माघ १ गते किराती नयाँ वर्षको उपलक्ष्यमा भव्य रुपमा यलम्बर जयन्ति मनाउने किरात राई सांस्कृतिक कलाकार संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
माघ १ गतेबाट यलदोङ (यलम्बर संवत्) ५०८४ सुरु हुँदै छ । यसै सन्दर्भमा संघले यलम्बर जयन्ति मनाउने निर्णय गरेको हो ।
ललितपुरको नखिपोट खेलमैदानमा माघ १ गते किराती नयाँ वर्ष यलदुङ कार्यक्रम गरिनेछ । त्यसका साथै काठमाडाैं उपत्यका बाहिर उदयपुरको चौदण्डीगढी, धनकुटाको मदनचोक, सुनसरीको धरान, झापा, मोरङ तथा ओखलढुंगाकाे मानेभञ्ज्याङमा पनि संघका जिल्ला शाखाहरुले पुस २९ र माघ १ गते कार्यक्रम आयोजना गर्ने संघका महासचिव पदम थुलुङ राईले बताए ।
प्रथम किरात हाङ (राजा) यलम्बरलाई आधुनिक नेपालका संस्थापक राजाका रुपमा मानिन्छ ।
‘नेपालमा किराती शासनबारे विभिन्न मत भए पनि अहिलेसम्म सर्वमान्य मानिएको चौधौं शताब्दीमा अद्यावधिक र पुनर्लेखन गरिएको गोपाल वंशावली हो । यसै वंशावलीमा ३२ पुस्ता किरातहरुको शासन क्रम वर्णन गरिएको छ,’ संघले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘किरातहरुले आधुनिक नेपालमा १ हजार ९ सय ६३ वर्ष ८ महिना शासन गरेको मानिन्छ ।’
तिनै राजा यलम्बरको स्मृतिमा स्थापित संवत् हाे यलदोङ । जसलाई किराती भाषाहरुमा यले तङबे, यलदोङ तथा यलम्बर संवत् भन्ने गरिएकाे छ ।
संघका अध्यक्ष शालिक शातासक राईले भने, ‘नेपालको व्यवस्थित राज्य निर्माणको जग हाल्ने पहिलो राजा यलम्बर भएकोले राज्यले उनको सम्मानका लागि एक दिन सार्वजनिक बिदा दिएर प्रत्येक माघ १ गते यलम्बर जयन्ति मान्नाउनुपर्छ ।’
नेपाल देशको संस्थापक राजाको स्मृतिमा चलेको संवत्लाई राष्ट्रिय संवत् घोषणा गरी लागु गर्नुपर्ने, यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, कुनै पनि समुदायको संवत्, भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, निजी हुँदैन, यो साझा विषय हुन्छ ।
यसलाई सबैले ग्रहण गर्न सक्छन् । त्यसकारण यलम्बर संवत् पनि साझा हो । यसलाई राष्ट्रिय संवत्को रुपमा घोषणा गर्नुपर्ने लगायत धारणा संघले राखेकाे छ ।
यलम्बर संवतको ऐतिहासिकता
नेपालको इतिहासमा बिभिन्न कालखण्डमध्ये लिच्छबि काललाई कतिले स्वर्णकाल भन्छन् । यस कालका राजा मानदेवको नाममा तामाको मुद्रा पाइएको छ ।
यस कालका अभिलेखहरु प्रारम्भमा भुवनराजको वि.सं. १९३७ मा १५ वटा अभिलेख पाइएका वर्तमानमा झन्डै २ सय ४० जति पुगेका छन् ।
ती अभिलेखहरु मूलतः संस्कृत भाषामा लेखिएका छन् । तर पनि शिलालेखमा केही शब्दहरु संस्कृत्तेतर भाषाका छन् ।
जस्तो मानदेवको पालाको अभिलेखमा ‘देव्य कर्तव्यता वुद्य प्रसादै राय मग्रदौ सैरसतम्बक्रियारम्बे केदुम्बाटो नियोजित’ लेखिएको छ ।
यस अभिलेखमा प्रयोग भएको केदुम्ब, लिंग्वल, माप्चोक र शुल्ल शब्द संस्कृत होइन ।
विशेषतः भाषाविद् र भाषाका अध्ययन गर्ने विद्वानहरुले यसलाई किरात जातिको भाषा ठहर्याएका छन् ।
त्यसैगरी अर्को इतिहास पत्ता लगाउने भन्ने कुरा अहिलेभन्दा झन्डै साढे ६ सय वर्ष अगाडि स्थितिराज मल्लको पालामा लेखिएको गोपालराज वंशावली जसलाई नेपाली भाषामा लेखिएका हुनाले भाषा वंशावली भन्ने चलन पनि छ ।
तिनीहरुले लिच्छबि कालभन्दा पहिले किरातकाल, किरातकाल भन्दा माथि महिष्पाल काल, महिष्पाल कालभन्दा माथि गोपाल काल भनेर उल्लेख गरेका छन् ।
भाषा वंशावलीका विभिन्न संस्करणहरुमा किरात काल दिइएको छ ।
त्यस कालको गणना गर्दा अहिलेभन्दा ५ हजार वर्ष अगाडि नेपालमा किरात शासन काल भएको कुरा प्रमाणिक रुपमा उल्लेख छ ।
उल्लेखित इतिहासहरूबाट नेपालमा किरात राज्य व्यवस्था भएको र ती शासक जातिका इतिहास, सभ्यता र संस्कृति वर्तमानमा पनि अक्षुण्ण रहेको सर्वविदितै छ ।
किराती शासनको आरम्भ काठमाडौं खाल्डोमा सबैभन्दा पहिले गोकर्ण आधार क्षेत्र, चागुनारायण क्षेत्र, दहचोक बलम्बु क्षेत्र त्यसपछि ‘पटुक दो’ (हाल ललितपुर मनपा १८ पर्छ) बाट राज्य सञ्चालन गरेका थिए ।
वर्तमान समयसम्म पनि यो ‘पटुको टोल’ भनी नेवारी समुदाय बसोबास गर्दछन् ।
राजा पटुकको अन्त्य पश्चात युवराज गस्ती राजा भएका थिए । त्यसैगरी च्यासल जसको स्थानीय भाषामा आठ सय अर्थात ८ सय जना किरातीहरुको हत्या गरी मारिएको र अहिले पनि भग्नावशेषको रुपमा रहेको पाइन्छ ।