नेपालले गाजाको अस्पतालमा सयौं मानिसहरूको ज्यान जानेगरी भएको आक्रमणको निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी गाजाको अस्पतालमा बुधबार निर्दोष नागरिकहरूको मृत्यु हुनेगरी भएको आक्रमणको निन्दा गरेको हो ।
साथै वार्ताको माध्यमबाट विवादको शान्तिपूर्ण समाधान हुनुपर्नेमा नेपालले जोड दिएको छ ।
परराष्ट्र मन्त्रालयले अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
विज्ञप्तिमा सर्वसाधारणविरुद्ध भएको आक्रमणप्रति नेपाल सरकार गम्भीर रूपमा चिन्तित भएको तथा जस्तोसुकै परिस्थितिमा पनि नागरिकको सुरक्षाका लागि सम्बद्ध पक्षलाई आह्वान गरिएको छ ।
‘हामी शान्तिमा विश्वास गर्छौं, वार्ताबाट विवादको शान्तिपूर्ण समाधान गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।