Sunday, December 4, 2022
9.7 C
Diktel

पृथ्वीनारायण शाह ऐतिहासिक पात्र हुन्, तर उनलाई एकताको प्रतिक मान्न सकिदैन

Subtitle

प्रिनाशा, अर्थात राजा पृथ्वीनारायण शाह, नेपाल र नेपाली हुन्जेल चर्चामा रहनेछन् । तर पछिल्लो समयमा प्रिनाशाको ब्यक्तित्वलाई लिएर पुरातनवादीहरु, हिन्दुवादीहरु, मौसुफवादीहरु, गणतन्त्र बिरोधीहरु, सामाजिक सञ्जालमा आफ्ना कुण्ठा पोख्न थालेका छन् । कर्मकाण्डका रुपमा मनाइँदै आएको पृथ्वीजयन्तीलाई उछालेर, उकेरा लगाएर, बढाइचढाइ गरेर, राजतन्त्र नै ठीक थियो भन्ने आशयका अभिब्यक्तिहरु दिन थालेको अब घामझैँ छर्लङ्ग भैसक्यो । राजतन्त्र छँदाखेरी नै चाटुकार-इतिहासकारहरुले प्रिनाशाको छविलाई Larger than Life बनाए । राजालाई राजैमा मात्र सिमित नराखी, महाराज बनाए । अझ प्रिनाशालाई त बडामहाराज पगडी गुँथाइदिए, किन्वद्वन्तीहरु कथिए, देवत्वकरण नै गरे प्रिनाशालाई ।

हो, नेपालको इतिहासमा प्रिनाशाको बिशेष योगदान रहेको छ । गोर्खा राज्यको बिस्तारको शिलशिलामा, स-साना भुरेटाकुरे, बाइसे-चौबिसे राज्य रजौटाहरुलाई युद्वका माध्यमद्वारा कब्जा गरी आफ्नो गोर्खा राज्यमा गाभेका थिए । युद्वमा अनेक षड्यन्त्र गरी बिरोधीलाई सिध्याइन्छ । युद्वको प्रक्रिती नै यस्तो हुन्छ । प्रिनाशाले पनि त्यही गरे । तर किर्तिपुर कब्जा पछि, लडाईंँ तुरेपछि, आफ्नै राज्यमा किर्तिपुर आइसकेपछि पनि उक्त युद्वमा आफ्नो सेनापति मारिएको र आफ्नो भाइ सुरप्रताप शाहको आँखा फुटेको बदला लिन, भेटेजति किर्तिपुरेहरुको नाक काट्न आदेश दिने प्रिनाशाको मानसिकता, एकीकरण नभएर आफ्नो राज्य बिस्तार गरेको प्रमाणित भएन र ?

प्रिनाशाको छविलाई भजाएर ‘राष्ट्रिय एकता दिवस’को नारा, अचेल, सामाजिक सञ्जालमा खुबै भट्ट्याइन्छ । यो ‘एकता दिवस’, हामी एक भैसकेको दिवस हो कि, हामी एक हुनुपर्छ भन्ने दिवस हो ? चार जात छत्तिस बर्ण भनेर प्रिनाशाले खुट्ट्याइ सकेपछि, बर्ण र जातमा त हामी बिभाजित भयौँ नि ! ‘एक’ कसरी भयौँ ? जातीय भेदभाव र छुवाछुत भएको समाजमा एकता मुख बजारेर हुँदैन त, न त ‘एकता दिवस’ मनाएर हुन्छ ! यसका लागि राज्यस्तरबाटै सहासिक कदम चाली कठोर सामाजिक सुधार अभियान थाल्नुपर्छ ।

प्रिनाशाले, जे जस्तो जसरी गरे पनि, भुरेटाकुरे राज्यहरुलाई गाभी, बिशाल नेपाल राज्य निर्माण गरे । निसन्देह, यसको जस प्रिनाशालाई जान्छ । उनले भौगोलिक रुपमा थुप्रै जातिहरुलाई एउटा बिशाल देशमा समाबेश गरे । तर तिनीहरु बिचमा भावनात्मक एकताको सुत्रपात गर्न सकेनन् ।

बिशाल नेपाल निर्माणको जस प्रिनाशालाई जान्छ, अझ किटेरै भन्दा बहादुर शाहलाई जान्छ ।

प्रिनाशाभक्तहरु बर्षको ३६३ दिन चुपो लागेर बस्छन् । तर पुस २७ गते चाहिँ यिनमा देउता चढ्छ । अचाक्लिसित प्रिनाशाको गुणगान गाउँछन् । चोर औँला ठड्याएको प्रिनाशाको तस्वीर फेसबुकमा कपी पेष्ट गरेर छ्याल्लब्याल्ल पर्छन् । कतिले त आफ्नै चोर औँला ठड्याएको तस्वीर सामाजिक सञ्जालमा राखेर प्रिनाशाको स्तुती गाउँछन् । प्रिनाशाले उहिले बोलेका, खुइले कुराहरु राखेर दर्शन छाँटछन् । एकताका प्रतिक, राष्ट्र निर्माता, राष्ट्रपिता आदि इत्यादी पगडी गुँथ्याएर उनको देवत्वकरण गरि आएका छन् । हो, बिशाल नेपाल निर्माणको जस प्रिनाशालाई जान्छ, अझ किटेरै भन्दा बहादुर शाहलाई जान्छ ।

प्रिनाशा नभएको भए नेपाल हुन्थेन, हामी नेपाली हुन्थेनौँ जस्ता हाइपोथेटिकल कुराहरु बिगत पञ्चायतकालदेखी नै भन्दै आएको हो राजावादीहरुले । नेपाल नभएको भए अर्थोक कुनै न कुनै हिमाली राज्य हुन्थ्यो । प्रिनाशा नहुँदा यस देशका बासिन्दा सखापै हुने, पुरै गुलाम हुने त थिएन होला । बाइसे चौबिसे टुक्रे राज्यहरु भएर त संधै बस्दैन थियो होला । यस देशमा रहेका बहुजातिहरुको सल्लाह बमोजिम कुनै न कुनै राष्ट्रियता हामी अंगाल्थ्यौँ । प्रिनाशाले सुत्रपात गरेको राज्यभन्दा, राम्रो बिभेदरहित देश पो हुन्थ्यो कि ? यो पाटो पनि सम्झौँ न । खैर यो पनि हाइपोथेटिकल कुरा हो । प्रिनाशाका कमी कमजोरीहरु छन्, तर दुत्कार्नु नै पर्ने ब्यक्ति उनी होइनन् । बिशाल नेपाल निर्माणमा उनको यथेष्ट देन छ ।

अब आउँ प्रिनाशाका तथाकथित महाबाणीका सम्बन्धमा- ‘दुई ढुङ्गा बिचको तरुल’ सुन्दा सुन्दा घाँटिसम्मै आइसक्यो । सानैदेखि सुन्दै आएको कुरो हो । यो भनाइ उनैको हो भन्ने कुनै प्रमाण छैन । उनैले भने पनि, कुन चाहिँ दुरद्रिष्टी कुरा गरेका हुन् र ? ठुला दुई देशका बिचमा रहेको फुच्चे देश नभनेर साहित्यिक पारामा दुई ढुङ्गा बिचको तरुल भनिएको त हो । यो भन्दा गहकिलो कुराहरु हाम्रै गाउँघरहरुमा हाम्रा च्याब्जु बराजुहरुले भनेर गएका छन् ।

‘बिदेशी साहुहरुलाई आफ्नो मुलुकमा हुलेमा, मुलुक कंगाल पार्नेछ’ भन्ने प्रिनाशाको कथन अहिलेको भुमन्डलीय बजार ब्यवस्थामा मेल खान्छ ? त्यतिबेलाको समय अर्कै थियो, समाज अर्कै थियो । प्रिनाशाले आफ्नो चेत र गच्छेनुसार मुलुकलाई जे जति गरेका थिए, त्यस बापत नेपाली समाजले यथेष्ट सम्मान दिइआएको छ, बर्षेनि जयन्ती मनाएको छ, भुलेका छैनन् उनलाई !

तर मुलुक धेरै अगाडि बढिसकेको छ । प्रिनाशाको त्यतिबेलाको चिन्तन अहिले २१औँ शताब्दीमा भुत्ते सावित हुन्छ । अहिलेको गणतन्त्रे चिन्तन भन्दा उहिलेको प्रिनाशे सोच नै ठीक थियो भने जस्तो अभिब्यक्ति दिन्छन् नेपाले शिक्षित बाबुसाहेबहरु ! कि तिनले राजनीति बुझेका छैनन् कि तिनले बुझ पचाइरहेका छन् वा झुठ बोलिरहेका छन् । राजतन्त्र छँदा आफ्ना शाखा सन्तानले ढलिमली गरी आएको सुखसयल, गणतन्त्र आगमन पश्चात खोसिएपछि, तिनीहरु गणतन्त्र बिरोधी हुने नै भए र फेरि ती सुनौला दिन फिर्किएला भनेर र्याल चुहाउँदै तिनले प्रिनाशाको पक्षमा उकेरा लगाउनु कुनै अनौठो कुरै होइन । तर नेपाले बुद्विजिवी बर्गहरु पनि प्रिनाशाको छविलाई अनावश्यक बढावा दिई गणतान्त्रिक ब्यवस्थालाई निरुत्साह गरी पुरातनवादीलाई थुम्थुम्याउने प्रयास गरेको देख्दा मलाई ताज्जुब लागेको छ । शिक्षित जमात नै यथास्थितिवादी बनेपछि मुलुक कायापलट हुन निकै समय लाग्छ । तथाकथित प्रिनाशा महाबाणी भन्दा माथि नउक्ली नेपाल उँभो लाग्दैन ।

कब्जा गरेर भए पनि वा जे गरेर भए पनि प्रिनाशाले बिशाल नेपाल निर्माण गरे । यसको जस उनलाई जान्छ । तर उनलाई एकताको प्रतिक मान्न मिल्दैन । जसरी दक्षिण अफ्रिकामा मण्डेला र संयुक्त राज्य अमेरिकामा लिँकन, MLK, JFK लाई एकताको प्रतिक मानिन्दैन, त्यस्तै नेपालमा प्रिनाशा एकताको प्रतिक हुँदै होइन । भगवान त एकताको प्रतिक बन्न नसकेको मानवीय समाजमा ब्यक्तिलाई एकताको प्रतिक ठान्नु दुस्साहस ठहरिन्छ ।

कुनै पनि ब्यक्तित्व राष्ट्रवादको प्रतिक हुनै सक्दैन । प्रिनाशाको जयन्ती मनाउने र उनलाई इतिहासकै पानामा सिमित राख्नु नै उचित हुन्छ ।

पुस २७ गते प्रिनाशालाई सम्झनुका साथै किर्तिपुरस्थित छ्याक:ल्वहं भन्ने ठाउँमा रहेको एउटा चेप्टो ढुङ्गा पनि खुब चर्चामा आउँछ । स्थानियबासीका अनुसार त्यो चेप्टो डुङ्गामा प्रिनाशाका सेनापति कालु पाँडे मारिएका थिए । कोहीको भनाइ चाहिँ त्यो ढुङ्गामा ठेस लागेर प्रिनाशा लडेका थिए रे । गोर्खाली सेनालाई किर्तिपुर जित्न ठुलो सकस परेको थियो । तिनचोटि हमला भएको थियो किर्तिपुरमाथि । जितेपछि पनि रिसको आवेगमा प्रिनाशाका सेनाले भेटेजति किर्तिपुरेहरुको नाक काटेको कुरा जग जाहेर छ । पिढिदर पिढी सुनाउँदै र सुन्दै आएका छन् किर्तिपुरेहरुले, प्रिनाशा र प्रिनाशाका सेनाहरुले गरेका अत्याचार । अझै निकै बर्ष लाग्न सक्छ त्यो घाउ भर्न । युद्वमा मारिनु एउटा कुरा भयो । तर नाक कटाइ किर्तिपुरेहरुलाई भुल्न गाह्रो पर्छ । अझै शताब्दीयौँ लाग्न सक्छ किर्तिपुरेहरुको दुखेको चित्त निर्मल हुन । आफ्ना बाबु बाजेका कुरा सुनेर रिस थाम्न नसकी नव पिढिका किर्तिपुरेहरु पनि त्यो चेप्टो ढुङ्गा बाटो परेको बेला, अझै थुक्ने गर्छन् । थुक्नुको कारण चाहिँ त्यो ढुङ्गोमा आफ्नो दुस्मन लडेको र अर्को चाहिँ मरेको हुनाले थुक्ने गर्छन् रे ।

यो घटना भएको अब २५० बर्ष भैसक्यो । नाक कटाइको कटु सम्झनाले मनमा उर्लिने रिस पोख्न, किर्तिपुरेहरुले उक्त ढुङ्गामा थुक्नु, बुझ्न सकिने कुरा हो । तर बाहिरका मानिस हुल बाँधी किर्तिपुर गएर उक्त ढुङ्गामा थुक्नु र खकार्नु युक्तिसंगत हो त ? किर्तिपुरेहरुसित एैक्यबद्वता जनाउन उनीहरुकै ठाउँमा गएर थुक्नै पर्छ र ? ऐक्यबद्धता जनाउने अन्य उपाय पनि छन् । चाटुकार-इतिहासकारहरुले लेखेको प्रिनाशा सम्बन्धी इतिहासलाई पुनर्लेखन गरिनुपर्छ । मन मुटुभरि चित्त दुखाएर बसेका किर्तिपुरेहरुसित नेपाल राज्यले माफी मागेर उनीहरुको शिर उँचाे पार्नुपर्छ । गोर्खालीसितको युद्वको सम्झना स्वरुप किर्तिपुरे वीर बिरङ्गनाहरुको शालिक, उक्त चेप्टे ढुङ्गाको सेरोफेरोमा राखिनुपर्छ ।

जे जसरी जस्तो गरी भए पनि प्रिनाशाले बिशाल नेपाल निर्माण गरेको यथार्थलाई बङ्ग्याउनु भनेको इतिहास नकार्नु हो । नेपाली इतिहासमा उनले चर्चायोग्य काम गरेका छन् । सामाजिक मापदण्डमा टेकेर ब्यक्तिको मापन हुनुपर्छ, न कि राजा वा कुनै नेता हुनासाथ तिनको प्रशंशाको पुल बांध्ने हो । पछिल्लो समयमा प्रिनाशाको छविलाई राष्ट्रवादिताको प्रयायवाची स्वरुप अर्थ्याउन थालिएको छ । कुनै पनि ब्यक्तित्व राष्ट्रवादको प्रतिक हुनै सक्दैन । प्रिनाशाको जयन्ती मनाउने र उनलाई इतिहासकै पानामा सिमित राख्नु नै उचित हुन्छ । प्रिनाशाको अनावश्यक प्रचार प्रसार गर्ने, स्तुती गाउने, उनको ब्यक्तित्वको चाहिने भन्दा बढ्ता उकेरा लगाउने, उनलाई Larger than life बनाइ देवत्वकरण गर्ने कृयाकलाप प्रत्युत्पादक हुन जान्छ । यस्ता गतिबिधिले कालान्तरमा उनी किन्वदन्तीका पात्रमा परिणत हुन्छ, जबकि उनी वास्तविक ऐतिहासिक पात्र हुन् । (याे सामग्री लामाकाे फेसबुकबाट लिइएकाे हाे)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्