३५ वर्ष पुरानो लोकप्रिय गीत ‘धोका दियौ तिमीले’लाई नयाँ भर्सनमा पुनः सार्वजनिक गरिएको छ ।
‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का फस्ट रनरअप गायक रोशन राईको स्वरमा उक्त गीत रिमेक गरिएको हो ।
बुद्धवीर लामाकाे शब्द, शान्तिराम राईको संगीत, र सरोज कुमार श्रेष्ठको स्वर रहेको उक्त गीतलाई हाल दिवंगत गायक तथा संगीतकार विक्रम राईप्रति समर्पित गर्दै पुरानै संगीतमा नयाँ स्वरसहित पुनः रेकर्ड गरिएको हो ।
जसमा संगीत संयोजनकाे काम देवेश राईले गरेका छन् ।
गीतको भिडियोमा गायक रोशन राई र अभिनेत्री केकी अधिकारी फिचर भएका छन् ।
राजेश पुमा राईको निर्देशनमा तयार पारिएको भिडिओ ‘लुङ्टो क्रियशन’ नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
उक्त गीत मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुनः सार्वजनिक गरिएको हो ।
कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार शान्तिराम राईले ३५ वर्षअगाडिकाे काठमाडौं बसाइ र संघर्ष र अभावका बिचमा उक्त गीत जन्मिएको स्मरण गरे ।
गायक रोशन राईले सदाबहार लोकप्रिय गीत गाउन दिएकामा संगीतकार शान्तिराम राईप्रति आभार प्रकट गरे ।
संगीतकार शान्तिराम राईकाे कम्पाेजमा जन्मिएकाे ‘तिमी तारे भीर’ बाेलकाे गीत पनि सन् २०२१ मा रिमेक गरिएकाे थियाे ।
