आज हिन्दु धर्मावलम्बीहरुको ‘कुशे औंसी’ । यहीँ दिनलाई ‘बुबाको मुख हेर्ने दिन’को रुपमा पनि मनाइन्छ ।
कुशे औंसी र बाउकाे मुख हेर्ने दिन शब्दको अर्थ र सम्बन्धबारे धेरै चर्चा नगरौं । किनकि, बाउको मुख हर्ने दिन पनि एउटा हिन्दु चाडको रुपमा स्थापित भइसकेको छ ।
कुशे औंसीको मात्रै कुरा गर्ने हो भने यो कुशसँग सम्बन्धित छ । कुशे औंसीमा हिन्दुहरुले वर्षभरि देवकार्य गर्न घरघरमा कुश भित्राउने गर्छन् ।
ब्राम्हण (बाहुन) ले ल्याएको कुश घरमा राख्नाले परिवारको कल्याण हुन्छ र उक्त कुश वर्षभरि नै प्रयोग गर्न सकिन्छ भन्ने छ ।
बाउको मुख हेर्ने दिनको प्रसंग चाहिँ कुशसँग जोडिएको देखिँदैन । तर, माथि नै उल्लेख गरियो कि यो एउटा हिन्दु चाडको रुपमा स्थापित भइसकेको छ ।
कुशे औसी अर्थात् बाउकाे मुख हेर्ने दिनलाई यहाँ आदिवासीहरुको जारी पहिचानको आन्दोलनसँग जोड्न खोजिएको छ ।
नेपालका आदिवासी अगुवाहरुले आफूहरुलाई हिन्दुहरु भन्दा अलग जाति वा समुदाय भन्ने गरेका छन् ।
आदिवासीहरु हिन्दु होइनन् भन्ने उहाँहरुको तर्क छ । र, नेपालका आदिवासीहरुमाथि हिन्दु धर्म–संस्कृति र त्यहीँ समुदायका सम्भ्रान्त वर्ग र शासकहरुले अतिक्रमण गरेको उहाँहरुको भनाइ रहने गर्छ ।
आन्दोलनका सडकमा उहाँहरुले यस्तै सांस्कृतिक अतिक्रमणकारी प्रवृत्तिको विरुद्धमा नारा लगाउनुहुन्छ । तर, व्यवहारमा उहाँहरु हिन्दु धर्म, संस्कृतिकाे अनुयायी जस्तो देखिनु हुन्छ ।
कुशे औंसी वा बाउकाे मुख हेर्ने दिनलाई आज खास हिन्दुहरुले मात्रै मनाइरहनुभएको छैन । जसले आफूहरुलाई आदिवासी जनजाति भनिरहनुभएको छ, उहाँहरुले पनि यो चाड सहर्ष मनाइरहेको देखिन्छ ।
सामाजिक सञ्जालमा उहाँहरुले पनि आजकै दिनलाई आफ्नाे बाबुलाई सम्झिने, बुबाको फोटो राख्ने र सेयर गर्ने काम गरिरहनुभएकाे छ ।
पहिचानको आन्दोलनमा चिन्तन गर्नेहरुका लागि यो विरोधाभास लाग्छ ।
कुशे औंसी मात्र नभएर जनैपूर्णिमा होस् वा दसैं–तिहार, मूलभूत रुपमा हिन्दु चाडको रुपमा स्थापित भइसकेको चाडहरु मनाउन उहाँहरु पछि पर्नुहुन्न ।
आदिवासीहरुको सन्दर्भमा दसैं र तिहारबारे भिन्न नयाँ ऐतिहासिक कोणबाट पनि बहस भएको देखिन्छ । निधारमा चामलकाे टीका जमरा लाउने दसैं हिन्दु चाड होइन भन्ने तर्क पनि आइरहेकै छ ।
तर, नेपालको सन्दर्भमा यो एउटा हिन्दु चाडको रुपमा स्थापित भइसकेको छ । र, यसलाई आम रुपमा ब्राम्हण पण्डिहरुले तय गरेकाे पञ्चाङ्ग तिथि–मिति अनुसारका विधिहरु पालना गरेर मनाउने कुरा र तिहारमा गाई–गोरुहरुको पुजा गर्ने कुराहरु हेर्दा पहिचान पक्षधरहरु एउटा सामान्य विवेकमा दुविधायुक्त चिजहरुलाई अंगालेर बाँचिरहेका छन् जस्तो लाग्छ ।
लामो समय नेपाल हिन्दुराज्य हुँदा त्यसबाट समाजमा गहिरो प्रभाव परेको सत्य हो । जसका कारण सबै समुदायका चाडपर्व संस्कृतिहरु छासमिस भयाे ।
तर, यति चेतना निर्माण भइसकेपछि पनि फेरि तिनै अतिक्रमणकारी संस्कृतिको अनुयायी भइराख्नुको कारण चाहिँ के होला ?
हाम्रा यस्तै दोधारे चरित्रले कमल थापा, ज्ञानेन्द्र शाही, रवीन्द्र मिश्रहरुलाई नेपालमा ९४ प्रतिशत हिन्दुहरु छन् भन्ने प्रमाणित गरिरहेको छ ।
हामीले अहिलेकाे इन्फरमेशन सोसाइटीमा जानी नजानी तिनै एकात्मकवादीहरुलाई बल पुग्ने काम गरिरहेका छौँ ।
राष्ट्रिय जनगणना २०७४ ले नेपालमा ८१ प्रतिशत हिन्दुहरु रहेको देखाएको छ । यो तथ्यांक मान्न हामी तयार छैनौं । यसलाई मिथ्यांक भन्छौ ।
तर, हाम्रा व्यवहारले भने हामी हिन्दु नै देखिरहेका छौँ ।
अब हामीले यस किसिमका दोहोरो चरित्र देखाउन हुन्न । प्रष्ट विचार र दृष्टिकोणका साथ अघि बढ्न आवश्यक छ ।
हिन्दु होइनौं पनि भन्ने फेरि हिन्दु चाडपर्वहरुलाई हाम्रो भन्ठानेर हिँड्नाले हाम्रा सन्ततिहरुले पनि त्यहीँ सिक्नेछन्, उनीहरु पनि हामी सरह अस्पष्ट रनभुल्ल जीवनमा पुग्नेछन् ।