शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले किरातीहरु पनि हिन्दू नै भएको बताएका छन् ।
किरात राई चाम्लिङ खाम्बातिमले हिजो (वैशाख ३ गते) काठमाडौंमा आयोजना गरेको ‘मुन्दुमः रिलुङ’ र ‘खुवालुङ’ पुस्तक विमर्श कार्यक्रममा उनले किराती र हिन्दु एकै भएको बताएका हुन् ।
किरातीहरुले आफ्नाे पुर्खा र आफूहरुलाई प्रकृतिपुजक मातृप्रधान नास्तिक हौं भाग्यवादी होइनौं भने पनि उनीहरु पितृसत्तात्मक र लैंगिक हिसाबले विभेदकारी नै भएको कोइरालाले जिकिर गरे ।
‘रिसियाको अनुवाद गर्दा अन्त्यन्त भौतिक आँखाले मात्रै हेरिदिनुभो, त्यसमा मलाई पीडा भयो । किनभने किराती पुर्खा भौतिक मात्र थिएनन्, प्राकृतिक मात्र थिएनन्,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको संकलन तथा सम्पादनमा खाम्बातिमले प्रकाशित गरेको ‘मुन्दुमः रिलुङ’ पुस्तकबारे आलोचनात्मक टिप्पणी गर्दै कोइरालाले भने, ‘भौतिकवादी हौं, नास्तिक हौं, मातृप्रधान हौं, भाग्यवादी होइनौं, पितृसत्तात्मक कुरा हामीले मानेका छैनौं भनेर जुन किसिमको कुरा लेख्नुभो, मलाई पीडा बोध भयो । पाछाको चिन्तन गर्ने बित्तिकै हजुरहरु पितृसत्तात्मक नै हो, नाइ भन्नुपर्ने केही कुराकानी छैन ।’
लैंगिक समानताको दृष्टिकोणबाट पनि किराती समाजमा विभेद रहेको उनले बताए ।
उनले भने, ‘लैंगिक समानताको आँखाबाट के हो किरातहरु ? साच्चै समान हो ? समान हो भन्ने कुराे झुट हो भन्ने कसरी देखिन्छ भने रक्सी खाने बेलामा लोग्ने मान्छे हुँदो रहेछ, रक्सी हाल्ने स्वास्नी मान्छे हुँदो रहेछ । यो ठीक हो ? हामीले न्याय गर्यौ ?’
उनले मान्छे मरेको बेला नछुङले गाउने रिसिया (श्लोक) हिन्दुहरुसँगै जोडिने दाबी गरे ।
‘मान्छे मर्दा गीत गाउने चलन हेरेँ रिसियाको । आकाश फुट्छ, धरती चिरिन्छ, ढुंगा पग्लिन्छ भनेको कुराकानी पञ्चतत्वसँग जोड्न मिल्छ कि मिल्दैन ? विचार गरौ न,’ उनले भने, ‘हामी त पञ्चतत्वमा पाँच चिज आकाश छ, पृथ्वी छ, जल छ, वायु छ, अग्नि छ भन्छौं । यी पाँचवटा चिजसँग जोडिएको कुराकानीसँग हाम्रा पुर्खाले भनेका रिसियासँग जोडौ त एकचोटि ।’
उनले हिन्दु पुर्खाले भनेको महाजाल र महादेवका कुरा रिसियामा पनि उल्लेख भएको बताए ।
सो क्रममा उनले किराती पुर्खा महान भए पनि रिसियालाई नेपालीमा अनुवाद गरिएको मुन्दुममा उनलाई कार्ल मार्क्सले उद्योगमा मजदुर गरेर जीविका चलाउने श्रमिकलाई दिएको शब्द ‘सर्वहारा’ प्रयोग गरिएकोमा दुःख व्यक्त गरे ।
‘मुन्दुममा जुन दिनदुखीको कुरोकानी छ । तिनले के भनेको हो भने मेरो पुर्खाको निम्ति म खास केही जान्दिनँ, मेरो केही छैन भन्ने किसिमको आशय मैले बुझेँ । त्यसलाई सर्वहारा भन्ने शब्द प्रयोग भएको छ, मलाई बडा पीर लाग्यो । किनभने सर्वहारा भनेको मार्क्सको विचरा बुद्धि हो । मैले विचरा बुद्धि किन भनेँ भने मार्क्सले उद्योगमा काम गर्ने श्रमिकलाई दिएको शब्द हामीले हाम्रा पुर्खाको सम्मान गर्दा आफूलाई दिनदुखी छौं भनेर व्यक्त गरेको शब्द त्यहाँभित्र कम्पन छ,’ कोइरालाले भने, ‘सायद साथीहरु जसले रिसिया अनुवाद गर्नुभो, उहाँहरुको मार्क्सको बुझाइप्रतिको परिणतिले हाम्रो पुर्खालाई गरेको अन्याय हो कि ।’
सो क्रममा उनले किरातीहरु पनि आदिवासी नभएर आप्रवासी नै भएको र उनीहरु काशीबाटै आएको पनि बताए ।
बाँकी भिडियोमाः
पाछाको उत्पत्ति कसरि भयो यो मानिस लाई थाहै छैन ,अनि पितृ सता को कुरा गर्छ !