काँग्रेसमा टिकटको राजनीति

डा. शाेभाकर पराजुली

स्थानीय तहको निर्वाचन अब हुन्छ नै । संवैधानिक र राजनीतिक रूपमा यो अब टर्ने वाला छैन । निर्वाचन हुने निश्चित भइसकेपछि राजनीतिक दलहरूभित्र टिकटको महत्त्वाकाङ्क्षा राख्नेहरू जुर्मुराएका छन् । नेपाली काँग्रेस सत्तारुढ दल भएको हुनाले उसका दुईवटा प्राथमिकता हुन्छन् । एउटा, मुलुकभरि निर्वाचनका लागि स्वस्थ प्रतिस्पर्धी वातावरण बनाउने । दोस्रो, स्वयं आफूभित्र सुयोग्य व्यक्तिलाई टिकट दिने ।

निर्वाचनको वातावरण बनाउन सत्तारुढ दल भएको नाताले निर्वाचन आयोगले आत्मसात् गरेको अभिष्टलाई सहयोग पुर्‍याउने हो । त्यो भनेको मुलुकको प्रमुख राजनीतिक दलको हैसियतले निर्वाचन आचारसंहिताको पालना स्वयं गर्ने र अन्य पक्षलाई पनि पालन गर्न अभिप्रेरित गर्न लगाउने हो । सरकारको नेतृत्व गरेको दल भएको हुनाले काँग्रेसले स्वयं निर्वाचन आचारसंहिता पालन ग¥यो भने अरूहरू पनि त्यसको पालना गर्न हौसिन्छन् ।

स्थानीय तह निर्वाचनमा गठबन्धनमा लड्ने कि एक्लै लड्ने ? यसको सहज जवाफ छ– शीर्ष नेतृत्वले स्थानीय आवश्यकता र अभिलाषालाई  बुझ्नुपर्छ । दोस्रो कुरा– नेपाली काँग्रेसभित्र टिकट लिने लडाइँ छ । टिकट पाएर मात्र पनि हुँदैन, कतिपय ठाउँमा बलियो जनाधार भएर पनि काँग्रेस  हारेको छ । व्यक्तिगत महत्त्वाकाङ्क्षा पालेर राजनीतिको चुरो समाउन खोज्नेहरूकै कारण नेपाली काँग्रेस कतिपय अवस्थामा अन्तरविग्रहबाट पीडित भएको छ ।

विचार र सिद्धान्तको द्वन्द्वले मन फाटेको भए स्वाभाविक मानिन्थ्यो, तर विचलन पद र प्रतिष्ठा प्राप्तिका लागि नै देखिएको छ । कम्युनिष्टहरु अनुशासनको मामिलामा अरूको तुलनामा कठोर मानिन्छन् । भित्र जस्तोसुकै विग्रह भए पनि बाहिर त्यसको सुइँकोसम्म नदिने परिपाटी कम्युनिष्टहरुभित्र थियो । तर, पछिल्ला वर्षहरूमा उनीहरूमा पनि आपसमा सुरुवाल खोलाखोलको अवस्था देखियो ।

टिकटको अस्वस्थ राजनीतिले काँग्रेसभित्रै विचलन र खुट्टा तानातानको विसङ्गति छ । कतिपय महत्त्वाकाङ्क्षी टिकटार्थीहरु आफ्नो पार्टी, समाज र देशप्रतिको दायित्व बिर्सेर असिम महत्त्वाकाङ्क्षाको अलापभित्र पैसाको संगीत गुञ्जाउन थाल्छन् । कतिपय त आफूले टिकट नपाए हाकाहाकी अन्तरघात गर्ने वा अर्को पार्टीमा छिर्ने कुरा गर्छन् । यस्ता मौकापरस्त प्रवृत्तिलाई चिर्ने समय हो अहिले ।

नेपाली काँग्रेसले कसरी आफूलाई जोगाउने, त्यो सोच्नेबेला हो अहिले । स्थानीय तहमा दलभित्र बसेर अझै दललाई कमजोर बनाउने घ्यू बेचुवाहरूलाई चिन्नु र चिनाउनु जरुरी छ । अहिले नेपाली काँग्रेसले आफ्नो संगठनलाई जोगाउने हो भने स्थानीय तहमा राम्रा उम्मेदवारहरुको छनौट र आफ्ना उम्मेदवारहरू जित्ने माहौल निर्माणको काम समानान्तर रूपमा गर्नुपर्ने देखिन्छ । केवल टिकट दिएर पनि भएन । कस्ताले टिकट पाए त्यो महत्त्वपूर्ण छ । जसले टिकट पाए, उनीहरू कसरी चुनाव जित्न खोज्दैछन् त्यो पनि त्यत्तिकै विचारणीय छ ।

केही यस्ता पनि टिकटका अपेक्षा राख्नेहरू छन्, जो घुर्क्याउँदै हिँड्छन्, मैले टिकट पाइनँ भने म पार्टीलाई हराइदिन्छु भन्छन् । पार्टीप्रति निष्ठा नराख्ने, केवल पदकै भोका हुनेलाई टिकट दिने कि नदिने ? यसबारे पनि सोच्नुपर्छ । नेपाली काँग्रेसको आफ्नै भोट ब्याङ्क नेपालभरि छ । नेपाली काँग्रेसलाई मन पराउने सबै क्षेत्र र वर्गका छन् । यस्तोमा नेपाली काँग्रेसको टिकट पाउँदा कोही पनि प्रत्यासीलाई जित्न तुलनात्मक रूपमा सहज हुन्छ ।

चुनावको मुखैमा अर्को दलबाट पनि पार्टी प्रवेशको चाहना राख्नेहरू प्रशस्त छन् । अन्य दलको झ्यालबाट हामफालेर मूल ढोकाबाट निस्कने चाहना राख्नेहरूलाई अहिलेको चुनावी अर्थ राजनीतिले पनि लोभ्याएको छ । नेपाली काँग्रेसले हेक्का राख्नुपर्ने हो, चैते काँग्रेसीहरूलाई प्रत्याशी बनाउने कि नबनाउने ?

यदाकदा टिकट बिक्री हुने गरेको, कुनै अमूक बिचौलियाले टिकटको खरिद बिक्री गर्ने गराएको आशङ्काहरू आम कार्यकर्तामाझ पनि सुनिन्छ । कतिपय अवस्थामा पार्टीको एउटा अनुशासित सिपाही, जो इमानदार पनि छ र योग्य पनि छ, जो स्वजनशील पनि छ र सिर्जनशील पनि छ, तर त्यस्तोलाई  जिल्ला वा प्रदेश तहमा सिफारिस गर्ने डाडु पन्यु लिएकाहरूले सम्भवतः किनारामा राख्न पनि सक्छन् ।

निकट अतीतको इतिहास छ– काठमाडौँलाई अन्तर्राष्ट्रिय सहर बनाउने जुन सपना पीएल सिंहले देखाए, त्यसलाई आजसम्म पनि कसैले उछिन्न सकेको छैन । उनले दलभित्रको श्रेणी क्रममा निकै पुछारमा रहेको भएता पनि जनतामाझ लोकप्रिय छवि बनाएका थिए । उनको वजन आफूलाई कतिपय हेभिवेट भनाउने नेताहरूभन्दा कम थिएन । यसले के देखाउँछ भने एउटा गतिलो कार्यकर्तालाई नगरप्रमुखको प्रत्याशी बनाउनुभन्दा एउटा झोले कार्यकर्तालाई टिकट दिन उद्यत मनोविज्ञान छैन भनेर भन्न सकिँदैन । यसलाई छिचोल्ने कसरी ?

टिकटको चाहना राख्नु र त्यसका लागि सम्बन्धित ठाउँहरूमा वकालत गर्नु स्वाभाविक हो । दलले कसैले दाबी गरेको भरमै टिकट दिइँदैन । नेपाली काँग्रेसभित्र कार्यकर्ता मूल्यांकनको आफै संयन्त्र छ ।  स्थानीय तह निर्वाचन प्रयोजनका लागि केन्द्रीय पर्यवेक्षकहरू जिल्ला–जिल्लामा खटिएका छन् । तिनीहरूले पालिकाको वडा तहसम्म नै पार्टीको अवस्था, प्रतिस्पर्धाको अवस्था र मौन मतहरूको आकलन र अभिलेखीकरण गर्दैछन् । त्यसैगरी सघन घरदैलो अभियान चलाइएको छ । यसले एउटा लोकतान्त्रिक विधि स्थापित गर्दैछ ।

टिकट वितरणको काम नेताहरुको भागबण्डाका आधारमा गरिनुहुँदैन कतिपय अवस्थामा भागबण्डाका कारणले आउनैपर्ने नेतृत्व वञ्चितिमा पर्न सक्छ । नेतृत्वमा ल्याउनका लागि उम्मेदवारको पृष्ठभूमि, उसको सार्वजनिक प्रतिबद्धता, उसको जीवनशैलीको पारदर्शिता र पालिकाबारे उसले प्रस्तुत गर्ने प्रारूपका आधारमा तय गरिनुपर्छ । पार्टीले पनि केवल टिकट दिएर मात्र भएन, रुखछापधारी कुनै पनि प्रत्यासीले कसरी अधिकतम मत ल्याउन सक्छ ? त्यसको पनि बन्दोबस्ती मिलाउनुपर्छ । त्यति मात्र होइन, उसले के ग¥यो ? कसरी ग¥यो ? त्यसको पनि लेखाजोखा राखिनुपर्छ ।

नेपाली काँग्रेसले वडा तहदेखि नै समृद्धि, रूपान्तरण र बदलावको मूर्तरूप दिन स्थानीय तहको निर्वाचनमा अत्यन्त सुझबुझ र समझदारी देखाउनपर्छ । स्थानीय सरकारमा राम्रा अभ्यासहरू थालनी गराउन स्थानीय तहमै राम्रा पात्रहरूलाई प्रोत्साहन गर्नुपर्छ, जसले कालान्तरमा कहिल्यै पनि नहल्लिने गरी लोकतन्त्रको जग बलियो बनाउँछ । स्थानीय सरकारको आकर्षण बढाउन तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पार्टीले आफ्ना खजानाबाट संघीय संसद् र प्रादेशिक सभामा प्रभावकारी भूमिका खेलेका, विभिन्न क्षेत्रमा अब्बल प्रदर्शन गरेका व्यक्तिहरूलाई प्रत्याशी बनाउनुपर्छ । यसले दुईटा कुरा हुन्छ । स्थानीय तहदेखि नै दलमा असल कार्यकर्ताहरुको आपूर्ति हुन्छ । दोस्रो, आम जनमनमा राजनीतिप्रतिको वितृष्णा घट्दै जान्छ ।

नेपाली काँग्रेसभित्र टिकट लिने राजनीतिलाई सहज, सरल र सन्तुलित बनाउनुपर्छ । टिकट पाउनैका लागि आडम्बरपूर्ण प्रदर्शन गर्ने, कृत्रिम संख्या बलको दबाव दिन लगाउने वा स्थानीय नेतृत्वलाई अनुचित प्रभावमा पार्न खोज्ने प्रवृत्तिलाई एकदम बलियो भोटे ताल्चा लगाइदिनुपर्छ ।

नेपाली काँग्रेसले स्थानीय तह प्रयोजनका लागि के, कुन, कसरी, कहाँ र कहिले प्रत्याशीहरूको छनौट गर्‍यो, त्यसको असर आगामी प्रदेश र संघको चुनावमा पनि पर्छ । नेपाली काँग्रेसले यसपटकको स्थानीय तह निर्वाचनलाई व्यवस्थित र वैज्ञानिक तरिकाले अगाडि बढाउन सक्यो भने त्यसले दलको आन्तरिक जीवनमा प्राणवायुको काम गर्छ । नेपाली काँग्रेससँग यदि चुनावी समयमा वडा तहसम्मको चुनावी राजनीतिक स्तर र अवस्थाका बारेमा तथ्यपरक विश्लेषणसहितको सूचना संगालो निर्माण गर्न सकियो भने यसले नेपाली काँग्रेसलाई आगामी आम निर्वाचनका बेला चुनावी रणनीति निर्धारण गर्न टेवा त पुग्छ नै, यसबाट छिमेकी भारतीय जनता पार्टीले जस्तो विभिन्न अभेद्द दुर्गहरू पार गर्दै सर्वत्र चारतारे झण्डा फर्फराउने सुनिश्चितता दिन्छ ।

नेपाली काँग्रेसको विरासत

जतिसुकै कमजोरी भए पनि काँग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । लोकतन्त्रको प्रश्नमा यो पार्टी अहिलेसम्म पछि हटेको छैन । नेपाली काँग्रेसको नेतृत्वको सरकारले जब–जब निर्वाचन गराएको छ, त्यो निर्वाचन विवादरहित भएको छ । अरू दलहरूले पनि पत्याएका छन् । अन्तर्राष्ट्रिय समुदायले वैधता दिएको छ । नेपाली काँग्रेसका प्रधानमन्त्री स्वयं चुनाव हारेका छन् र कहिले स्वयं नेपाली काँग्रेस नै हारेको छ ।

यसरी नेपाली काँग्रेसद्वारा गरिने निर्वाचन राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्वीकार भएको छ । यस्तो निर्वाचनले राजनीतिलाई गति दिएको छ र नेपाली जनताको लोकतान्त्रिक अभ्यास अब्बल हुँदै गएको छ । नेपाली काँग्रेस केवल लोकतन्त्रलाई हेर्छ । उसको लोकतन्त्रभित्र राष्ट्र र जनता दुवै पर्छ । नेपाली काँग्रेस विश्वास गर्छ कि लोकतन्त्रले नै राष्ट्रको स्वाधीनताको रक्षा गर्न सक्छ ।

भर्खरै सम्पन्न प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालसँगको सीमा विवादबारे खुलेर आफ्ना कुरा राख्नुभयो । नेपाली काँग्रेस आफ्नै मुलुकभित्रका जनतालाई विश्वास गर्छ । यसको गरिमा र महिमालाई मान्यता दिन खोज्छ । उसले आफ्नै जनतालाई कहिले आँप झ¥यो, कहिले बेल झ¥यो भनेर अपमानजनक बिम्ब प्रयोग गर्दैन । नेपाली काँग्रेस घृणाको राजनीति गर्दैन । निषेधको राजनीतिमाथि उसलाई विश्वास छैन । स्थापनाकालदेखि नै नेपाली काँग्रेस व्यवहारमा समावेशी संगठन भएर बाँचेको छ । नेपाली काँग्रेस भू–राजनीतिक द्वन्द्वलाई एकअर्का विरुद्धको तुरुप बनाउँदैन ।

वीपी कोइराला कुनै अन्तर्राष्ट्रिय शक्तिका सामु लम्पसार परेनन् । न त वर्तमान प्रधानमन्त्रीले नै नेपालसँग सरोकार राख्ने कुनै अन्तर्राष्ट्रिय शक्ति राष्ट्रलाई चिढ्याउने काम गरेका छन् । नेपाली काँग्रेस चीनविरुद्ध भारत र भारतविरुद्ध चीनको आत्मघाती खेलमा लाग्दैन । शेरबहादुर देउवाको अत्यन्त सुझबुझ एवं दूरदर्शी कूटनीतिक अभ्यासले गर्दा नेपालको विश्वसनीयता अन्तर्राष्ट्रिय जगतमा बढ्दैछ । अर्थात् नेपाली काँग्रेस नै एउटा यस्तो दल हो, जो आफूलाई मृत्युको मुखमा पारेर पनि राष्ट्रको अस्तित्व जोगाउनु आफ्नो युग धर्म ठान्छ । दुनियाँमा कहीँ कतै पनि सामान्य अवस्थामा निर्वाचन गराउने सरकार प्रमुख वा दल हार्दैन । तर, त्यो साहस र त्याग नेपाली काँग्रेसमै छ ।

नेपाली काँग्रेस राजनीतिलाई गति दिन जहिले पनि आफूलाई जोखिममा राख्छ । जतिसुकै विसंगत राजनीतिक अवस्थामा पुगे पनि नेपाली काँग्रेस लोकतन्त्रका विरुद्ध सम्झौता गर्दैन, गर्न सक्दैन । काँग्रेस नै यस्तो पार्टी हो जसले आफ्नै देशका एउटा सामान्य मानिसको मानवीय सम्मान र मर्यादाको खोजीमा रहने जनतालाई त्यो सम्मान र मर्यादा स्थापित गर्छ । नेपाली काँग्रेसले आफ्नो सैद्धान्तिक निष्ठालाई जहिले पनि जोगाइराखेको छ । नेपाली काँग्रेस मौलिक चिन्तन धाराबाट कहिल्यै पनि पछाडि हटेको छैन । लोकतान्त्रिक पद्धतिका लागि स्थापित र सङ्घर्षरत भएकै कारण राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यसको आकर्षण छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्