नेपालमा जलवायु परिवर्तनको प्रभावका कारण कृषि उत्पादन घट्न थालेको एक अध्ययनले देखाएको छ ।
‘दक्षिण एसियाको विविध सामाजिक–सांस्कृतिक र भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारको अनुकुलन क्षमताको मूल्याङ्कन’ शीर्षकमा त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागका प्रा.डा. प्रेमसागर चापागाईंको नेतृत्वमा नेपाल, भारत, चीन र बंगलादेशका अनुसन्धाकर्ताहरुले गरेको अनुसन्धानले जलवायु परिवर्तनको प्रभावका कारण कृषि उत्पादन घटेको देखाएको हो ।
उक्त अनुसन्धान समुद्री सहतको १७० मिटरदेखि २ हजार मिटरसम्मको उचाइमा नेपालको पाँच जिल्ला रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्कीमा गरिएको थियो ।
जसमा हिमालदेखि तराईसम्मको प्रतिनिधित्व गराएर जम्मा २११ घरधुरीमा सर्वेक्षण गरिएको थियो ।
तीन वर्ष लगाएर गरिएको अनुसन्धानको प्रतिवेदन बुधबार त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, बल्खु काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
प्रतिवेदनमा भनिएको छ, ‘बढ्दो खडेरी र मनसुनको ढिलाइको कारण बाली लगाउने समय पछाडि सर्दै जाँदा बीउ छर्ने, उम्रिने, फुल्ने र फल लाग्ने प्रक्रियामा असर परेको छ र उत्पादकत्व घटेको छ ।’
जलवायु परिवर्तनले तापक्रममा परिवर्तन, वर्षाको ढाँचामा परिवर्तन र खडेरी, बाढीपहिरो जस्ता विषम मौसमी घटनाहरुको बढ्दो आवृत्तिले कृषि उत्पादकत्वमा असर गरिरहेको प्रतिवेदनले औल्याएको छ ।
जलवायु परिवर्तनको प्रभावले बाली, पशुपालन र माछापालनमा १० देखि ३० प्रतिशतसम्म क्षति हुन सक्ने देखाएको छ ।
बालीनालीमा रोग तथा किराहरुको वृद्धि भएको, नदीहरुमा माछाको विधिता र उत्पादनमा कमी आएको, तापक्रम वृद्धिले हिमाली भेगको चरण क्षेत्रमा घासपात उत्पादनमा कमी हुनुका साथै चौरी तथा हिमाली बाख्रा भेडा तथा पहाड र तराईमा पनि गाईवस्तुहरुमा विभिन्न रोग देखा पर्न थालेको प्रतिवेदनमा उल्लेख छ ।
जलवायु परिवर्तनको प्रभावका कारण कृषिमा ९० प्रतिशत भन्दा बढी घरपरिवारको उत्पादकत्वमा कमी आएको छ ।
हिमालमा ३० देखि ४० प्रतिशत, पहाडमा २५ प्रतिशत र तराईमा १५ प्रतिशतले कृषि उत्पादन घटेको छ ।
हिमाली क्षेत्रको प्रमुख बालीहरु गहुँ, जौ र आलु हुन् भने पहाडी क्षेत्रको मकै, कोदो, धान र तराईको धान, मकै, तोरी र तरकारी हुन् ।
जलवायु परिवर्तनले वैदेशिक रोजगारीमा जाने बढे !
जलवायु परिवर्तनकाे प्रभावले नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढेको प्रतिवेदनमा उल्लेख छ ।
जलवायु परिवर्तनले कृषि उत्पादन घटेको, लागत मूल्य भने बढेको, बालीनालीमा रोग तथा किराहरुको संक्रमण बढेको र बेमौसमी अधिक वर्षा, हावाहुरी, र असिनाले बालीनालीमा क्षति पुर्याउन थालेकोले किसानहरु कृषि कर्म छोड्दै वैदेशिक रोजगारीमा धकेलिन थालेको अनुसन्धानले देखाएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘अप्रत्यक्ष रुपमा जलवायु परिवर्तनले किसानलाई कृषि छोडेर श्रमिकको रुपमा वैदेशिक रोजगारीतर्फ धकेलिरहेको छ । जसका कारण जमिन बाझिदै जाने क्रम बढ्दै गएको र यसबाट खाद्य सुरक्षामा असन्तुलन भई लामो समयसम्म नकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ ।’
पछिल्लो समय नेपालबाट दैनिक करिब दुई हजार युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
यता, खेतीयोग्य जमिन तीव्र रुपमा जंगल तथा झाडीमा परिणत हुँदै गएको छ ।
झाडी तथा जंगल बढ्दा हिमाली र पहाडी क्षेत्र बाँदर, दुम्सी, बँदेल, मृग, खरायो आदिको राम्रो बासस्थान बन्दैछ ।
जंगली जनावरहरु वृद्धि हुँदा किसानको बालीनाली खाइदिनाले व्यापक क्षति हुन थालेको छ ।
तापक्रम बढ्दैछ, भविष्य झनै चुनौतीपूर्ण
प्रतिवेदनमा भौगोलिक क्षेत्र अनुसार फरक फरक तरिकाले तापक्रम बढिरहेको उल्लेख गरिएकाे छ ।
सन् १९९० देखि २०२० को अवधिमा तराईमा वार्षिक ०.००४२ डिग्री सेन्टिग्रेड, पहाडमा वार्षिक ०.०९२१ डिग्री सेन्टिग्रेड र हिमालमा वार्षिक ०.०२५४ डिग्री सेन्टिग्रेडको दरमा तापक्रम वृद्धि भइरहेको छ ।
एवं रितमा सन् २०५० सम्ममा ४ देखि ५ डिग्री सेन्टिग्रेड तापक्रम बढ्ने प्रक्षेपण गरिएको छ ।
यसैगरी वार्षिक वर्षा भने हिमालमा १३.१२ मिलिमिटर, पहाडमा ९.३९ मिलिमिटर र तराईमा ५.०२ मिलिमिटरले घटिरहेको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘अध्ययन क्षेत्रका किसानहरुले तापक्रम बढ्दै गएको, गर्मीका दिन र जाडोका दिनको संख्या बढ्दै गएको, सुख्खा खडेरी बढेको, र वर्षाको आवृत्ति, ढाँचा र मात्रामा भिन्नता अनुभव गरेका छन् ।’
जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदै जाँदा त्यसले भविष्यमा झनै चुनौती थप्ने विज्ञहरुको भनाइ छ ।
जलवायु परिवर्तनको कारक तत्व मानिने हरितगृह ग्यासको उत्पादन घटाउने लगायत जलवायु परिवर्तनका नकारात्मक असरहरुलाई कम गर्न सरकारले विभिन्न नीति तथा कार्यक्रमहरु ल्याए पनि कार्यान्वयन पक्ष कमजोर रहेको प्रतिवेदनले औल्याएको छ ।
कार्यक्रममा प्रा.डा. प्रेमसागर चापागाईंले अनुसन्धानकाे प्रतिवेदन प्रस्तुत गरेका थिए भने त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल, त्रिवि भूगोल केन्द्रीय विभागका प्रमुख प्रा.डा. उमेश मण्डल, अनुसन्धानमा संलग्न चीनकाे युनिभर्सिटीका अनुसन्धानकर्ताहरु लगायत उपस्थित थिए ।