पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्केकाे बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाकाे बैठकपछि पत्रकारहरुसँग बाेल्दै उनले आफूमाथि कुनै पनि दाग नलागेकाे बताए ।
पछिल्लाे समय नेपालमा सरकारका मन्त्रीहरु कुनै न कुनै भ्रष्टाचार वा अनियमितताका विषयमा मुछिने गरेकाेमा मन्त्री किरातीले आफू बेदाग भएकाे दाबी गरेका हुन् ।
‘अहिलेको जटिल परिस्थितिमा अनुभवी मन्त्रीको आवश्यकता छ । यो जटिलतामा संकट मोचनका निम्ति ढुंगालाई पार लगाउनको निम्ति अनुभवी मन्त्रीको जरुरी छ,’ पत्रकारहरुसँग उनले भने, ‘प्रधानमन्त्रीले टिम मिलाउनु भएको छ । म भन्दा पनि अनुभवी हुनुहुन्छ उहाँहरु । मन्त्रालयबाट निस्किँदा म खुसीसाथ निस्किन पाएँ । किनकि, म बेदाग फर्किएँ । ममाथि दाग लागेन ।’
नेता किरातीले ४१३ दिन मन्त्री पदमा बसेर धेरै काम गरिएकाे र त्यसकाे परिणाम निस्कने बेला भएकाे पनि बताए ।