Wednesday, November 30, 2022
10.4 C
Diktel

जसपा फुटाउन खाेज्नेहरुविरुद्ध खबरदारी अभियान चलाऔँ

Subtitle

केन्द्रीय सदस्य, क्रियाशील सदस्य र आधारभूत सदस्य मित्रहरु,

जसपा नेपाल बहुआयमिक र मौलिक पार्टी बनाउने भनेर हामीले निर्माण गरेको पार्टी हो । हामी विभिन्न विचारका स्ट्रिमहरुलाई एकत्रित गरी सबै जाति, सबै भाषी, सबै संस्कृति, सबै राष्ट्रियता, सबै भूगोल, सबै दलित (शिल्पी) र सबै उत्पीडित जाति तथा वर्गहरुकाे न्यूनतम उत्थानकाे लागि स्थापित भएको पार्टीमा कार्यरत छौं ।

यसकाे धरातल बिस्तारै तर मजबुत रुपमा बन्दै गएको छ । यो पार्टी पुरातनवादी पार्टीहरुजस्ताे पृथ्वीनारायण शाहले चलाएको हिन्दुवादी उच्च जातीय अहङ्कार बोक्ने एकल नस्लीय पार्टी होइन । पृथ्वीनारायण शाहलाई उसका चाकडीबाजहरुले राष्ट्र निर्माताकाे संज्ञा दिए पनि उनले अलि फराकिलो मुलुकको राजा भएर प्रशस्त कर असुल्ने आकांक्षाले राज्य बिस्तार गरेका हुन् । त्यसैले सबै जातिले र भाषीले न्याय पाउने राष्ट्रिय एकीकरणको अभियान जसपाले गर्नुपर्ने अभिभारा रहेको छ । जसरी पनि पदमा पुग्ने अनि आफ्नाे स्वार्थ पूरा गर्ने र आफू ठुलो पदमा पुगिएन भने समानुपातिक समावेशी भएन भन्ने नेता यो पार्टीलाई चाहिएको छैन ।

यो पार्टी जसपा बनाएपछि हामीले नेता मानेकाहरुले आफूआफू उच्च पद बाँडेर लिए । हामीजस्ताे आफ्नो स्ट्रिमको संस्थापक र निर्माणकर्ताहरुलाई ६ महिनापछि तल्लो दर्जाको केन्द्रीय सदस्य बनाए । हामीले शिरोधार्य गर्याै । आ-आफ्नाहरुलाई राखेर केन्द्रीय कार्यकारिणी सदस्य भएर पार्टीको निर्णय गरेका छन् । आफ्ना मान्छेलाई राजनीतिक नियुक्ति दिएका छन् । कसले के योगदान गरेको छ र के योग्यता छ ? भन्ने पार्टीका सदस्यहरुलाई केही थाहा छैन ।

पार्टीका ३१ वटा बिभागहरु छन्, ७ वटा प्रदेश समितिहरु छन् र १०+१ पहिचानका राष्ट्रिय समितिहरु छन्, काम माखो मारेको छैन । कुन मान्छेलाई केको आधारमा पदस्थापन गर्ने ? कुनै मापदण्ड बनाउन चाहँदैन । आफ्नो नजिकको मान्छे भएपछि हुन्छ भन्ने सोंचबाट ग्रसित छ । भन्ने बेला समाजवादी संस्कृति निर्माण गर्ने भनेको छ, यसरी समाजवादी संस्कृति निर्माण हुँदैन ।

नेताहरुको चरित्र समाजवादी हुनुपर्ने दिनप्रतिदिन सामन्तवादीमा परिणत हुँदैछ । समाजवादी नेताले हरेक निर्णय आफूखुसी गर्ने ? यो पार्टीको नीतिले मिल्दैन ।

पदको कुरा लिएर पार्टी फुटाउनेसम्मको समाचारहरु आउन थालेको छ । पदकाे लागि पार्टी फुटाउनेहरुलाई सजक गराउनुपर्दछ र धेरै उत्ताउलोपन देखाए भने जनकारबाही गर्न पार्टीका इमान्दार कार्यकर्ताहरु तयार हुनुपर्दछ । किनभने उनीहरुको लागि यो पद प्रतिष्ठा पाउने टुल हुनसक्छ तर हाम्रो लागि पुनः राष्ट्रिय एकीकरण र देश निर्माणको अभियान हो । हामीले मानेका शीर्षस्थ नेताहरु कोही प्रधानमन्त्री भैसकेका छन्, कोही उपप्रधानमन्त्री भैसकेका छन्, कोही मन्त्री भैसकेका छन् । उनीहरु हुँदा पद खाने नहुँदा पार्टी फुटाउने पनि हुन सक्छ ? उनीहरुको उमेर पनि मानसम्मान पाएर खुइली सकेको छ । तर यो हाम्रो जीवनसँग गासिएको छ । त्यसैले यिनीहरुलाई खबरदारी गर्ने काम हाम्रो हो ।

महन्थ ठाकुरको रिक्त स्थानको लागि लडाइँ झगडा भैराखेको छ । अब त्यो रिक्त स्थानको लागि अहिले कार्यान्वयन गर्नु हुँदैन । पार्टीले निर्णय गरेअनुसार छिटोभन्दा छिटो विधान अधिवेशन गर्नुपर्दछ । कति वटा अध्यक्ष राख्ने त्यही विधान अधिवेशनले तय गर्नेछ । तर सबै पदहरु खुल्ला रुपमा प्रतिस्पर्धा गर्न पाउने विधानमा व्यवस्था गर्नुपर्दछ । हामी पनि निर्वाचनमा भिड्छाैं । जसले जित्छ उही नेता हुन्छ । टीकेप्रथा केही समानुपातिक समावेशी बाहेको विधानमा राख्नु हुँदैन। नेताहरुको चरित्र समाजवादी हुनुपर्ने दिनप्रतिदिन सामन्तवादीमा परिणत हुँदैछ । समाजवादी नेताले हरेक निर्णय आफूखुसी गर्ने ? यो पार्टीको नीतिले मिल्दैन ।

उपेन्द्र यादवकै कारणले नेपालमा संघीयता आएको हो । वा उसले नेतृत्व गरेको मधेस आन्दोलनले यो सम्भव भएको हो ।त्यसैले उनलाई हामीले मधेसका मसिह, नेपालको संघीयताकाे प्रणेता जे भए पनि हामीले मानेकै छौं । तर हरेक कुरामा मधेसी बाहेक नदेख्ने हो भने उपेन्द्र यादव राष्ट्रिय नेता चाहिँ कसरी हुन्छ ? र पार्टी एकता गरेर अरुले अध्यक्ष मान्नुको तात्पर्य के हुन्छ । त्यसैले उपेन्द्र यादवले यसबारेमा सोचेर पार्टीको नेतृत्व गर्दा देश, जनता र पार्टीका कार्यकर्तालाई पनि न्याय हुन्छ । उपेन्द्र यादव स्वयम्लाई पनि न्याय हुन्छ । किनभने मधेसमा उनले जति लोकप्रियता हासिल गरिसके, जति जनमत पाउनु थियो पाइसके । अब उनले मुलुकको अरु भूभागको जनता र कार्यकार्ताको काम गरेर मन जित्न सक्छन्, देश र जनतालाई न्याय दिएको ठहरिन्छ । उनले मधेसी कल्चर सानोलाई पेल्ने ठुलोलाई नमस्कार गर्ने त्याग्दै जानुपर्छ ।

अशोक राई शालीन छन् । तौलीतौली बोल्छन् । अरुलाई बिजाउदैनन् । तर यो असल नेतामा हुने गुण होइन । यो असल ज्वाइँमा हुने गुण हो । अब अशोक राई असल नेता हुने हो कि असल ज्वाइँ हुने ? दुईमध्ये एक रोज्ने बेला आएको छ । असल नेता हुने भए सत्य कुरा न्यायिक कुरा बोल्नुपर्यो । बोलेर मात्रै हुँदैन । कार्यान्वयन गरेर देखाउनुपर्यो । मैले भनेको उपेन्द्र यादवले मानेनन्, डा. बाबुरामले मानेनन् भनेर उम्किने सुबिधा उनलाई छैन । यस मानेमा पनि उनलाई उम्किने सुबिधा छैन कि उनले सबै उत्पीडित राष्ट्रियताहरुलाई पहिचान दिन्छु भनेर संघीय समाजवादी पार्टीकाे निर्माण २०६९ मंसिर ७ गते नेपा ब्याङ्क्वेट खुसीबुमा पार्टी कार्यकर्ता र शुभचिन्तकहरुको माझ कसम खाँदै गरेका हुन् ।

अहिले पनि यो पार्टीमा उपेन्द्र यादव र डा. भट्टराईको भन्दा काधमा बढी जिम्मेवारी रहेको छ । किनभने उपेन्द्र यादवले मान्ने धर्म हिन्दू हो । त्यसले राष्ट्रिय मान्यता उहिले नै पाएको छ । उसको मातृभाषा मैथिली हो । कम्तिमा त्यो भाषा हामीले बोल्ने भाषा भन्दा विकसित छ । मधेसीहरु प्रधानमन्त्रीबाहेक धेरै मन्त्री भएका छन्, उनीहरुले केके विकास गरे त्यो लेखाजोखा हुने नै छ ।

डा. भट्टराई उनी उच्च जातका मानिन्छन् । उनको भाषा र धर्मले नेपालमा राज्य गरेको सयौं वर्ष भैसक्यो । तर अशोक राईले बोल्ने भाषाले कहिले त्यो स्थान पाउँछ ? यस्ता भाषाहरु अहिले भाषा आयोगमा १२९ वटा अभिलेख छन् । यत्रो ठुलो र गौरवको मुद्दा उठाएर अरुले गरिदिन्छ भनेर कहिले सम्भव हुन्छ । अशोक राईको आश गरेर बसेका धेरै जनमानस देशका कुनाकाप्चामा छन् । ती जनताहरुले यस कारणले पनि आशा राख्छन् डा. बाबुराम भट्टराई परिक्षण भैसकेका हुन् । यही आदिवासी जनजाति, शिल्पी (दलित), मधेसी, र थारुलाई मुक्ति दिन्छु भनेर प्रधानमन्त्री भएपछि आदिवासी जनजाति र उत्पीडितहरुको संविधानसभामा बहुमत भएको बेला आदिवासी जनजाति र उत्पीडितहरुको पक्षमा संविधान लेख्ने बेलामा उल्टै संविधानसभा भङ्ग गर्ने व्यक्ति पनि डा. भट्टराई नै हुन् । यस्ताे मान्छेको संगतले अशोक राईले प्रतिपादन गरेको वा बोकेको मुद्दाले कसरी न्याय पाउँछ ? याे विचारणीय रहेकाे छ । यस बारेमा गम्भीर विमर्श गरेर अशोक राईले कदम चाल्नु पर्छ ।

डा. भट्टराईले खास संगठन आधार निर्माण गर्न चाहेको पनि देखिदैन । उनको इतिहास हेर्दा पनि प्रधानमन्त्री भएको मान्छेले नयाँ पार्टी निर्माण गर्दा पूर्व माओवादीबाट औलामा गन्न सकिने केन्द्रीय सदस्यहरुले साथ दिएको देखिन्थ्यो । केही समयपछि तिनीहरुले पनि छाडेर गए । डा. भट्टराईले पिएचडी पद्वीकाे बार्गेनिङ गरेर स्थान हासिल गर्ने बाहेक अरु काम गरेको देखिदैन । अहिले त पिएचडी पनि बजारमा खै के खै के भन्ने आइराखेको छ ।

राष्ट्रघाती सम्झौता गर्नुपर्छ भन्ने नेता माथिल्लो ओहदामा बसेका छन् । अझ पद पुगेन भनेर पार्टी फुटाउनेसम्म योजना गर्दैछन् ।

उनले गरेको काम अर्थमन्त्री हुँदा कर राम्रोसँग उठाएको र प्रधानमन्त्री हुँदा काठमाडौंको सडक चौडा गरेको बाहेक राम्रो छैन, गन्न लायकको अरु काम देखिदैन । बरु उनी प्रधानमन्त्री भएको बेला भारतसँग बिप्पा सम्झौता गरेको, त्रिभुवन विमानस्थलमा भारतीय सुरक्षा फौज राख्ने प्रस्ताव गरेको र चीनसँगकाे सिमाना प्रत्येक १० वर्षमा गर्न पर्ने नियमन गर्न प्राबिधिक टोली नपठाएको कुराहरु आएका छन् । यस्ता राष्ट्रलाई घात हुने काम किन डा. भट्टराई गर्न चाहन्छन् ? पार्टीमा छलफलबिनै राष्ट्रघाती एमसीसी पास गर्नुपर्छ भनी सार्वजनिक स्थानमा अभिव्यक्ति दिँदै हिडेका छन् । यो कति ठिक हो ? पार्टीले विचार गर्नुपर्छ । डा. भट्टराईले पास गर्नुपर्छ भनेको एमसीसीका बुँदाहरु यस्ता छन्ः

धारा : ३ को दफा ३ को १ (च) सरकारले आफ्नो तर्फबाट एमसीसीलाई वाैद्धिक सम्पतिको कुनै अंश वा अंशहरु हाल ज्ञात भएको वा यसपश्चात् विकसित हुने एमसीसीले उपयुक्त देखेको कुनै मध्यममा जुनसुकै प्रयोजन (उत्पादन, पुन:उत्पादन, प्रकाशन, परिवर्तन, प्रयोग, संचय, रुपान्तरण वा उपलब्ध गराउने अधिकारसमेत) को लागि अविछिन्न, अपरिवर्तनीय, रोयल्टीरहित, विश्वव्यापी, पूर्णरुपमा भुक्तान गरिएको, हस्तान्तरण गर्न सक्ने अधिकार तथा प्रयोग गर्न वा गरेको हुन अनुमति प्रदान गर्दछ ।

धारा : ६ को दफा ६ को (४) लागू हुने कानुन प्रस्तुत सम्झौता एक अन्तर्राष्ट्रिय सम्झौता हो र सोही अनुरुप यो सम्झौताका हकमा अन्तर्राष्ट्रिय कानूनको सिद्धान्तहरु लागू हुनेछन् ।

धारा ६ को दफा ६ को (८) एमसीसीको हैसियत; एमसीसी प्रस्तुत सम्झौताको कार्यन्वयनका लागि संयुक्त राज्य अमेरिकाको तर्फबाट कार्यरत अमेरिकाको सरकारी निगम हो । प्रस्तुत सम्झौता अन्तर्गत कुनै पनि क्रियाकलाप वा अकर्मन्यताबाट उत्पन्न हुने कुनै पनि हानी वा दाबीप्रति एमसिसी तथा संयुक्त राज्य अमेरिकाले दायित्व बहन गर्दैन ।

सरकारले एमसीसी वा संयुक्त राज्य सरकार वा एमसीसी वा संयुक्त राज्य सरकारका कुनै वर्तमान वा निवर्तमान अधिकारी वा कर्मचारीविरुद्ध प्रस्तुत सम्झौता अन्तर्गतका क्रियाकलाप वा अकर्मन्यताबाट उत्पन्न हुन सक्ने कुनै पनि हानी नोक्सानी, चोटपटक वा मृत्युसम्बन्धी कुनै वा सम्पूर्ण दाबीहरु परित्याग गरेको छ । सरकारले उल्लेखित कुनै पनि निकायकाविरुद्ध त्यस्ताे हानी नोक्सानी चोटपटक वा मृत्युका सम्बन्धमा कुनै प्रकारको दाबी वा कानूनी प्रकृया अबलम्बन नगर्ने कुरामा सहमति जनाएको छ ।

प्रस्तुत सम्झौता अन्तर्गतका क्रियाकलाप वा अकर्मण्यताबाट उत्पन्न हुने कुनै हानी वा दाबीका सम्बन्धमा एमसीसी तथा संयुक्त राज्य सरकार वा एमसीसी वा संयुक्त राज्य सरकारका कुनै वर्तमान वा भूतपूर्व अधिकारी वा कर्मचारीहरु नेपालको कुनै अदालतमा तथा न्यायाधीकरणको क्षेत्राधिकारबाट मुक्त रहनेछन् भनी सरकारले सहमति जनाएकाे छ ।

धारा : ७ को (१) आन्तरिक सर्त; प्रस्तुत सम्झौता लागू गर्न आवश्यक आन्तरिक सर्तहरु पूरा गर्न सरकारले समयमै सुरुवात गर्नेछ । प्रस्तुत सम्झौता लागू भएपश्चात् प्रस्तुत सम्झौता र नेपालका राष्ट्रिय कानून बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ भन्ने पक्षहरुको बुझाइ छ ।

अनुसुची १ को (१) प्रसारण लाइनसम्बन्धी क्रियाकलाप; प्रसारण लाइन क्रियाकलापमार्फत एमसीसी वित्तीय व्यवस्था नेपालभित्र डबल सर्किट ४०० किलो भोल्टको लगभग ३०० किलोमिटर प्रसारण लाइनको निर्माण प्रयोग गरिनेछ । यसमा निम्ननुसारका खण्डहरु पर्ने छन् ।

१) काठमाडौं उत्तरपूर्व पर्ने लप्सेफेदीदेखि काठमाडौंको पश्चिममा पर्ने रातमाटेसम्म
२) रातमाटेदेखि काठमाडौंको दक्षिणमा पर्ने हेटौडासम्म
३) रातमाटेदेखि पश्चिममा दमौलीसम्म
४) दमौलीदेखि दक्षिण-पश्चिम बुटवलसम्म र
५) बुटवलदेखि भारतीय सिमासम्म ।

अनुसूची : ५ को (क) सरकारले एमसीसीलाई सार र रुपमा चित्त बुझ्ने योजना तयार पारी पठाउन पर्नेछ । यस्ताे योजना पठाउँदा भारत सरकारले सो योजनाको समर्थन गरेको हुनुपर्नेछ । त्यस्ता योजनाले १) नयाँ अन्तरसिमा गोरखपुर प्रसारण लाइन निर्माणको लागि आवश्यक प्रमुख वित्तीय तथा प्राबिधिक कार्ययोजना र २) सोको परिचालनको लागि आवश्यक सिद्धान्त समेटेको हुनुपर्ने छ ।

यस्ता राष्ट्रघाती सम्झौता गर्नुपर्छ भन्ने नेता माथिल्लो ओहदामा बसेका छन् । अझ पद पुगेन भनेर पार्टी फुटाउनेसम्म योजना गर्दैछन् । पार्टीका सच्चा र इमानदारी सिपाहीहरुले पार्टी फुटाउन खोज्नेहरुका विरुद्ध खबरदारी अभियान देशव्यापी रुपमा सञ्चालन गर्नको लागि सम्पूर्ण मित्रहरुसँग हार्दिक अपिल गर्दछु । यो अभियान फेसबुक, व्हाट्सएप्स, भाइबर, मेसेन्जर, एसएमएस सबै प्रबिधिबाट चलाउनुहुनेछ भन्ने विश्वास लिएको छु । जसपा हाम्रो पार्टी हो, जनताको पार्टी हो, यसलाई बेइमानीहरुबाट बचाउनुपर्छ ।

(जुद्ध ढाक्रे जसपा नेपालका केन्द्रीय सदस्य हुन् ।)

2 COMMENTS

  1. बाबुराम भट्टराई ले क्षेत्री – बाहून लाई पनि आदिबासी सुचिकृत गरेर सम्बिधान सभा बिघटन गरेर हिडेका कुरा चाहि लेख्नु भएन त ?

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्