काठमाडाैं । नेत्र राेग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनकाे प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् ।

मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा राजाका प्रतिनिधिको रुपमा उपस्थित राजपरिवारका सदस्य शेख मोहमद बिन मुबारक अल खालिफाले डा. रुइतले अन्धोपन निवारणका लागि गरेको मानवकल्याणका लागि उनलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिएका हुन् ।

डा. रुइतलाई १० लाख डलर (नेरु १३ कराेडभन्दा बढी) गोल्ड मेडल र प्रमाणपत्र आगामी फेब्रुअरी महिनामा प्रदान गरिने छ ।

मंगलबार डा. रुइतका नाममा घोषणा भएको इसा अवार्ड अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबभन्दा ठूलो अन्तर्राष्ट्रिय अवार्ड मानिएकाे छ ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

१४५ जना मध्येबाट वैज्ञानिक, प्राध्यापक, पूर्वराजनीतिज्ञ लगायतका प्रतिष्ठित व्यक्तिहरुको छनोट समूहले डा. रुइतलाई पुरस्कारका लागि छनोट गरेकाे हाे ।