हाल देश–विदेशमा सिनेमा क्षेत्रमा चलचित्र ‘गाउँ आएको बाटो’को चर्चा चलिरहेकाे छ ।
हाल प्रदर्शनरत याे चलचित्र हेर्नेहरुले सामाजिक सञ्जालबाट आफ्नाे बुझाइ लेखिहाल्छन्, र उनीहरुले अरुलाई पनि हेर्न नछुटाउन अपिल गरिरहेका छन् । यस हिसाबले पनि यो हरेकले हेर्नुपर्ने सिनेमा हो ।
यस सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले फेसबुकमा चलचित्रबारे धारणा राखेका छन् ।
उनले चार-पाँच दशक अघि नै युनेस्काेले संस्कृतिमैत्री दिगो विकासको विषय अघि बढाए पनि नेपालकाे अहिलेकाे ‘डोजरे विकास’ले स्थानीय समुदायको संस्कृतिलाई विस्थापन गरेको पाटो नहेरिएको औंल्याएका छन् ।
चलचित्रबारे कुलपति राईको भनाइ यस्तो छः
‘गाउँ आएको बाटो’ चलचित्र हेर्ने समय बडो मुस्किलले जुर्यो- भनुँ । चलचित्रमा जोडिएको एक गीतकारको हैसियतले पनि नहेरी नहुने दवाव थियो मसँग – सो बल्ल तल्ल जुर्न पुग्यो ।
चलचित्रले भनिरहेको कथ्यमा केही इथिक्सका जब्बर कुराहरु छन्, जुन सामान्य दृष्टिमा नबुझ्न सकिन्छ । बिना कुनै प्रश्न, बिना उत्तर केवल बिम्वमा या दृश्यभाषामा बोलिएको कथ्य बुझ्न अलिक फरक दृष्टि आवस्यक पर्छ ।
त्यहाँ दृश्यित समाजको इथिक्स, पुँजिवादी बजारको इथिक्स, राज्य व्यवस्था र अर्थ राजनीति आदि आदि बोलिने भाषा भन्दा पर गएर खोज्नु पर्छ र गजबको कुरा त यो छ कि यी सब कुरा एउटा पनि प्रश्न चिन्ह प्रयोग नगरी दर्जनौं प्रश्न खडा गर्न सफल छ चलचित्र । यो नै गाउँ आएको बाटोको कथा वाचन गर्ने खास शैली हो । र, यो नै चलचित्रको पहिलो सफलता हो ।
किरात राई जातिको परम्परागत शिल्प, ज्ञान प्रणाली र विश्वास पद्दतिको धागोमा उनेर निर्माण गरिएको यसले नेपाली चलचित्र निर्माणको पुरानो मानक त भत्क्याएको छ नै साथसाथै नेपाल भन्ने देशको काल्पनिकीलाई पनि उत्खनन् गरेको छ । नेपाल भन्ने देशको जुन काल्पनिकी छ, त्यसको आधार सर्त के हो ? सीमाना ? भूगोल ? राष्ट्रिय चिन्ह ? या राष्ट्र (जनता) ? यस बिषयमा चलचित्रले कुनै प्रश्न चिन्ह बिना नै प्रश्न गरेको छ । र, कुनै शब्द बिना नै उत्तर दिएको छ ।
दोस्रो, वर्तमान समयमा देखा परिरहेको बिकासे प्रहेलिका नै चलचित्रको खास बिषय हो । आज भन्दा ४०/५० वर्ष अगाडि नै युनेस्कोले ‘विकासको पहिलो पिलर संस्कृति हो’ भनेर भनिसकेको छ । अर्थात संस्कृतिमैत्री विकास मात्रै दिगो र चिर-स्थायी हुन्छ भन्ने हो ।
हामीकहाँ बिकासे डोजरको बारेमा प्रशस्त चर्चा-परिचर्चा भए पनि त्यसले गर्ने प्रतिस्थापन र बिस्थापनको पाटो पुरै अछुतो छ । एक पक्षीय बिकासे बाटोको अन्धानुकरणले रैथाने सिप, ज्ञान, परम्परा र राई माइलाको बिस्थापन हुन पुगेको हो भन्ने बिषयमा चिन्तन गर्न ढिलो भैसकेको छ ।
यसै बिषयमाथि बडो सुक्ष्म र मिहिन ढङ्गले संवाद गरेको छ चलचित्रले । र, नेपाली चलचित्र जगतमा यो पहिलोचोटि भएको छ ।
निर्देशक नविन सुब्बाको बारेमा धेरै बोल्नै पर्दैन । उनी नेपाली चलचित्र क्षेत्रका एक ट्रेन्डसेटर हुन् । दयाहाङ र पशुपति राईले चरित्र निर्माण र चरित्र आत्मासातिकरणमा अतिरिक्त श्रम गरेको प्रष्टै छ ।
अचम्म त यो छ कि चलचित्र जगत भन्दा नितान्त पर एक कोरा र कच्चा पात्र बालक बिन्द्रे (प्रसन) मा जुन कोटीको पर्फर्मेन्स देखिन्छ, त्यसले दर्शकलाई आत्ममुघ्ध बनाउँछ । उभित्र लुकेर रहेको अभिनय कला र प्रतिभालाई उत्खनन् गर्ने क्षमता एक निर्देशकको हैसियतमा नविन सुब्बामा नै रहेछ भन्ने कुरा पनि प्रष्ट हुन्छ । यस्तो मौलिक कथाका लेखक महेश राई बधाइका पात्र छन् ।
चलचित्रको अन्तिममा गुन्जिने ‘आलाङ्ने ! आलाङ्ने !’ गीतको बारेमा बच्चु हिमाङ्सुले सामाजिक सन्जालमा गरेको व्याख्याले नेपाली चलचित्र निर्माण पद्दतिको अर्को ढोका ढकढक्याएको छ भन्ने बुझ्नु पर्छ ।
अन्त्यमा, किरात राई जातिको सांस्कृतिक धागोमा उनिएको यो साझा र सार्विक कथ्यको माला हो । त्यसैले यो राईहरुको मात्र कथा हैन । एउटा सार्विक कथा भन्नलाई किरात राईहरुको सांस्कृतिक टुल्सलाई माध्यमको रुपमा प्रयोग गरिएको मात्र हो । यो विकासको भाष्यले थिलथिलो पारेको विश्वजनिन कथा हो ।