Sunday, December 4, 2022
9.7 C
Diktel

संघीय नेपालमा किरात प्रदेश

Subtitle

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक साथै भौगोलिक विविधतायुक्त देश हो । यहाँको विविधतालाई सम्बोधन गर्नको लागि नै नेपाल संघीय प्रणालीमा प्रवेश गरेको हो । अहिले संघीयता कार्यान्वयन सम्बन्धमा पहिचान र स्वायत्ततासहितको संघीयता कि प्रशासनिक संघीयता ? भनी दुईखाले विचारहरु आइरहेका छन् । यथार्थमा विविधतायुक्त समाजमा विद्यमान अन्र्तविरोधहरुको हल गरी सामाजिक हार्दिकताको जगमा मुलुकको समृद्धि हासिल गर्नको लागि संघीय प्रणालीको आवश्यकता परेको हो । यस प्रणालीमा संविधानमा नै संघ र राज्य (प्रदेश) बीच अधिकारको बाँडफाट हुन्छ । पहिचानमा आधारित प्रदेश र स्थानीय तहको नामाकरण साथै स्वायत्त शासनको प्रत्याभूति हुन्छ । जसले गर्दा मुलुकमा रहेका सबै समुदायको पहिचानको स्थापना, सम्मान र प्रतिष्ठा कायम तथा सामाजिक समानता र सद्भाव कायम हुन्छ । यसै सन्दर्भमा नेपालमा अहिले ‘किरात प्रदेश’को स्थापना र नामाकरण सम्बन्धमा व्यापक छलफल, तर्क–वितर्क, विचार विमर्श भइरहेको छ । किरात प्रदेश सम्बन्धी छलफल मुलतः वर्तमान एक नम्बर प्रदेशसँग सम्बन्धित छ । यसै विषयमा धारणा व्यक्त गर्न यो आलेख प्रस्तुत गरिएको छ ।

विश्वमा भएका जातिहरुको अध्ययन गर्दा किरात जातिको बारेमा जति कुनै जातिको बारेमा पनि चर्चा भएको छैन । किरातको बारेमा पूर्वीय साहित्यमा सबैभन्दा पुरानो ग्रन्थ मानिने ऋग्वेदमा उल्लेख छ । संस्कृत दर्शन र साहित्यका शिरोमणि डा स्वामी प्रपन्नाचार्यले आफ्नाे महत्वपूर्ण कृति प्राचीन किराँत इतिहासमा ‘ऋग्वेदको बृहददेवता (७।८६) सुक्तमा किराताकुली, यजुर्वेदको शतपथ ब्राम्हण (१।१।४।१४) मा पनि किराताकुली…..सामवेदीय ताण्डव ब्राम्हणमा किरातकुल्यौ पाठ छ (पृ १)’ भनी तीनवटा वेदमा किरातबारे उल्लेख भएको बताएका छन् ।

अर्का विद्वान रामचन्द्र राई रुपाबुङले आफ्नाे प्राचीन किरातहरुले छाडेका सम्पदाहरु नामक ग्रन्थमा अथर्बवेदमा ‘कैरातिका कुमारिका सका खनती भेषजम् । हिरण्यमयीभिरभ्रिभिगिरीणामुपसानुषु ।। (पृ १७)’ उल्लेख भएको बताएका छन् । मुर्धन्य किरात इतिहासकार तथा खोजकर्ता काजीमान कङदङवाले विश्व वाङमयमा किरातहरु (किरात धर्म तथा साहित्य उत्थान संघ, शाखा कार्यालय झापाद्वारा प्रकाशित प्रतिवेदन–२०४६, उद्धतांश, दुर्गाहाङ याक्खा राई, किरातः हिजो र आज, पृ १) नामक आफ्नाे लेखमा ‘किरात जातिको विषयमा प्राचीन संस्कृत ग्रन्थहरु वेद, उपनिषद, स्मृति, महाभारत, रामायण, पुराण आदिमा….स्वैताम्बर सम्प्रदाय, जैन धर्म ग्रन्थहरु ….बौद्ध धर्म ग्रन्थहरु ललितविस्तार, मूल सर्वास्तिवाद विनय संग्रह, त्रिपिटक, अश्वघोषको बुद्ध चरित्र आदिका साथै इस्लाम धर्मग्रन्थ जिन्द अवेस्ता, अरबी रफ्नामा, आइने अकबरी, क्रिस्तानीहरुको धर्मग्रन्थ दि बुक अफ सामुयल, न्यू बिब्लिकन एटलसदेखि लिएर चिनिया भाषाका शिन्युकाइ पौयाङ, राजा फो पेन हिङ बी, सुङताङ तथा हान वंशको इतिहासका साथै तिब्बतको स्रङचङ गम्पोको इतिहास तथा तिब्बतकै काङग्युर र ताङग्युर बौद्ध धर्मका ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ,’ भनेका छन् । जनकलाल शर्माले ‘संस्कृत साहित्यमा मात्रै हैन, अपितु किरातको नाम अन्यत्र पनि पाइन्छ । ग्रिकहरुले किरात जातिलाई किरिआडी (Ceriadae ) अर्थात किराती भनेका छन्’ उल्लेख गरेका छन् (हाम्रो समाजः एक अध्ययन, २०३९, साझा प्रकाशन, पृ २५३) । यसरी नै नेपालका चर्चित विद्वान डा हर्क गुरुङले ‘यस थलो (नेपाल)को धार्मिक तथा सांस्कृतिक विशिष्टताको महात्म्य संस्कृत हिमबत्खण्ड साथै तिब्बती जामलिङ गेशे (तिर्थाटन माला) मा पाइन्छ । त्यो मुल नेपालका आदिवासी किरात थिए । (विषय विविध, पृ २४१ हिमाल किताब–२००६)’ बताएका छन् ।

किरातको बारेमा खोज अनुसन्धान गर्ने विद्वानहरुमा जीपी सिंहको नाम उल्लेखनीय छ । उनले आफ्नाे प्राचीन भारतमा किराँतहरु (अनुवादक टीबी राई) नामक पुस्तकमा ‘प्राचीन भारतीय, ग्रिक तथा रोमन साहित्यमा उल्लेख गरिएका आदिम जातिहरुमा किरात जातिले मुख्य स्थान ओगटेको छ । प्राचीन समयका भारतीय लेखकहरु औ अहिलेका भुगोलशास्त्रीहरु औ इतिहासकारहरुले भारतका प्राचीनकालीन जातिहरुको बारेमा जो लेखेका छन् त्यसमा किरात जातिहरुलाई ठू्लो महत्व दिएका छन् (पृ १)’ भन्दै उनले किरातको बारेमा ‘आर एन स्लेटोरद्वारा संकलित इन्साइक्लोपेडिया, बाजसनेही संहिता, तैत्तरीय ब्राम्हण, सत्पथ ब्राम्हण तथा जैमीनीय ब्राम्हण…..कालिका पुराण, बौद्ध पाली ग्रन्थहरु हिमावन्तोपदेश, अपादन, सुमङगलाबिलासिनी, अभिधम्म पिताकामा आधारित सम्मोहविनोदिनी, मिलिन्द पान्हा, मनुस्मिृति, भरतमुनिको नाट्यशास्त्र, कालिदासको कुमारसम्भव, रघुवंश, विक्रम उर्वशीय, विशाखादत्तको ऐतिहासिक नाटक मुद्राराक्षस, डाण्डिनको दश कुमार चरित, बराहमिहिरको खगोलशास्त्रीय पुस्तक ब्रतसंहिता, भारबीको किरातार्जुनीय, वाण भट्टको कादम्बरी, कल्हणको राजतरंगिनी, बल्लभदेवको शुभ सितावली, सम्मोहन तन्त्र, शक्ति संगम तन्त्र, योगिनी तन्त्र, बौद्धहरुको हेबज्र तन्त्र, ब्राहिला तन्त्र, रुद्रायमाला तन्त्र, कुलरनव तन्त्र, कब्जिका तन्त्र, प्राणतोषिनी तन्त्र, ज्ञानार्नव तन्त्र, कृष्णानन्द अगमशिसाको तन्त्रसार, अभिनव पम्पाको पम्पा भारत, पम्पा रामायण, निजागुणभोगिको विवेक चिन्तामणि, ग्रिक लेखक हेकाटिउसको द पेरियडोस जेस, छेसियम द निडियनको इण्डिका, ग्रिकका तत्कालीन भारतका लागि राजदूत मेगास्थनिसको इण्डिका, पोलेमीको शोध प्रबन्ध, कवि नान्नोसको डायोनिसियस महाकाव्य, फ्रान्सेली तथा जर्मन विद्वानहरु सन्त मार्टिन, रोन्नोव कास्टेन, सिल्बेन लेवी, ल्यासेन, जिम्मर, डा व्युहलर तथा चिनिया पुस्तकहरु पो– अउ–इयो– जिङ, फो–पेन –हिङ–त्रि–जिङ, चिनिया तिर्थयात्रीहरु फाइ हि यान र ह्वेन साङको यात्रा वर्णन, अरबी लेखक अल्बेरुनिको तहकिक–इ–हिन्द, इटलीका यात्रु मार्कोपोलोको यात्रा वर्णन आदिमा किरातहरुको बारेमा वर्णन गरिएको छ (पृ ६–३६)’ भनी उल्लेख गरेका छन् ।

नेपालमा किरातहरु आदिमकालदेखि बसोबास गरिआएका छन् । उनीहरु यस देशका आदिवासी हुन् । यसैकारण नेपालले सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिदा पुरा गर्नुपर्ने मापदण्डमा आफ्ना मौलिक कुराहरु पेस गर्दा राष्ट्रिय झण्डा, निशान, फूल–लालिगुराँस, रंग–सिम्रिक, चरा–डाँफे, लिपिमा रञ्जना र आदिवासी किरात जाति अभिलिखित गरेको छ । विभिन्न शोधकर्ता, लेखक, इतिहासकारहरुको मतमा नेपाल मात्रै नभएर भूमध्यसागरको आसपासदेखि टर्की सिरिया, इराक, किर्गिस्तान, अफगानिस्तान हुँदै भियतनाम, बर्मा (म्यानमार), कम्बोडियासम्म हिमालय पर्वतको दक्षिणतिरको समस्त भूभागका प्राचीन बासिन्दा किरात हुन् । संस्कृत वाङमय विष्णु पुराण, लिङ्ग पुराण, वायु पुराण, मार्कन्डेय पुराण, ब्रम्ह पुराणमा ‘पूर्वे किराता यस्यान्ते, पश्चिमे यवनाः स्थिताः’ उल्लेख भएकोले यस कुराको पुष्टि हुन्छ । मरुततन्त्र हिमवत् खण्डमा किरात देशको विवरण यस प्रकार उल्लेख छ–

‘किरात देशोदेवेशि विन्ध्ये शैलेच तिष्ठति
काश्मिरन्तु समारभ्य कामरुपात्तु पश्चिमे
भोटान्तदेशो देवेशि, मानसेशाच्च दक्षिणे
मानसेशा पक्ष पूर्व चीनदेशः प्रकीर्तित
कैलालीशं (तिरं) समारम्भ सरयूयोनितः परे
नगदेशे महेशान्ति महाचिनानी मिथ्योभवेत
नटेश्वर समारभ्य योगिनेन्ते महेश्वरी ।’

उल्लेखित रुपमा किरात देशको वर्णन गरिएको क्षेत्रभित्र रहेको नेपालको नाम प्राचीन समयमा ‘किरात देश’ थियो । टीकाराम शर्माले ‘प्राचीन संस्कृत वाङमयमा नेपाल शब्दको पर्यायको रुपमा किरात शब्द यत्रतत्र प्रयोग भएको दृष्टिगोचर हुन्छ (नेपालको राजपरम्परा र साहित्यिक रुपरेखा, पृ २४)’ भनेका छन् । ज्ञानमणि नेपालले नेपाललाई किरात देश भन्ने गरिएको पुष्टि गर्दै ‘आजभोलि पनि धार्मिक कर्मकाण्ड गर्दा संकल्प वाक्यमा ‘कैरात देशे’ भन्ने हुँदैछ (नेपाल निरुक्त पृ २८६ ।’ भनेका छन् । धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठले पान्चाली शासन पद्धतिको ऐतिहासिक विवेचना–२०३५ मा ‘नेपाली इतिहासमा चार प्रमुख धाराहरु छन् । पहिलो किरात काल हो, जुन युगमा नेपालको जन्म भयो । यस अधिराज्यले नेपाल नाम किरात कालमै पायो (पृ ३)’ भन्ने उल्लेख गरेका छन् ।

किरातहरु नेपालका आदिवासी र नेपाल राज्यका संस्थापक हुन् । उनीहरुले नेपालमा ३२ पुस्ता (कतै २९ पुस्ता भनिएको)ले करिब १६ सय वर्षसम्म शासन गरेका थिए । यो देश निर्माणमा उनीहरुको महत्वपूर्ण योगदान छ । गोर्खाली राज्य विस्तारको समयसम्म पनि पूर्वी नेपालमा उनीहरुको शासकीय हैसियत कायमै थियो । यस समयमा बनेपा धुलिखेल चौकोटमा महेन्द्रसिंह राई, हरिहरपुरगढी सिन्धुलीमा विखाचन्द्र राई, रावागढी खोटाङमा चतिम राई, चौदण्डीगढी उदयपुरमा अगमसिंह राई, हतुवागढी भोजपुरमा सोनाहाङ राई, चैनपुरगढी संखुवासभामा काङसो राई र विजयपुरगढी मोरङ (हाल सुनसरी)मा बुद्धिकर्ण राई कोही आफै शासकको रुपमा र कोही सेन राजाको चौतरिया (प्रधानमन्त्री) को रुपमा शासन गरिरहेका थिए । यी किरात शासकहरुमध्ये चौदण्डीगढीका चौतरिया अगमसिंह राईबाहेक सबैले गोर्खाली सेनाविरुद्धको लडाईंमा वीरगति प्राप्त गरेका थिए ।

आज समय बदलिएको छ । नेपालमा गणतन्त्र स्थापना भएको छ । यस अवस्थामा सबैलाई न्याय, समानता, सम्मान, पहिचान, समान अवसर दिनुपर्दछ । संघीयता कार्यान्वयनको क्रममा प्रदेशको नामाकरण गर्दा पूर्वी नेपाल मुलतः एक नम्बर प्रदेशलाई प्रदेशसभाले ‘किरात’ नामाकरण गरिनु उपयुक्त छ । तथापि यहाँको मधेसी समुदाय बहुल तराई क्षेत्रमा मधेस कोच प्रदेश, सुदूर पहाडी क्षेत्रमा लिम्बुवान प्रदेश र पश्चिम उत्तरी क्षेत्रको केही भागमा शेर्पा प्रदेश स्थापनाको माग भइरहेकोले यी भावनाहरुको पनि कदर गर्न आवश्यक छ ।

नेपालको पूर्वको भूमिलाई ऐतिहासिक कालदेखि नै किरात प्रदेश भनिदै आइएको छ । यसबारेमा अनेकौ लिखित सामग्रीहरु प्रमाणको रुपमा छन् । ज्ञानमणि नेपालले ‘पुरानो समयमा सप्तकोशीको प्रश्रवणक्षेत्र किरात प्रदेशको नामले पुकारिन्थ्यो । …. यसको पूर्व इतिहासतिर दृष्टि दिँदा २ हजार वर्षभन्दा पहिलेदेखि यस प्रदेशमा विभिन्न किरात जातिको बसोबास हुँदै आएको देखिन्छ (ऐ, पृ २८६)’ भनेका छन् । जनकलाल शर्माले ‘किरात जातिको बसोबास भएको भूमिलाई किरात प्रदेश भनिन्छ । यो प्रदेश तीन भागमा विभाजित भएको पाइन्छ । ती तीन प्रदेश …पूर्वी नेपालमा रहेको सुनकोशीदेखि लिखु खोलासम्मको भूभागलाई वल्लो किरात, लिखु खोलादेखि अरुण नदीसम्मको भूभागलाई माझ किरात र अरुण नदीदेखि मेची नदी र सिंगलिला पर्वतको पश्चिम पानीढलोसम्मको भूभागलाई पल्लो किरात भनिन्छ । (ऐ, पृ २५४)’ भनी उल्लेख गरेका छन् ।

यसरी नै पूर्वी नेपाल किरात भूमि भएको कुरालाई इंगित गर्दै डा हर्क गुरुङले ‘अघि पूर्वी नेपालमा किरात जातिहरुको राज्य थियो……पूर्वी पहाड र मोरङमा समतल भूमिमाथि किरात शासन हुँदा यो ठाउँ (विजयपुर) विकसित अवस्थामा थियो (ऐ, पृ ४८, ५६)’ भनेका छन् । विद्वान किरात इतिहासकार काजीमान कन्दङवाले राईहरु कहिलेदेखि लिम्बू भए ? नामक छहरा साप्ताहिकमा प्रकाशित (ब्राम्हणवाद र जनजाति–२०६३, सम्पादक– गोपाल छाङछा राई) आफ्नो लेखमा ‘…. मोरङ राज्यको समतल क्षेत्रलाई तराई भनियो र पहाड खण्डलाई किरात भनियो । किरात क्षेत्रलाई १. वल्लो किरात २. माझ किरात ३. पल्लो किरातमा विभाजन गरिएको छ’ भनी नेपालको पूर्वी क्षेत्रको पहाड मधेस किरात भूमि भएको पुष्टि गरेका छन् ।

किरात भूमिको चर्चा गर्ने क्रममा चाल्र्स म्याग्डोगलले The Kulunge Rai, A study in Kinship and marriage exchange-1979 नामक आफ्नाे अनुसन्धनात्मक कृतिमा ‘The hills of eastern Nepal, so long associated with the Kirati, still are referred to geographically as Kirat (पृ ३)’ भनेका छन् । लिम्बुवानको ऐतिहासिक अध्ययन–२०४२ नामक शोधग्रन्थका शोधकर्ता शिवकुमार श्रेष्ठले ‘श्री ५ पृथ्वीनारायण शाहको समयसम्म किरात प्रदेश तामाकोशीदेखि पूर्वमा टिस्टासम्म थियो (पृ ८७)’ भनी बताएका छन् । किरात भूमिको बारेमा पृथ्वीनारायण शाहले त्यस समयमा दाङको भैरव मन्दिरमा रहने आफ्नाे तान्त्रिक गुरु भगवन्तनाथ योगीलाई लेखेका दुईवटा चिट्ठीहरु महत्वपूर्ण छन् । किनभने यिनै पृथ्वीनारायण शाह नै किरात मूलुक कब्जा गर्ने प्रमुख व्यक्ति हुन् । उनले लेखेका पत्रहरु यस्ता छन्–

१) ई. १७७३ (गते उल्लेख नभएको) मा लेखेको पत्रको व्यहोरा-

‘…..उप्रान्त पूर्वका काजलाई आशीर्वाद बक्सी पठाया गयेथ्यो. आशीर्वाद शिर चढाई कन किरातको काज गर्याथ्यौ. आफ्ना आशिर्वादले अरुण साँध लाग्यो. हजार एक वैरी काटियो. सये चार वैरी नदी माहा बगी मर्यो. सय चौध जहान बच्चा पकडिया. वल्लो किरात फत्ते भयो. किरात फत्ते भयाको पगडि एक चढाई पठायाको पहुँचला.’
२) ११ सेप्टेम्बर १७७४ मा लेखेको पत्रको व्यहोरा-

‘…. उप्रान्त किरातका काजलाई तरबार हुकुम बक्सी पठाया गयेथ्यो. आशिर्वादले सबै फत्य भयो. मधेश माहा कनकाई नदी पहाड माहा साभा षोलो तमोर नदीको साँध लाग्यो.’

नेपालका मुर्धन्य मानवशास्त्री/समाजशास्त्री डोरबहादुर विष्टले आफ्नाे चर्चित पुस्तक Fatalism and development-1991 मा ‘Traditionally, the regions of Nepal were identified by the names of its various major ethnic communities. For instance, the eastern hills beyond Sunkoshi were the Kirat pradesh (Kirat region)’ उल्लेख गरेका छन् । अर्का विद्वान रामचन्द्र राई रुपाबुङले ‘वर्तमान नेपालको काठमाडौ उपत्यकादेखि पूर्वपट्टिको क्षेत्रमा किरातहरुकै मात्र बसोबास भएकोले बनेपादेखि पूर्व जनकपुर अञ्चललाई वल्लो किरात, सगरमाथा कोशी अञ्चल अरुण पश्चिमलाई माझ किरात र अरुण नदी पूर्वको कोशी अञ्चल र मेची अञ्चललाई पल्लो किरात नामले पुकारिन्थ्यो (ऐ,पृ २)’ भनेका छन् । वीपी कोइरालाले आत्मवृत्तान्त–२०५५ नामक आफ्नाे संस्मरणात्मक कृतिमा ‘त्यतिबेला (२००७ साल) पूर्वमा चेम्जोङ, भुदेव राई, नरोत्तम राई र नारदमुनि थुलुङहरुले किरात प्रदेशमा स्वराज्यको माग गरेका थिए (पृ १६१)’ भनेका छन् ।

यसरी नै विद्वान लेखक राजेन्द्र श्रेष्ठले मध्यकालीन नेपालमा संघीय स्वरुपको शासन प्रणाली रहेको कुरा आफ्नाे पुस्तक संघीय गणतन्त्र नेपाल, समावेशी लोकतन्त्रको उच्चतम् रुप–२०१४ मा विचार व्यक्त गर्दै ‘पूर्वको किरात र पश्चिमको मगरात पनि संघीय प्रकृतिका राज्य नै देखिन्छन् (पृ १६०)’ भनी बताएका छन् । अर्का विद्वान प्रा.डा. गोपाल शिवाकोटीले किराँत जाति–२०७४ नामक आफ्नाे कृतिमा ‘किराँत जाति नेपालमा बसोबास गर्ने जातिहरुमध्ये प्रमुख जाति हो । यो जाति जातिका रुपमा मात्रै नभएर महाजाति हो (पृ १)’ भन्दै ‘काठमाडौलाई केन्द्र मानेर सुनकोशीदेखि लिखुसम्म वल्लो किराँत, लिखुदेखि अरुणसम्म माझ किराँत र अरुणदेखि मेचीसम्म पल्लो किराँत’ भनी उल्लेख गरेका छन् ।

आफ्नाे विचार राख्ने उल्लेखित विद्वानहरुबाहेक थुप्रै स्वदेशी तथा विदेशी विद्वानहरुले किरातको बारेमा पुस्तक, लेख, शोध तथा अनुसन्धानात्मक कृतिहरु प्रकाशित गरेका छन् । यी लेखकहरुमा राहुल सांकृत्यायन, डा. सुनितीकुमार चटर्जी, परसीबल ल्याण्डन, ब्रायण्ड हडसन, कर्कप्याट्रिक, ह्यामिल्टन, डा. रांघेय राघव, डा. गोपाल गुरुङ, बाबुराम आचार्य, बालचन्द्र शर्मा, सुर्यविक्रम ज्ञवाली, डा. महेशचन्द्र रेग्मी, डा. टंक सुब्बा, नारदमुनि थुलुङ, आनन्द सन्तोषी राई, घल राई, हिमालधन राई, भोजराज पोखरेल, टंकबहादुर राई, खड्गविक्रम राई, नयराज पन्त, टोनी ह्यागन, धुस्वा सायमी, गोपाल किराती, डा. साफल्य अमात्य, मार्टिन ग्यान्जले, डा. हर्षबहादुर बुढा मगर आदि रहेका छन् । यी सबै विद्वानहरुको विचार यो छोटो आलेखमा उल्लेख गर्न सम्भव छैन ।

यथार्थमा भन्दा किरात जाति मात्रै नभएर देश, भूमि, सभ्यता, संस्कृति साथै आस्था पनि हो । किरातेश्वर महादेव र पार्वती किरातहरुका आदि पुर्खा हुन् । ज्ञानमणि नेपालले महाकवि भारविको किरातार्जुनिय महाकाव्यको प्रसंग उल्लेख गर्दै महादेव र पार्वतीको विवाह सप्तकोशीको संगमस्थल मैनास्थानमा (ऐ) भएको बताएका छन् । यसरी नै किरातेश्वर महादेव पार्वती मृगरुप धारण गरी पाशुपत क्षेत्रमा विचरण गरेकाले नै यहाँ पशुपतिको मन्दिर स्थापना गरिएको विश्वास छ । पशुपतिको पुरानो नाम किरातेश्वर महादेव मन्दिर भएको भनाइ छ । डा. हर्क गुरुङले ‘किरात महादेव आएर खेलेको हाम्रै हिमालमा हो (ऐ,पृ ६१)’ भनेका छन् ।

स्मरणीय छ यिनै किरातेश्वर महादेव हिन्दु धर्मावलम्बीहरुका तीन आराध्यदेवमध्ये एक हुन् । किरातेश्वर महादेवलाई बौद्ध धर्मावलम्बीहरुले पनि सबैभन्दा माथिल्लो स्थान दिएर सम्मान गर्दछन् । वर्तमान समयसम्म आफ्नाे मौलिक किरात पहिचान कायम राख्ने राई, लिम्बु, सुनुवार, याक्खाहरुले आफ्नाे सामाजिक संस्थाको नाम अगाडि किरात उल्लेख गरेका छन् । वास्तवमा किरात, बौद्ध, हिन्दु धर्मावलम्बीहरुको निम्ति ‘किरात’ साझा आस्था, साझा भावना र साझा पहिचान हो । तसर्थ, बेनामी एक नम्बर प्रदेशलाई प्रदेश सभाले किरात प्रदेश नामाकरण गर्नु वान्छनीय हुन्छ । संघीय नेपालमा किरात प्रदेश स्थापना गरिनुपर्दछ ।

(लेखक राजकुमार राई पूर्वसांसद तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् । उनकाे याे लेख यसअघि सार्वजनिक डटकममा पब्लिस भएकाे थियाे ।)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्