदाइ कार्यक्रममा उनले चाडै आफ्ना सातवटा पुस्तक आउन लागेको खुलासा पनि गरे ।
जतिजतिखेर चुनावमा हारेकाे त्यतित्यतिखेर आफ्नाे एकेडेमिक स्डटीलाई अघि बढाएको स्मरण गर्दै उनले भने, ‘मैले जतिखेर चुनाव हारेँ, किताबहरु लेखेँ । अहिले मेरा सातवटा किताबहरु क्युमा छन् । केही सैद्धान्तिक, केही दार्शनिक, केही संस्मरणात्मक, केही यात्राविवरण र केही अनुसन्धानात्मक छन् ।’
शालीन, इमान्दार र बौद्धिक नेता मानिने उनले गत वर्षको निर्वाचन (प्रतिनिधिसभा निर्वाचन २०७९) मै आफू अन्तिमपटक उम्मेवार बनेकाे उद्घाेष गरेका थिए ।
सुनसरी–१ बाट उनी १७ हजार ५९ मत ल्याएर विजयी पनि भए ।
‘निराश भएपछि मान्छे कहिल्यै अगाडि बढ्दैन,’ उनले थपे, ‘मेरो मान्यतामा निराशा चाहिँ हाफ् डेथ अर्थात् जीवनको अर्धमृत अवस्था हो ।’
तर, एमाले-जसपा तालमेलकाे साझा उम्मेवार बनेका उनले टेलिभिजन प्रस्तोता रवि लामिछानेले भर्खरै गठन गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङसँग अप्रत्यासित सामना गर्नुपर्यो ।
अन्तिम मत परिणामको अन्तर ४५३ मात्रै भयाे ।
गत वर्ष चैत १७ गतेदेखि शिक्षा मन्त्रालयको जिम्मेवार सम्हालेका उनीसहित सरकारका सबै मन्त्रीहरु देशकाे कुरुप संसदीय राजनीति र सत्ता गठबन्धन खेलकाे परिणामले सोमबार एकसाथ सिंहदरबारबाट निस्किए ।
विदाइ कार्यक्रममा उनले भने, ‘५० वर्ष भयाे १५ वर्षदेखि झोला बोकेर हिँडेको, म राजनीतिमा त रहन्छु तर अब भागदौड गर्ने, चुनाव लड्ने, उचाल्ने, पछार्ने, तान्ने काममा लाग्दिनँ । लेख्छु, पढ्छु, बौद्धिक हिसाबले नेपालको पोलिटिक्समा इन्टरवेन गर्छु ।’
त्यस क्रममा उनले शक्ति स्थायी चिज नभएको प्रष्ट पारे ।
उनले भने, ‘जन्मिदै शक्तिशाली भएर जन्मिनेहरु पनि जान्छन् भने हामी त जनताका छोराछोरी हौ नि ! हामी सडकमै थियौं, जनताले विश्वास दिएर पो यो ठाउँमा पुर्याउनुभाे ।’
उनले शक्तिमा हुँदा फुर्किनुपर्ने र नहुँदा निराश हुनुपर्ने कुरै नरहेको बताए ।
विगतमा चुनाव हार्दा पनि आफू कहिल्यै निराश नभएको उनले सुनाए ।
‘निराश भएपछि मान्छे कहिल्यै अगाडि बढ्दैन,’ उनले थपे, ‘मेरो मान्यतामा निराशा चाहिँ हाफ् डेथ अर्थात् जीवनको अर्धमृत अवस्था हो ।’
राजनीति राष्ट्रको सेवा गर्ने माध्यम मात्रै भएको भन्दै उनले नेताहरुले विश्वास कमाउनुपर्ने र आफूले पनि विश्वास कमाउने कोसिस नै गरेको सुनाए ।
मन्त्रालयका सचिवसहित उच्च तहका कर्मचारीहरुको बिचमा उनले अन्य मन्त्रालयमा भन्दा शिक्षा मन्त्रालयमा बढी विकृति रहेको विषय पनि औल्याए ।
‘शिक्षा मन्त्रालयमा मेरा अलि फरक खालका अनुभवहरु छन् । त्यो के छ भने मैले अगाडि काम गरेकाे मन्त्रालयहरुमा भन्दा यहाँ अलिक बढी सिस्टम डेभलप भएको रहेछ,’ उनले भने, ‘र म यहाँ आएपछि सायद मैले कुनै कुरामा योगदान गर्न सके भने त्यो सिस्टम बसाउने कुरामै भयो होला ।’
शिक्षा मन्त्रालयमा आफूले सिस्टम बसाउनका लागि थुप्रै कार्यविधि, निर्देशिका र नियमावलीहरु निर्माण गर्ने माैका पाएकाे उनले बताए ।
उनले ५२ वर्ष पुरानो शिक्षा ऐनले काम गर्न नसकिरहेको र स्थानीय सरकारहरुले संविधानले दिएको शिक्षाकाे अधिकार भन्दै अलग अलग तरिकाले प्रयोग गर्न खोज्दा शिक्षा क्षेत्रमा झन्डै अराजकता नै उत्पन्न भइरहेको अवस्थामा विद्यालय शिक्षा विधेयक अघि बढाइएकाे पनि बताए ।
विद्यालय शिक्षा विधेयक चालु हिउँदे अधिवेशनबाट पास गरी बर्खे अधिवेशनमा राष्ट्रिय सभामा पेस गर्ने गरी काम होस् भन्ने आफ्नाे चाहना रहेको उनले सुनाए ।
सो क्रममा उनले अब शिक्षा मन्त्रालयकाे जिम्मेवारीमा आउने नयाँ मन्त्रीलाई आफूलाई भन्दा अझ बढी सहयोग पुर्याउन कर्मचारीहरुसँग आग्रह गरे ।