Wednesday, October 5, 2022
16.1 C
Diktel

मौसमी फुर्सदको पहिचान आन्दोलन कति प्रगतिशील ?

विपन बान्तावा (खिम्बुले) राई

अति नै व्यस्त नेपाली जीवनशैली बेला-बेला फुर्सदको समय निकालेर आफ्नो हक अधिकारको निम्ति भनेर हस्याङफस्याङ गर्दै कहिलेकाही सडकतिर अनि कोही मलिन अल्छिलाग्दो पारामा सदनको रोष्ट्रममा बोलिपठाउँछन् । कहिलेकाही झट्ट सम्झिदा पनि बर्षमा एकपटक आउने कमल गाउँले, जोगिन्दर पानवालाको गाईजात्रा जस्तो । हन , यहाँ आफ्नो पहिचान पनि गाईजात्रे पहिचान जस्तो हो र ! म झस्किने गर्छु । आफ्नो इतिहास र सभ्यता अरुले भन्दिनुपर्ने आखिर यस्तै पाराले त जन्मसिद्ध अधिकार पनि अरुले खान्छन ,खाइरहेका छन् ।

हामी खेतिपाती सिजनअनुसार लगाउछौं, लुगाफाटो जाडोगर्मी छल्न मौसम अनुसार प्रयोग गर्छौ । त्यो आधारभूत कुरा हो । सिजन अनुसारको कपडा पहिरिने फेसनले त पहिचान खुलाउदैन नि ! तर यहाँ त शृङ्गार र फेसनमा आफ्नो पहिचान खोजिदैछ, उजाड मरुभूमिलाई जंगलको शितलताको कहानी सुनाइदैछ । जब जुम्राले खाएर टाउको नुहाउने, जब भुकम्पले घर भत्काउँछ अनि प्रतिरोधी घरको नक्सा कोर्ने, जब अरुले टेकेर पैतालामुनी पार्छ त्यो बेला टेकाइको पीडा महसुस गर्ने यस्तै-यस्तै दिशामा न्याय, समानता, समावेशी, पहिचानको आन्दोलन कछुवाको गति भन्दा दोब्बर सुस्त गतिमा तिब्र ध्वनी निकालेर म्याराथनमा सामेल छ । भनिन्छ कछुवाको निरन्तर गतिले खरायो फेल खान्छ । आशा गरौ उत्पीडित, दमित भुइँ मान्छेहरुको यात्रा सिंह बस्ने ठाउँमा चाडै पुग्नेछ ।

वर्गीय समाजमा दु:ख र सुख वर्गीय छन् र वर्गका हुन्छन् । यहाँ आफ्नो भाषामा जीवन चलाउन पाउने कि नपाउने त्यो पनि वर्गकै कुरा हो । धनी र गरिब को कुरा मात्रै वर्गको कुरा होइन यहाँ भ्रम छ । वर्ग विभाजनले पहिचान, अस्तित्व धराशायी बनाउन ठूलो बल दिन्छ । पुजीवादमा वर्ग बिभाजन सामान्य ठान्छन् शासक वर्ग । मुख्य कुरा खासमा नेपालमा पुँजीवाद छँदै छैन । पुँजीवाद त कृषि क्रान्ती , औद्योगिक क्रान्ती गर्दै आर्थिक क्रान्ती गरेर हुने हो तर नेपालमा कृषि, औद्योगिक क्रान्ति, पुजीवादी क्रान्ती खै कहाँ कस्ले गर्यो ? जनतालाई भ्रमित बनाउने क्रान्ती बाहेक सम्भ्रान्त शासकहरुले अरु केही गरेका छैनन् । उद्योगपति , पुजीपतीहरु नेपालमा कृषि , औद्योगिक क्रान्ती गरेर आको हो र ? दमन, शोषण गरेर, सामन्ती , नोकरशाही तन्त्र , भ्रष्टाचार , माफियाजस्ता कुकर्म गरेर धनी बनेका छन् ।

अर्को, ‘समाजवाद ‘ शब्द सबैभन्दा बढी रुचाइएको, बढ्ता प्रयोग भएको र भ्रमित शब्द हो । हिजोआज समाजवाद शब्द तिब्र भ्रमित बनाइएको प्रष्ट देखिन्छ । जहाँ कम्युनिष्टले ‘कम्युनिजम’ दुषित बनाउछ त्यहाँ श्रमजीवी वर्ग रोगको सिकार हुने अनि जहाँ समाजवादी हुँ भन्नेहरुले समाजवाद शब्द भ्रमित बनाउछ त्यहाँ उत्पीडित , पिछडावर्ग , भुइँ मान्छेहरुको नैसर्गिक अधिकार , पहिचान , अस्तित्व स्वत : हराएर जान्छ । यति भन्नुको अर्थ , पहिचानको आन्दोलन यस्तै भ्रमित नहोस , नबनाइयोस भनेर खबरदारी गर्न पनि हो ।

भाषा , संस्कार – संस्कृति , लिपि, पहिचान -अस्तित्वको जग समाजवादमा मात्र भेटिन्छ । आफ्नो जग मजबुत बनाउन आफू बढी लाग्नुपर्ने देखिन्छ । हामीलाई त सामन्ती सत्ताले आफ्नो शैलीमा जीवन जिउन , सजिलोगरी सास फेर्न पनि नमिल्ने वर्गका रुपमा राखेर बार्दलीबाट हाम्रो क्रियाकलाप चियाईरहेको छ । यस्तो वर्ग व्यवस्था स्विकार गरेर बसिरहन हामी कति सहनशील हौं ? सहने सीमा नाघेर राष्ट्रीयता सिमापारी पुग्न लागिसक्यो अब त चेतनाको बिर्को खोल्नुपर्यो । शताब्दिऔं देखि आफू सत्तामा टिक्न अरुलाई भ्रम छर्न , गलत इतिहासहरु , गलत व्यवस्था लाई कानुनी मान्यता दिएर जनतालाई भ्रम सिर्जना गरेर पटमुर्ख बनाइरहेका छन आयातीत शासक नामका परजीवी तत्वहरु जो आफू बाँच्न अरुलाई जित्नै पर्ने , दमन गर्नैपर्ने जुका प्रवृतिका ठुला अंकुसे जुकाहरु उदयीमान छन् । फेरि जनता पनि अर्कोतिर भ्रममै छन कि आफ्नो नैसर्गिक अधिकार माग्नुपर्छ भनेर , अनि सडक तताउन बडो जोशजाँगर चल्छ । यो लोकतन्त्र , गणतन्त्र मा ऐतिहासिक बिरासत जोगाउन , पहिचान -अस्तित्व स्थापना गर्न त्यो अधिकार जनता आफैमा छ तर कुनबेला भिटो प्रयोग गर्ने त्यसमा कन्फ्युज भएको कि गर्न मन नभएको ?

लोकतन्त्रमा सत्ताले कन्जुस्याइँ गरेरै भए पनि हक अधिकार दिएको छ । त्यसको प्रतिफलको लागि त जनता आफै खटिनुपर्छ , काम गर्नुपर्छ । त्यो प्रतिफल दिने काम चै के होला दोधारमा नपरीकन भिटो प्रयोग गरौ । त्यो प्रतिफलको आन्दोलन पहिचान, न्याय, समानता , समतामूलक समृद्धि , समावेशीकरण आदिको आन्दोलन बनाइनुपर्छ त्यो आफ्नै अभिभारा हो । अरुले दिएको चिनारी , तक्मा खुइलिएर जान्छ त्यसैले हामीले आफ्नै शैलीमा , आफ्नै माटोको सुगन्ध लिदै आफ्नै लिपीमा , आफ्नो परिचय , इतिहास , पहिचान कोर्ने हो । भ्रमित जीवन त्यागेर यता लागौ । माउसुलीले घर थाम्छ भनेर घरको जगमा खासै ध्यान नदिने जस्तो नगरौं ।

यतिबेला कोही समाजवाद खोज्दै विभिन्न समूह , दल बनाउदै यताउती चहारीराखेका छन् , खै समाजवादको सिजन खोजेका हुन कि ? भेटे कि भेटेनन् उनै जानुन् । झन्डै यस्तै शैलीमा पहिचान आन्दोलन गइरहेको होकी , सिजनमा मात्रै सकृय हुने ,फल दिने ? भन्ने साझा सवाल बिचारणीय बनाउन नितान्त आवश्यक छ । संसदको बर्षे र हिउदे अधिवेशन जस्तो यो सभ्य चेतनाको आन्दोलन बनाइए यसले प्रतिफल होइन बिनाश गर्छ । दिनहुँ उसकै भक्त हुने उसकै दलमा उसकै शैलीमा संगठित भएर उसकै जयजयकार गर्ने , आफ्नो शिरमा उसको पाउ राखेको थाहा नपाए जस्तो गरेर उस्को खुट्टाको पानी खाने अनि जब फुर्सद मिल्छ फेरि उसकै विरुद्ध सडक तताउन तम्सिहाल्ने ? यो कस्तो छक्कापञ्जा ? यो क्रियाकलाप लाई सत्ताले फगत मजाक बाहेक केही देख्दैन यो सत्य हो । सत्ताले नजानिदो पारामा सत्ता आफू बलियो हुँदा कानुनी गुन्डागर्दी गरेर,अपमानजनक नीति -नियम बनाएर जनतालाई दमन गर्छ । सत्ता आफू कमजोर हुने स्थिति देखिए वा कमजोर हुँदा बल प्रयोग गरेर ‘ कु ‘ गरेर जनतालाई दमन गरिराखेका छन् ।

यता मात्र मौसमी फुर्सदको सडक आन्दोलनले नश्लीय , एकात्मक सामन्ती जुके सत्ताको माझी औलाको रौँ हल्लिदैन । सत्ता दिवा-रात्री निद्रामा मस्त सपना हेरिरहेछ । भ्रमित जीवन जिउनु भन्दा आफुलाई मृत घोषणा गर्नु उत्तम हुन्छ । परजीवी सत्ताको आयु निर्धारण हाम्रै हातमा छ तर यहाँ हाम्रो आयु सत्ताले मिति तोक्दिन्छ यसको कारण हामी स्वयं हौ किनकी आफ्नो अस्तित्व के गर्ने त्यो अधिकार त संसदीय व्यवस्थामा भोट हाल्न पाउने व्यवस्था दिएर आफैसंग छ तर फेरि पटकपटक हातबाट फुत्काइराखेका छौ ।

अब , आत्महत्या गर्ने कि , निरङ्कुस तानाशाही नश्लीय व्यवस्था स्विकार गरेर बस्ने कि आफ्नो भिटो प्रयोग गर्ने त्यो पहिचान आन्दोलनले जनतामा सौन्दर्य चेत छर्ने यो बाटो चौडा बनाउन नेतृत्व ले ‘ होल टाइमर ‘ आन्दोलन बनाइनुपर्छ । जब दुख्छ तब मात्र सलबलाए यही आन्दोलन नै आफ्नो आयु तोक्ने बाटो हुन सक्छ किनकी बेमौसमी खेती जस्तो मौसमी खेतिले चुलोमा आगो बल्न मुस्किल हुन्छ । कम्तिमा तपाई दस बर्ष समय खर्चेर सत्ता बिरोधी सडक चक्काजाम गर्ने दस्ता तयार गर्नुहुन्छ भने त्यसो होइन करिब दुई बर्ष जनतामाझ चेतना फैलाउन केही सिमित व्यक्तिहरु लिएर लाग्नुस त्यसले बढी फाइदा गर्छ । समाज-समुदाय , सडक हुँदै सदन पुग्ने अनि सदनबाट जनतातर्फ फर्केर प्रतिफल दिनुपर्छ । तर यहाँ समुदायस्तरमा उभिन सक्ने नभैइकन सडक संघर्ष मा आन्दोलन को नेतृत्व लाग्यो यो अलिक स्पातिलो हुदैन । मैले धेरै सडक आन्दोलनहरु नजिकबाट नियाले तर उपस्थिति उभिन सक्ने कति छन त्यो थाहा पाएको छु । परिवर्तन , क्रान्ती , बिकास भन्ने कुरा क्रमिक रुपमा तहगत रुपले गर्दै लैजानुपर्छ । समाजको चेतनास्तर बलियो भए सिधै सदनमा गएर सबल हुने हो (त्यो सदन जाने भनेको मताधिकार ओरयोग गरेर प्रतिनिधि पठाउने ) तर यहाँ सिधै सडकमा गयौ । सत्ता कमजोर हुदा सडक जाने हो यहाँ आन्दोलन अलमलमा देखिन्छ । जसबाट सत्ता बलियो भएर नीति , ऐन लादेर डबल दमनको शृङ्खला रचना गरिरहेको छ ।

भोजपुरी मा एउटा उखान छ ” हठी जोगी , बागी राजा , न देवे भिख न छोडे दरबाजा ” अर्थात राजाकहाँ एकजना जोगी आएर भिख मागेछन । अटेरी बागी राजाले भिख दिदै नदिने हठी पाराको जोगी भिख नदिएसम्म ढोकाबाट नजाने । हाल , पहिचानसहितको प्रदेश माग त्यस्तै भैरहेको छ । सत्ताले पहिचान स्विकार नगरे उसलाई ‘ बालै फरर ‘ भनेजस्तो छ भने यता अस्तित्व स्विकार नहुदाँ आन्दोलन को समय , संघर्ष तेतिकै नष्ट भैरहेछ । घाटा त राजालाई होइन जोगीलाई छ । खेर गएको समय र संघर्ष फिर्ता ल्याउन भए पनि त्यो जोगीले दोब्बर भिख भेला गर्न थुप्रै घरहरु चहार्नुपर्ने हुन्छ जहाँ राजाको मा आशा राखे भन्दा दोब्बर त्यो पनि दोब्बर संघर्ष गरेर ।

आन्दोलन को कस्तो-कस्तो स्वरुप हुनुपर्ने , कुनकुन क्षेत्रबाट लाग्नुपर्ने सक्दो त्यो भैरहेकै देखिन्छ । जस्तै एउटा गायक -गायीकाले गित मार्फत , नायक-नायिकाले अभिनय मार्फत त्यस्तै कवि, साहित्यकारले सक्दो आन्दोलनमा साथ दिइरहेकै छ । जस्तै: ‘ किरात ‘ पहिचान ,अस्तित्व सभ्यताको अस्तित्व को सवालमा ‘ खुवालुङ ‘ नामक नाटक मार्फत आन्दोलनको उच्च आवाज दिईरहेको छ जुन राष्ट्रव्यापी रुपमा हालसालै विभिन्न क्षेत्र , समुदाय , भूगोल बाट सर्वाधिक रुचाइएको , प्राथमिकतामा राखिएको छ ।

म खुलेर भन्न सक्छु कि , सबै जसो क्षेत्रबाट आन्दोलनमा साथ छ तर राजनैतिक तवरबाट अलिक सुधार गर्नुपर्ने देखिन्छ । सबै पक्षको अग्रभाग , मुलजरा राजनीति नै हो । अन्तिममा यसको पाटोबाट मात्रै सत्ता, सदनको चाबी पाउने हो । आन्दोलन को नाउँमा हिजोआज विकृती फैलदोँ छ त्यो बिकृत आन्दोलन लाई पनि पहिचान आन्दोलनमा सामेल गराउन सक्ने चेत उत्पादनमा अगुवाहरु नलागे एक्लो चिच्चाहट व्यर्थ हुन जान्छ ।

अन्त्यमा

लामो पहिचान आन्दोलनको प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै समिक्षात्मक रुपमा पछि फर्किएर स्पातिलो बनाउदै लैजान अझ कडा मेहनत गरौ । सत्ताको शासनव्यवस्था त संघीयता पश्चात् पनि एकात्मक केन्द्रीकृत नै छ । प्रदेश , स्थानीय तहलाई टुहुरा बनाएका छन त्यस्तै पहिचान सह-अस्तित्वको आन्दोलन पनि केही हदसम्म केन्द्रीकृत नभएका होइनन । पहिचानको वकालत गर्ने संघ संस्थाहरु केन्द्रमा होइन आफ्नो बाहुल्य क्षेत्रमा राखौं , पुस्तकालयहरु पहुँच नपुग्ने ठाउँमा खोलौ । यस्तो अभ्यास आजैबाट सुरु गरौं । साँस्कृतिक सौन्दर्य चेतसम्म मात्रै अन्तिम पहिचान प्राप्ती त्यसमै मात्रै गर्व गर्ने जुन समुदायको चेत छ तेति मात्रै अन्तिम सत्य होइन त्यो चेतना जागृत गराऔँ । पहिचान बिरोधी दल , बिचार , सिद्धान्त , दलसंगको समय श्रम लगानीको मोह माया त्यागेर आफ्नो अधिकार आफ्नै पहिचानको निम्ति प्रयोग नगरे फेरि आफ्नै घरमा दासी हुने समय आउदैछ मंसिर 4 (चार) । आफ्नो पहिचान स्थापित गर्न भिख माग्ने होइन भिटो प्रयोग गर्ने हो । यदि आफ्नो भिटो प्रयोग नगरेको खण्डमा जीवनकालभरी नै भिखारीको संज्ञा बोकेर स्यालको दरबाजा ढकढक्याउन खुट्टाको छाला र कपाल खुइलिने नै हो यो सत्य हो । पहिचानवादी सम्पुर्ण भुइँ मान्छे , भुमीपुत्रहरुको जनसंख्या बहुमत छ , बहुमत संख्याले आफ्नो आवाज बोक्ने र आफ्नो मुद्दा  बोक्नेलाई साथ नदिए हामी सबैको भविष्यको यात्रा काँसी तिरै हो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्