Wednesday, October 5, 2022
16.1 C
Diktel

जनयुद्ध संस्मरणः साप्सु तर्दा मृत्युकाे मुखबाट उम्किएँ

साेनाम सज्जन किराती

मानिसलाई मृत्युले सबभन्दा बढी पच्छ्याउँछ । मृत्युको सामना गर्नु नै ठूलो कुरा हाे ।

जनयुद्ध र संकटकालमा प्रत्येक सेकेन्ड मृत्युको घण्टी बज्थ्याे । विचारले लैस समयकाे डन्डा लगाएर त्याे मृत्युविरुद्ध मृत्यु उभ्याएर सामना गर्दथ्याैं । सायद, त्यसैले त आजसम्म मृत्युसित डर लागेन । मृत्युको मुखमा पुगेर पनि झुकिएन । हजारौं असली याेद्धाहरुले यातनाबाट तर्सिएर विचारप्रति धाेका दिने काम कसैले गरेनन् । तसर्थ, त्याे जनयुद्धबाट आर्जिएकाे सबभन्दा ठूलो सम्पत्ति बनेकाे छ, विचार, आस्था र समर्पणभाव ।

०६१ सालकाे असाेजमा मेराे मृत्यु अनिवार्य थियो, हुन्थ्यो जस्तो लाग्छ । त्यसपछि मंसिरमा थियाे । त्याे बिजुले भञ्ज्याङसँग सम्बन्धित घटना हाे, त्यसबारे अर्को स्तम्भमा समेट्नेछु ।

अहिलेचाहिँ साप्सुखाेला तर्दाकाे क्षण ब्यक्त गर्न चाहेकाे छु । जनयुद्धको संग्राम चलिरहेछ, जनयुद्धकाे रणनैतिक चरणहरु रक्षा सन्तुलन पार गर्दै प्रत्याक्रमणकाे चरणमा जाने विषयमा पार्टीभित्र बिचारकाे गम्भीर बहसकाे सुरुवात भएको थियाे । म त्यसबेला राजनीतिक हिसाबले सामान्य पार्टी सदस्यबाट सात नम्बर एरिया कमिटी सदस्यमा निर्वाचित भएको थिएँ । विभागमा भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खाेटाङकाे जिल्ला कार्यसमितिमा निर्वाचित जिल्ला कमिटी सदस्यकाे जिम्मेवारीमा थिएँ ।

याे संगठनकाे निर्माण ०६१ साल साउन महिनामा शिद्धेश्वरी माध्यमिक विद्यालय खिदिमा खाेटाङकाे प्राङ्गणमा दशाै जिल्ला सम्मेलन सम्पन्न भएको थियो । संगठनकाे केन्द्रीय सदस्य मणि खम्बु कमरेड रिवासीकाे प्रमुख आतिथ्यतामा कमरेड हिमाल (गाेपाल कटुवाल) निर्मलीडाँडाबासी मित्र उहाँको अध्यक्षतामा जिल्ला उपाध्यक्ष कमरेड आक्राेश (चइन्द्र राई) सचिव (हाेमकाजी आचार्य) कमरेड विनाेद सहसचिव ममिका राई काेषाध्यक्ष (ओमकार दाहाल) कमरेड ओके हुनुहुन्थ्यो ।

सदस्यहरु नविन राई, अर्जुन खड्का कमरेड झङ्कार (संघीय गणतन्त्र स्थापना पश्चात प्रथम स्थानीय निर्वाचनमा साकेला गाउँपालिका अध्यक्षमा निर्वाचित) सुमिना किराती, साकेला वडा नं २ अध्यक्षमा निर्वाचित साेनाम किराती, रामकुमार परियार कमरेड पुष्प (हाल कांग्रेस खाेटाङमा क्रियशिल) जीवन राई, अरुणा राई शुभद्रा विष्ट, शुभकाजी राई, बिन्द्र राई लगायत हाेलटाइमर कमिटी थियौ ।

अध्यक्ष हिमालकाे कमान्डमा हामी क्रमशः कमरेड आक्राेश, कमरेड ममिका रामकुमार परियार (पुष्प), शुभद्रा र म साेनाम भएर हामी सात जना हलेसी र रावा भेगकाे विद्यार्थी संगठन निर्माणका लागि खटिएका थियौं । साबिक खिदिमा गाविसको शिद्देश्वरी माविमा जिल्ला सम्मेलन सम्पन्न पश्चात हामी दाेस्राे औपचारिक बैठक खिदिमाकै ढुंगेमा बसी कार्यविभाजन भएको थियाे ।

खिदिमाबाट लगभग साेझाे बाटाे हिड्दा रावाभेग पुग्न एक दिन लाग्थ्यो । भाैगाेलिक अवस्था र दुस्मनबाट जाेगिएर काम गर्नुपर्ने कारणले गर्दा हाम्राे सावा कटहरे हुँदै रसुवा, रेग्मीटार, भाँडबेसीबाट हलेसीतिर जाने कार्ययाेजना बन्याे । दुस्मनकाे चहलपहल शाही सेना ब्यारेकबाट निस्कदा उदयपुर र खाेटाङकाे सेनाहरु रसुवासम्म दुवै तिरका सेनाहरु आइरहने खतरा थियाे ।

स्थिति बुझेर रसुवाबाट वारी या पारीकाे दुई बाटाेमध्ये एक बदलेर हिड्न सहज हुन्थ्यो । हाम्रो अनुकुलतामा बैठककाे तेस्रो दिन दिउँसोको खाना कालापानीमा खायाैं र यस्तो लाग्थ्यो कालापानीमा खाना खाइदिन नपरे हुन्थ्यो । किनभने नाम कालापानी, पानीको थाेपाे जाेहाे गर्न असाध्यै गार्हाे अप्ठ्यारो थियो । त्याे गाउँमा खानै पर्थ्याे, त्यहाँ नखाए रसुवा या भण्डारेबेसी नै पुग्नु पर्थ्याे ।

साेनाम सज्जन किराती

तल दुधकाेसी सुनकोसी बग्छ, माथि सिम्पानी रमाउँछ, कालापानी पानी नपाएर छटपटाउँछ । लाग्थ्याे त्यहाँको जनजीवन अनिकाल भन्दा पनि पानीकाे हाहाकारले कष्टकर थियाे । र, हाम्रो संगठनका नेताहरुले उतिखेर सुझाव पनि ब्यक्त गरेका थिए । पर्तिर सावा खाेला बगिरहेछ, त्यहाँबाट पाइपलाइन बिच्छ्याएर गाउँकाे निम्ति खानेपानीको बन्दाेबस्त मिलाउन सरकारसमक्ष निवेदन गर्दा राम्रो हुन्छ ।

स्थानीयकाे प्रतिक्रिया चाहिँ के थियो भने हाम्रो राजनीतिक पहुँच नभएकोले नेताहरु आउछन्, जितेर जान्छन्, भाेट माग्न पानीको घरघरमा धारा भन्छन् र बिर्सेर जान्छन्, त्यसकाे नतिजा हामीले बेहाेर्नु परिरहेछ ।

त्यस्तो ठाउँमा खानाकाे पहल गर्नु सारै अप्ठ्याराे । तर पनि हामी माओवादीलाई कालापानीकाे समुदायले त्यसदिन मात्रै हाेइन ठूलाठूला माेर्चाहरु भाेजपुर सदरमुकाम, पछिकाे दिक्तेल पाँचधारे र घाेडेटारकाे घाइते माओवादी याेद्धा बाेकेर हिडाउने बखतसम्म दर्विलाे साथ दिएका हुन् । याे कर्मप्रति उच्च सम्मान गर्नुपर्छ ।

त्यसदिन पनि खाना व्यवस्था गरिदिएर साथ दिए, हाम्रो प्राण भरिदिए । यसकाे निम्ति इतिहासले सम्झनेछ । त्यसअघि र पछि लडाइँको रणनैतिक प्रत्याक्रमणकाे चरणसम्मै साथ थियाे त्यहाँको जनताबाट । र हाम्राे साथ पुग्यो पुगेन इतिहासले समीक्षा गर्ला ।

त्यस दिन हामी त्यहाँबाट पाँच घण्टा जतिकाे पैदल यात्रापछि साप्सुकाे दाेभान रेग्मीटार पुग्यौं । रेग्मीटारमा मान्छे आवतजावत गर्न साप्सुमाथि पुल थियाे । हामीलाई टार्न भनेर पर्खिरहेको थियाे त्याे पुल । विचबाटाेमा सल्लाह गर्याै, काेही पुलबाट जाने काेही खाेला तरेर जाने । बासस्थान गाेडेलीघाट नजिक थियाे । रात पर्न लागिसकेको थियो । भण्डारेमा कमरेड बद्री श्रेष्ठले हाेसियारपूर्वक जानुहाेला भनेर सल्लाह पनि दिनु भएको थियो ।

जान त जाने, पुल तरेर जान बाटो अलि घुमाउराे छ । अर्को कुरा कतै दिक्तेलबाट दुस्मन आएर बास्थान बनाइसकेकाे पनि हुनसक्छ । साँझकाे कुरा अध्याराे भैसकेको छ । यस्तो बेला हत्तपत्त देखिदैन, दुस्मन र रेग्मीटारलाई नटेकी तल साप्सु दाेभान पैदल तरेर जाने छलफल भयाे ।

साथीहरुले प्रसंग निकाल्नुभयाे, भदौमा पनि बाढी नआउँदा कमरेड संगित र तुफान साप्सु दाेभान तरेर जिल्ला कार्यलय पुगेको रे भन्नुभयो । याे खबर हाम्रो उपाध्यक्षज्यूबाट सुनिएपछि हामीलाई तर्न नसकिने कुराकाे डर समाधान भाे । बाँकी कुरा त परिस्थितिकाे कुरा हाे । तसर्थ, रेग्मीटार नघुम्ने सल्लाह भाे । पुल नतरी तल तलै खाेला तरेर गाेडेली पुग्ने सल्लाह सबैले पास गरियो ।

साँझ परिसकेको थियाे लाइट बाल्न नमिल्ने संकटकालकाे अध्याराेपनलाई मित्र बनाएर कति हाे कति हिड्नुपर्थ्याे । हामी नेपाली माओवादीकाे याे दयनीय बेथा सम्झदा पनि कति कठिन यात्रा लाग्छ । साढे सात बजेकाे हाेला, हामी खाेलाकाे दाेभानमा पुग्यौं । अध्यक्ष हिमाल सर लाइनमा आउनु भएन । उहाँ ठूलो ढुंगामा अडेस लगाएर पानी बाहिरै बसेर ओरेन्टेसन गर्नुभयाे ।

साथीहरु खाेला ठूलो हुन सक्छ, जबर्जस्त तर्न नखाेज्नुहाेला, सकिएन भने रिट्रिट हुनुहाेला भन्दै हामी तर्नेहरुलाई हेर्दै त्यही ढुंगामा बस्नु भएछ । हामी छजना चाहिँ लाइन लागेर उभियाै, खाेला तर्ने भनेर मचाहिँ पहिले पहिले पनि उदयपुर कटारी नुन चामल लिन जाँदा साेरुङखाेलामा तिन पटक बगेको, यता यारी खाेलामा चिउरा लिएर आउँदा बगाएर यारीमा बुवा पापाले बचाएकाे र साेरुङ खाेलामा बग्दा चाहिँ प्रेमबहादुर राई पाखाली जेठा र दाम्लीकै छिमेकी कुमार राई पवनकाे बुवा दाजैले बचाएकाे सम्झना अनुभव पनि थियो ।

त्याे बेला प्रेमबहादुर पाबजेठाले सिकाउनु भएको अनुभव राईची बाबु खाेला तर्दा आफूभन्दा ठूलो शरीर भएकोहरुसँग तर्ने भरिसक पाैडी जान्नेसँग तर्ने, जता पानी बग्छ त्यता नबसी त्यसकाे मास्तिर पट्टि बस्ने, हिड्ने हिसाबले तर्दा बगाई झार्याे भने पनि तल्तिरकाे साथीहरुले पक्रन उद्दार गर्न भ्याउँछ र बाचिन्छ भन्ने कुराकाे हेक्का थियो ।

त्यस रातकाे खाेला तर्ने अभियानमा म त्यसरी नै साथीहरुदेखि मास्तिर तर्फबाट तर्न सरिक थिएँ । त्यही सुत्रानुसार साथीहरू भन्दा डेढ मिटर माथिबाटै तर्नलाई हेलिएँ । आफूलाई बगायाे भने पनि तल्तिरकाे साथीहरूले समात्न भ्याउनुहुन्छ, यही अपेक्षाकाे साथ हामी पाइलाहरु अगाडि बढायाै । खाेलाकाे पानीतिर करिब खाेलाकाे मध्य भाग पुगिसकेका थियौ । तीन वा चार पटक खुट्टा सार्दा तरिन्छजस्तो मात्रै लागेको थियो । पारीकाे किनार निकै नजिक हुँदै थियो ।

दुधकाेसीमा मिसिएकाे देखिने रेग्मीटार क्षेत्रमा पर्ने साप्सुखाेला । तस्बीरः कुमार बुढाथाेकी

तर, तल पानीको सतह कति छ भन्ने त्यो अपराधी रातले देख्न दिएको थिएन । अनुमान गरियो, अब त उता पनि गहिरो नहाेला तरिहालिन्छ भनेर, खुट्टा फटाफट चालिपठाइयाे, त्यहीँ गहिराइ रहेछ । कम्मरतिरकाे पानी छातीमाथि अनि अर्को पाइला सार्न खाेजेकाे म त डुबी हालेछु । डुब्दै गए त्यसपछि मलाई पानीले भित्रभित्र बगायाे । हातमा गाेल्डस्टार जुत्ता थियो जुत्ता छाेडिएछ । मेराे मनमा त केही कल्पना नै भएन । वारीपारी केही देखिन्न, श्वास फेर्न भन्छु, हुन्न, सपनाजस्तो चिर निदमा परेको ऐठन जस्तो, लगभग सय मिटर तल झरेपछि संयाेगले नदिपट्टिकाे ढुंगामा टाउकाे बेस्सरी ठाेकियाे र म हाेसमा फर्किएछु । र तुरुन्तै सम्झिएँ, मलाई खाेलाले बगाएको छ । याे ढुंगा समात्नुपर्छ यस्तै यस्तै सम्झेर सपनामा जस्तो पानीभित्र ब्युझँदै ढुंगा पक्रन खाेज्छु र हात फैलाउँछु ।

एउटा दाहिने हातलाई चाहिँ सर्टले बेरिएर अल्झिएकाे रहेछ । देब्रे हातले ढुंगा भेट्याे र ढुंगा समातेर बिस्तारै मास्तिर जताबाट पानी बगेर झरेको थियो त्यताबाट दक्षिणी नदिकाे छल्काेपट्टि बग्दै झर्दा सर्टमा बेरिएकाे हात पनि खुल्यो र दुई हातले त्यो टाउको ठाेकिएकाे ढुंगा अंगालेर पक्रिए ।

तल्लोपट्टि नदिकाे गहिराइ कति थियो थाहा छैन । छालले मलाई जिस्क्याउँथ्याे । जसरी माथि रुखमा अडिएकाे पातलाई हावा चलेको बेलामा हल्लाउँछ, मलाई त्यसरी नै हल्लाउँदै तान्न खाज्थ्याे । सायद, त्यति याद भएर मैले त्याे ढुंगा नसमाएकाे भए, त्याे ढुंगामा टाउको नठाेकिएकाे भए, म नाथु पाैडिन नजान्ने बटुवाकाे गाउँगाउँबाट उठ सहरहरु जुट मुक्तिकाे निम्ति उठ भन्ने दिन त्यही खाेलाकाे ढुंगासित बिलिन हुन्थ्याे हाेला या माछाकाे आहारा भइन्थ्याे हाेला ।

संयाेगले मलाई साप्सु दाेभानकाे ढुंगाले जतन गर्याे र मेरा प्रिय मित्र अखिल क्रान्तिकारीकाे जिल्ला उपाध्यक्ष कमरेड चइन्द्र राईज्यूले पाैडिदै आएर मलाई एक हातले च्याप्नुभयाे अर्को हातले मलाई सरदर १० मिटर पानीमा पाैडिदै तार्नुभयाे र बाँचियाे ।

यतिबेला म एउटा कुरा के सम्झना मिसाउन चाहन्छु भने गिरिजाप्रसाद काेइरालाकाे अनुभवमा क्रान्तिकारीहरुले दुई कुरा अनिवार्य सिक्नु पर्छ भन्नुभएको रहेछ । त्याे भनेको गाडी गुडाउन ड्राइभिङ र नदि खाेला तर्न पाैडी । अवश्य पनि तपाईं क्रान्तिकाे काममा लाग्ने साथीहरुलाई मेरो यहीँ सुझाव छ ।

यसरी एउटा नाफाकाे जिन्दगी पाइयाे, त्यसको लागि चइन्द्र कमरेड हार्दिक धन्यवादकाे पात्र हुनुहुन्छ । उहाँ संघीय गणतन्त्र नेपाल भएपछि हलेसी तुवाचुङ नगरपालिका वडा नं ७ काे अध्यक्षमा निर्वाचित समेत हुनुहुन्छ र त्यसपछि म बगेको थाहा भएपछि अरु सिंगाे टिम फर्किएछ । र हामी पुनः सचेतता साथ रेग्मीटारकै पुल तरेर गाेडेली पञ्च माझी साइला माझीको घरमा बास बस्याैं । उहाँहरुकोमा बास बस्दा शरीर जिरिङ जिरिङ भएको थियाे ।

चप्पल किन्न जहाँ पायाे त्यहाँ पसल हुन्न थियो । अध्यक्ष हिमाल सरकाे चप्पल टेकेर त्याे पालीकाे अभियान समापन गरियाे । अभियान फलदायी बनेको थियो । प्रत्येक रावा हलेसी भेगकाे माध्यमिक विद्यालयहरुमा हामी संगठन निर्माण परिचालन गर्न सफल रह्याैं र त जनयुद्ध सफलताकाे शिखर उन्मुख रहिरह्याे ।

1 COMMENT

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्