Thursday, August 11, 2022
23.3 C
Diktel

डा. बाबुराम भट्टराई पहिचानविराेधी नै हुन्

कार्यशैलीमा बिरोधाभाष

जुद्ध ढाक्रे

डा. बाबुराम भट्टराई फेल्यर लिडरशिप हाे । भट्टराई समूहले जसपा नेपाल फुटाउ अभियान सञ्चालन गर्नलाई हस्ताक्षर अभियान सञ्चालन गर्दै आएको कुरा सामाजिक सन्जाल र छास्सछुस्स समाचारहरुमा आउन थालेकाे छ । तर, भट्टराई असफल राजनीतिज्ञ हुन् भन्ने कुरा खासै प्रमाणित गर्न आवश्यकता पर्दैन ।

उनले ठुलाे तामझाम गरेर नयाँ शक्ति नामकाे राजनीतिक दल दशरथ रंगशालामा भाडाका मान्छेहरुलाई ल्याएर घोषणा गरे । तर पार्टी चलाउन सकेनन् । उनी त्यत्राे हुंकार भएको माओवादी पार्टी त्यागेर आउदा केही केन्द्रीय सदस्यहरु आफ्ना श्रीमतीलगायत औंलामा गन्न सकिने बाहेक साथमा ल्याउन सकेनन् । केही जना आएकाहरु पनि केही समयपछि नै माओवादीमा फर्केका थिए ।

उनले माओवादी किन त्यागेर नयाँ शक्ति बनाउनुपर्यो भन्ने कुरा पनि प्रमाणित गर्न सकेका थिएनन् । यसै क्रममा संघीय समाजवादी फोरम नेपालसँग एकता भयो । एकतापछि समायोजन कार्यक्रम भयो । समायोजनमा पदको बार्गेनिङ गर्नु भन्दा अरु कुरा केही गरेनन् उनकाे समूहले । उनीहरुको भूगोलमा संगठन नामको केही चिज थिएन । उनकाे समूहका सदस्यहरुले के मात्रै बुझेका थिए भने डाक्टरको पछि लागेपछि मन्त्री भैहालिन्छ भन्ने ठानेका थिए ।

उनले माओवादी किन त्यागेर नयाँ शक्ति बनाउनुपर्यो भन्ने कुरा पनि प्रमाणित गर्न सकेका थिएनन् ।

अहिले पनि औंलामा गन्न सकिने सदस्यहरुले मात्रै जसपा नेपालको विधान, नीति र कार्यक्रम बुझेका छन् । उनीहरुले सजिलै बुझ्ने भनेकाे पार्टीको पद र राजकीय पद मात्रै हो, पार्टीकाे संगठन होइन ।

भट्टराई आफै पनि उनको भाषणमा बोल्ने गर्दछन् । ७० बर्ष उमेर पुगेका सबैले सक्रिय राजनीति छाडौ भनेर आव्हान गर्छन् । यसको अर्थ अब म नेतृत्व गर्न सक्षम छैन भनेर स्वीकार गरेको नै ठहरिन्छ । तर, बिरोधाभाष के छ भने आफ्नाे समूहका सदस्यहरुलाई ४० प्रतिशत पुर्याउन खटाइरहने । यो बिरोधाभाषपूर्ण क्रियाकलाप हो । यसले पार्टीको हित गर्दैन । यो उनले दोस्राेपटक हो पार्टी फुटाउने अभियान चालेको । तर, यसपटक पनि सफल हुने देखिदैन ।

उनले छद्मभेषमा कार्यकारी अध्यक्षकाे अपेक्षा लिएको देखिन्छ । लिडरशिप फेल्यर व्यक्तिले यो अपेक्षा राख्न पार्टीको हितमा हुँदैन । उनी प्रधानमन्त्री भएर परिक्षण भई असफल भएका व्यक्ति हुन् । अझ उनी पहिचानबिरोधी हुन् । किनभने पहिलो संविधानसभा जसमा पहिचानको पक्षमा संविधान निर्माण गर्न आदिवासी/जनजाति, मधेसी, थारु र मुस्लिमको दुई तिहाइ भन्दा बढी सदस्य संख्या रहेको संविधानसभा बिनाकारण भंग गरेर उनले बहालवाला तत्कालीन प्रधानन्यायाधीशको अध्यक्षतामा मन्त्रीमण्डल गठन गर्ने वातावरण सिर्जना गरे । जुन आदिवासी, मधेसी, थारु र शिल्पी समुदायको पूर्णरुपमा बिरोधी कार्य थियो । त्यसैले भट्टराईले भाषणमा जेसुकै बोलेको भए पनि भित्री रुपमा उनको कार्य पहिचानविराेधी छ र पदलोलुप्तावादी छ । यो कुरा पहिचानबादीहरुले समयमै बुझेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकाे छ ।

जसपा नेपाल पहिचानको निम्ति स्थापन भएको पार्टी हो । यसमा मधेस आन्दोलनका पटक-पटककाे सहिदहरुको रगतले सिन्चिएको छ । यसमा आदीवासी/जनजाति, थारुवान, शिल्पी र खस आन्दोलनकाे संगमले बाँधिएकाे छ । यसलाई फुलाउने र फलाउने काम पहिचानका सिपाहीहरुकै हो ।

जसपाले भर्खरै स्थानीय तहकाे निर्वाचन फेस गरेको छ । पूराना दलसँग गठबन्धन गरे पनि गठबन्धनसँगकाे अपेक्षाकृत राम्रो परिणाम नभए पनि सिंगै जसपाको परिणाम हेर्दा राम्रो वा सुधारउन्मूख नै देखिन्छ । मधेसबाट उक्लिएर पहाड हुँदै हिमालतिर संगठन सुधार हुँदै गएको छ ।

गठबन्धनकाे सहयोगबिनै ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा पालिका प्रमुख र तीनवटा वडा प्यानलै र चिशंखुगढी गाउँपालिकाममा केही वडा सदस्यहरु निर्वाचित गराउन सकेको छ । त्यसैले जसपाका इमानदार सिपाहीहरुले पार्टीको पक्षमा काम गरेर अघि बढ्नुपर्छ । जयमातृभूमि ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्