Sunday, November 27, 2022
10.5 C
Diktel

नेपालकाे किरात र भारतकाे Kirat (कीरत) फरक हुन्

Subtitle

नेपालका किरात को हुन् ?

नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली वृहत् शब्दकोश २०७५ अनुसार किरात प्राचीन नेपालमा शासन गर्ने एक राजवंशको इतिहास भएको नेपालको राजनीतिक इतिहासमा प्रशिद्ध माझ किरात र पल्लो किरात लिम्बुवान क्षेत्रमा बसोवास गर्ने एक प्राचीन समुदाय लिम्बू, राई आदि हुन् । बाबुराम आचार्यका अनुसार किरात एक आदिम समुदाय वा वर्तमान नेपालको मूलनिवासीहरु हुन् । प्रेमबहादुर माबोहाङ, भुपेन्द्र ढुंगेल र इमानसिंह चेम्जोङका अनुसार किरातभित्र लिम्बू, राई, याक्खा, सुनुवार साथै नेपालका धेरै आदिवासीहरु पर्दछन् ।

माथि उल्लेख भएका बाहेक अरु थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐतिहासिक दस्तावेजहरुमा नेपालका किरातहरुको बारेमा प्रशस्तै वर्णन पाइन्छन् । तीनै ऐतिहासिक पृष्टभूमिको आधारमा नेपालको राजनीतिक विकासक्रममा सन् १९९० को दशकसम्म आइपुग्दा आफूलाई गौरवकासाथ किरातभित्रका हामी हौं भन्ने नेपालका प्रमुख आदिवासीहरु लिम्बू, राई, सुनुवार र याक्खा रहे ।

त्यसैले, उनीहरुले आफ्नो सामुदायिक साझा प्रतिनिधिमूलक आदिवासी संगठनहरु किरात शब्दलाई अगाडि राखी निर्माण गरे । जस्तै लिम्बूले किरात याक्थुङ चुम्लुङ, राईले किरात राई यायोक्खा, याक्खाले किरात याक्खा छुम्मा आदि । अहिले सन् २०२२ सम्म आइपुग्दा आफूलाई किरातभित्रको समुदाय हौं भनि औपचारिक रुपमा स्वीकार्ने थप चारवटा समुदायहरु भएका छन् । ती थामी, हायू, सुरेल र जिरेल हुन् । यी समुदायहरु सबैको आ–आफ्नै भाषाहरु भएता पनि सबैले ऐतिहासिक रुपमा लिम्बू भाषामा प्रयोग भइरहेको किरात सिरिजङ्गा लिपिलाई आ–आफ्नो लिपिको रुपमा प्रयोग गर्ने निर्णय गरिसकेका छन् ।

यसरी, नेपालमा प्राचीन किरात वंशको अपनत्वमा भइरहेको वृद्धिकैबीचमा किरातभित्रको एक प्रमुख समुदाय लिम्बूभित्र किरात शब्द, इतिहास र अपनत्वमा केही आलोचनात्मक प्रश्नहरु उठ्न प्रारम्भ भएको छ । यसैक्रममा केहीसमय अगाडिदेखि सामाजिक सञ्जालहरुमा लिम्बू समुदायभित्रका केही सामाजिक तथा धार्मिक पक्षधर, बुद्धिजीवी, पत्रकार समेतले भारतको पञ्जाबबाट प्रारम्भ भएको सिख धर्मको धार्मिक दर्शन (किरत/कीर्त करो) सँग मूल रुपमा जोडिएर निर्माण भएका किरत समाज, किरत प्रवचन, किरत भजन, किरत नाम, किरतुर भन्ने स्थानका नामहरु लेखनको लागि हिन्दीकृत रोमन लिपिमा प्रायोग भएका Kirat, Kiratpur जस्ता शब्दहरुलाई नेपालको इतिहासमा उल्लेखित किरात शब्दको समानार्थी शब्द हो कि भन्ने गरी प्रस्तुत गर्दै आएका छन् । यसले किरात शब्दमा एउटा अष्पष्टता वा भ्रम निश्चित रुपमा सिर्जना गरेको छ । तर यसको उत्तर समाजमा अहिलेसम्म बाहिर आएको छैन ।

अझ यो शब्दलाई सिख धर्मिक पवित्रस्थल Kiratpur Sahib (किरतपुर साहिब), सिख धर्मकै सिद्धान्त अनुसारको प्रवचन, भजन, गीत लगायत व्यक्तिको नाम तथा टाइटलहरुमा प्रयोग भएको Kirat (किरत/कीर्त) को प्रसंग उठाउँदै सिधै सिख धार्मिक पञ्जाबी वंशसँग नेपालको किरातहरुको वंशीय सम्बन्ध जोडिन्छ त भन्ने प्रश्न पनि उठाइएको छ । यी अष्पष्टताहरुले लिम्बूहरु किरात हुन् भन्नुमा आफ्नो पनि अष्पष्टता भएको आशय पनि व्यक्त हुँदै आएका छन् । यी प्रश्नहरुको प्रमाणको रुपमा सामाजिक सञ्जालमा भारतको सिख धर्मसँग सम्बन्धित Kirat, Kiratpur आदि लेखिएका विभिन्न नाम, स्थान, कम्पनी आदिका फोटोहरु पेश गरिएका छन् । तिनीहरुमध्ये केही यो पोष्टसँगै राखिएका छन् ।

किरातभित्रको लिम्बू समाजमा उठेको यो प्रश्न एउटा गम्भीर प्रश्न हो । यस विषयमा थप अध्ययन गर्दा मूलतः सिख धार्मिक आस्थाको आधारमा प्रचलित Kirat (कीरत/कीर्त), Kiratpur (कीरतपुर) शब्द र यिनीहरुको नेपालका आदिवासी वा भूमिपुत्र किरातभित्रका लिम्बू, राई, सुनुवार, याक्खा, जिरेल, सुरेल, हायू, थामी आदिसँग सम्बन्ध नभएको पाइन्छ । ती शब्दहरुको भारतको सिख धार्मिक सन्दर्भमा फरक अर्थले प्रयोग भएका हुन् । तसर्थ, यसलाई नेपालको इतिहासदेखि दर्ज भएर आएको किरातको सन्दर्भ, अर्थ, इतिहास र वंशसँग नजोडिने पुष्टि गर्दछ । जुन कुराहरु तथ्यगत रुपमा समाजमा प्रस्तुत गर्नु यो लेखको उद्देश्य हो ।

सिख धार्मिक आस्थामा Kirat (कीरत/कीर्त) के हो ?

कीरत/कीर्त कर्नि (Kirat Karnī) वा कीरत/कीर्त करो (Kirat Karō) वा कीरत/कीर्त कर (Kirat Kar) भन्ने, सिख धार्मिक दर्शनको एक प्रमुख सिद्धान्त हो । यसको जगमा भारतको पञ्जाव, महाराष्ट्र, हरियाना, बम्बई, यूपी लगायत धेरै स्थानमा ब्यानर, सामाजिक संस्था, मान्छेका नाम, व्यापारिक लोगो तथा संस्था, भजन, गीत आदि बनेका छन् । सिख धर्ममा कीरत/कीर्त कर्नि (Kirat Karnī) वा कीरत/किर्त करो (Kirat Karō) वा कीरत/कीर्त कर (Kirat Kar) को अर्थ इमान्दार आर्जन हो । अथवा, कुनै कुरा आर्जन गर्न कडा मेहनत वा परिश्रम गर्नुपर्छ भन्ने हो । साथै, मानिसले जीवनमा सफलता, नाम र दाम कमाउन कडा मिहिनेत र परिश्रम गर्नुपर्छ । परिश्रमको फल मात्र उपभोग गर्नुपर्छ । छलकपट, चोरी, डकैटी र बद्मासीबाट आर्जन नगर्नु भन्ने हो । यो कुराको बारेमा थप जानकारी लिन सिख प्रवचनहरु र सिखबादका तीन प्रमुख सिद्धान्तको सारांश अध्ययन गरे पर्याप्त हुन्छ ।

Kirat (कीरत/कीर्त) शब्दको नाम वा टाइटल प्रयोग

भारतमा कीरत/कीर्त कर्नि (Kirat Karnī), कीरत/किर्त करो (Kirat Karo) र कीरत/किर्त कर (Kirat Kar) मा विश्वास गर्ने सिख धार्मिक समुदायमा व्यापरिक संस्था, कम्पनी, प्रवचन, गीत, व्यक्ति लगायत धेरैको नाम र टाइटलहरु Kirat बाट राखिएका छन् ।

जस्तै, Kirat Communications (कीरत कम्युनिकेशन्स्), Kirat Karam Ke (कीरत करम् के), Kiratpur Sahib (किरतपुर साहिब), Kirat Raj (किरत राज), Sarabjit Singh Kirat (सरबजीत सिंह कीरत) Kirat Market (कीरत बजार) आदि । यहाँ हिन्दीकृत रोमनमा लेखिएको ‘Kirat’ शब्दको असली उच्चारण कीरत वा किर्त हो । किरात होइन । यो शब्दको उच्चारण हिन्दी, अंग्रेजी र पञ्जावी सबैमा कीरत वा कीर्त भनिन्छ । जसलाई पञ्जाबीमा ਕੀਰਤ लेखिन्छ ।

यसरी, सिख धार्मिक सिद्धान्त किर्त/कीरत कर्नि (Kirat Karnī) को कीरतबाट विभिन्न समूह, व्यापारिक कम्पनी, व्यक्ति, संस्था, बजार, नेटवर्क, गीत, भजन साथै स्थानका नामहरु भारतका विभिन्न स्थानमा लेखिएका प्रशस्तै पाइन्छन् । जुन नामहरु राजनीतिक इतिहासमा उल्लेख हुँदै आएको काठमाडाैं खाल्डो केन्द्र रहेको प्राचीन नेपालको किरात शासन, राजनीतिक विकासक्रममा उल्लेख भएको वल्लो किरात, माझ किरात, पल्लो किरात लिम्बुवान, नेपालका किरात पहिचान भित्रका समुदायहरू र ती समुदायहरुले अंगिकार गरेको किरात धर्म कुनैसँग पनि जोडिएका वा सम्बन्ध भएका विषयहरु होइनन् ।

भारतको पञ्जावमा भएको Kiratpur (कीरतपुर) के हो ?

विश्व मानचित्रमा हेर्दा Kiratpur (कीरतपुर/ਕੀਰਤਪੁਰ) भन्ने ठाउँ भारतको पञ्जाब, उत्तर प्रदेश, मध्य प्रदेश लगायतमा छन् । रोमन लिपिमा Kiratpur भनि लेखिएको यो स्थानको शुद्ध उच्चरणमा कीरतपुर/ਕੀਰਤਪੁਰ हो । किरातपुर होइन ।

भारतको पञ्जावमा सतलज नदिको नजिक रकेको कीरतपुर साहिब शिखहरुको पवित्र गुरुद्वारस्थल हो । जसको इतिहास सन् १६२७ देखि प्रारम्भ हुन्छ । भारतमा कीरतपुर (Kiratpur) नामको सबैभन्दा प्रशिद्ध स्थल यही हो । यो स्थान, कीरतपुर साबिहसँग नेपालको किरात इतिहास, समाज र धर्मलाई सिधै लगेर जोड्ने प्रयास गर्नु पर्याप्त अध्ययन, यथार्थ विश्लेशषण र तथ्यगत खोजीको अपूर्णताले पैदा गर्ने अज्ञानता ठहर्छ । जुन सत्य होइन । भ्रम मात्र हो ।

भारतमा Kirat (कीरत/कीर्त) र Kiratpur (कीरतपुर) कसरी व्यापक बने ?

शिख धार्मिक समुदायसँग जोडिएको Kirat (कीरत/कीर्त) कम्पनी, संस्था, समूह, बजार आदि धेरै थोकका नाम साथै विभिन्न सिर्जनाहरुका शीर्षक, व्यक्तिको नाम र थरको पछाडि टाइटलको रुपमा Kirat (कीरत) र Kiratpur (कीरतपुर) स्थानको नामको रुपमा पाइन्छन् । यी शब्दहरु शिख धर्म र यसको धर्म दर्शनका मूल ३ सिद्धान्तहरु (क) नाम जपो (nām japo) वा भगवानको चिन्तन गर, (ख) किर्त/कीरत कर्नि (Kirat Karnī) वा कडा परिश्रमले कमाउ र (ग) वंड छको (vand chhako) वा सहयोगी बन वा दान गरमध्ये दोस्रो महत्वपूर्ण किर्त/कीरत कर्नि (Kirat Karnī) सँग सम्बन्धित छ ।

भारतभर दुई करोड भन्दा बढी जनसंख्या भएका सिखहरु भारतको १५ प्रान्त भन्दा बढीमा बसोबास गर्छन् । ती सबै स्थानहरुमा उनीहरुको किर्त/कीरत कर्नि (Kirat Karnī) सँग सम्बन्धित कार्य र नामाकरणहरु जुराउने गर्दछन् । तसर्थ, Kirat (कीरत/किर्त) र Kiratpur (कीरतपुर) विभिन्न प्रयोजनको लागि भारतको विभिन्न स्थानमा व्यापक देख्न पाइन्छ । तर, ती सबै नेपालमा परिचित र परिभाषित किरात होइन ।

निकर्षमा,

भारतको सिख पहिचानमा आधारित कीरत (Kirat) र कीरतपुर (Kiratpur) सँग नेपालको किरातको अन्तरसम्बन्ध छैन । भारतमा भएका कीरत (Kirat) तथा कीरतपुर (Kiratpur) सँग सम्बन्ध भएका सिख धार्मिक आस्थाका समुदायहरु र नेपालको किरातभित्रका समुदायहरु एक आपसमा ऐतिहासिक, सांस्कृतिक, भाषिक, धार्मिक, शारिरीक बनोट सबैको हिसाबले विल्कुल फरक हुन् ।

नेपालमा प्रयोग हुँदै आएको किरात शब्द राजनीतिक इतिहासमा दर्ज भएर आएको राज्यसत्ताको ऐतिहासिक जरा भएको राजनीतिक शब्दावली हो । त्यही राजनीतिक ऐतिहासिकतासँग उनिदै निर्माण हुन पुगेको वर्तमानको एउटा ठुलो सामुदायिक एवम् धार्मिक साझा पहिचान पनि हो किरात ।

त्यसकारण, सिख धार्मिक विश्वासको आधारमा भारतको विभिन्न स्थानमा प्रयोग हुँदै आएका रोमनमा Kirat र Kiratpur लेखिएका कीरत र कीरतपुर शब्दहरुलाई नेपालको किरात शब्दसँग झण्डै उस्तै देखियो वा सुनिनो भन्दैमा नेपालको किरातसँग समानार्थी शब्द हो भनि अर्थ लगाउनु र बुझाउने प्रयास गर्नु दुवै भ्रम हो । गलत हो । संसारभर नियालेर खोज्दा फरक–फरक सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भाषिक आदि समाजहरुमा लेख्दा र बोल्दा संयोगबस उस्तैउस्तै वा झन्डै उस्तै सुनिने वा देखिने शब्दहरु धेरै पाउन सकिन्छन् । तर, तिनीहरुको अर्थ एउटै नहुन सक्छ ।

उदाहरणको लागि भियतनाममा Mang (माङ्) समुदाय छन् । माङ् (Mang) शब्दले नेपालमा बस्ने किरातभित्रका लिम्बू र राईका विभिन्न भाषाहरुमा भगवान वा इश्वर भन्ने अर्थ दिन्छ । यी सुन्दा र देख्दा उस्तैउस्तै लाग्ने शब्द माङ्ले भियतनाम एउटा समुदायलाई बुझायो तर नेपालको लिम्बू र राई भित्रका भाषामा भगवान वा इश्वर बुझिन्छ । त्यसैले, भियतनामको सन्दर्भमा उल्लेख भएको Mang (माङ्) र नेपालको लिम्बू, राई आदि भाषामा माङ् (Mang) प्रयोग हुनु संयोगले उस्तै सुनिए वा देखिए पनि यिनीहरूको अर्थ फरक फरक हुन् । यसैगरी नेपालको किरात र भारतको पञ्जाव लगायतका क्षेत्रहरुमा सिखहरुमा प्रचलित कीरत (Kirat) वा कीरतपुर (Kiratpur) नितान्त फरक अर्थ दिने शब्दहरु हुन् ।

(याे लेख प्रेम येक्तेनकाे फेसबुकबाट लिइएकाे हाे ।)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्