नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार पत्रकारले पाउने भएका छन् ।
फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको पुरस्कार छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौंका अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरका अप्सरा समाललाई प्रदान गरिने छ ।
त्यस्तै यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरिने भएको छ । बुङ्वाखाले बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुर्याउँदै आएको छ ।
पुरस्कार र सम्मान फोनिजको २३औँ स्थापना दिवसका अवसरमा २०७९ साउन २७ गते काठमाडौँमा आयोजना गरिने मूल समारोहमा प्रदान गरिने छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७९’ र ‘फोनिज मातृभाषा सम्मान–२०७९’ प्राप्त गर्नुहुने व्यक्ति तथा संस्थाको पेशागत तथा संस्थागत विवरण ।
१. गोपाल देवाल, सुनसरी
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)
सुनसरी कर्मथलो बनाएर २०४२ सालबाट साहित्यिक पत्रिका ‘काँचुली’बाट पत्रकारिता सुरु गर्नुभएका गोपाल देवानले पत्रकारितामा तीन दशक बढी समय व्यतित गरिसक्नुभएको छ । हाल उहाँ ‘विश्वस्त सूत्र साप्ताहिक’को सम्पादक तथा प्रकाशक हुनुहुन्छ । दृष्टि साप्ताहिकलगायत दर्जनभन्दा धेरै सञ्चारमाध्यममा काम गरेको अनुभव देवानसँग छ । उहाँले धरानको ब्लाष्ट टाइम्स दैनिकका संस्थापक सम्पादक भएर समेत काम गरिसक्नुभएको छ । साहित्यमा ‘अविराम क्रान्ति’ नामले परिचित उहाँ ‘आरम्भ नाट्य डबली’को अध्यक्षसमेत हुनुहुन्छ ।
२. अनिता गुरुङ, काठमाडौँ
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)
हाइलाइट्स टुरिजम डटकमको कार्यकारी सम्पादक अनिता गुरुङले २०५६ सालमा ‘रेडियो सगरमाथा’बाट पत्रकारिता सुरु गर्नुभएको हो । सगरमाथा टेलिभिजनमा करिब १० वर्ष नेतृत्वदायी भूमिकामा काम गर्नुभएका उहाँ लामो समयदेखि गोरखापत्र दैनिकको गुरुङ भाषा पृष्ठ संयोजकका रूपमा कार्यरत हुनुहुन्छ । फोनिजका निवर्तमान सल्लाहकार गुरुङले रेडियो नेपालमा मिडियाविज्ञ भएर काम गर्नुभएको छ । पत्रकारिता क्षेत्रमा बहुआयामिक छवि बनाउनुभएका अनिता गुरुङले सञ्चारजन्य विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ ।
३. राजु चौधरी, चितवन
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)
चितवनलाई आधार बनाएर पत्रकारितामा क्रियाशील राजु चौधरीले २०६७ सालमा कायाकैरन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको हो । २०७२ सालसम्म कायाकैरनमा काम गर्नुभयो । अभियान टेलिभिजन, रेडियो अर्पण, नमस्ते टेलिभिजन र रेडियो ध्रुवतारामा समेत उहाँले काम गरिसक्नुभएको छ । २०७० देखि २०७५ सालसम्म चितवनबाट इमेज टेलिभिजनमा आवद्ध भएर काम गर्नुभयो । हाल कान्तिपुर टेलिभिजनको चितवन संवाददाताका रूपमा काम गरिरहनुभएको छ । उहाँ फोनिजको निवर्तमान संघीय सदस्यसमेत हुनुहुन्छ ।
४. अप्सरा समाल, उदयपुर
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९)
अप्सरा समाल उदयपुरमा रहेर लामो समयदेखि रेडियो पत्रकारित गरिरहनुभएको छ । समालसँग सामुदायिक रेडियो उदयपुरमा पाँच वर्ष कार्यक्रम संयोजक तथा समाचार प्रमुखका रुपमा काम गरेको अनुभव छ । उहाँले सोही रेडियोमा चार वर्ष स्टेशन मेनेजर भएर कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ । फोनिज उदयपुरको अध्यक्ष हुँदै हाल प्रदेश १ को उपाध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न पत्रकारजन्य संस्थामा समेत आबद्ध हुनुहुन्छ ।
५. बुङ्वाखा मासिक
(फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७९)
बुङ्वाखा बान्तावा राई भाषामा प्रकाशन भइरहेको मासिक पत्रिका हो । २०६१ मङ्सिर २४ गते स्थापना भई पुसदेखि निरन्तर प्रकाशनकामा रहेको बुङ्वाखाको हालसम्म २०८ पूर्णाङ्क प्रकाशित भइसकेको छ । बुङ्वाखामार्फत बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुगेको छ । मातृभाषा पत्रकारितामा उल्लेख्य योगदान गरेवापत ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार–२०७० प्राप्त गरिसकेको बुङ्वाखा प्रेस काउन्सिल नेपालको वर्गीकरणमा १० वर्षदेखि नियमितरूपमा ‘क’ वर्गमा रहँदै आएको छ ।