विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेडरोज आध्यनोमले कोरोना भाइरसको महामारी निकट भविष्यमा अन्त्य हुने सम्भावना नरहेको चेतावनी दिएका छन् ।
उनले विश्वका नेताहरुलाई चेतावनी दिँदै महामारी अहिले नै सकिने सम्भावना नरहेको भन्दै सक्रिय भएर महामारीविरुद्ध लाग्न आग्रह गरेका हुन् ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले तुलनात्मक रुपमा गम्भीर बिरामी बनाउने सम्भावना कम देखिनुलाई भाइरसमाथिको जीतका रुपमा बुझ्न नहुने उनले बताएका छन् ।
ओमिक्रोन भेरियन्ट अहिले तीव्र गतिमा फैलिरहँदा नयाँ भेरियन्ट आउन सक्ने चेतावनी पनि डब्लुएचओ प्रमुखले दिएका छन् ।
डब्लुएचओको जेनेभास्थित हेडक्वार्टरमा भएको पत्रकार सम्मेलनमा डा टेडरोजले गएको हप्ता विश्वभर ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या एक करोड ८० लाख रहेको बताए ।
ओमिक्रोनका कारण अस्पताल भर्ना हुने र कतिपय अवस्थामा मृत्यु पनि हुने गरेकाले कुनै पनि गल्ती नगर्न उनले आग्रह गरेका छन् ।
ओमिक्रोन भेरियन्ट अहिले तीव्र गतिमा फैलिरहँदा नयाँ भेरियन्ट आउन सक्ने चेतावनी पनि डब्लुएचओ प्रमुखले दिएका छन् ।
महामारी नियन्त्रणमा लिनका लागि सावधानी अपनाउनेसँगै खोप अभियानलाई तीव्र पार्नुपर्ने र धनी देशले खोप नपाएका गरिब देशलाई सहयोग गर्नुपर्ने डब्लुएचओले बताएको छ ।
