Thursday, August 11, 2022
23.3 C
Diktel

बाबुराम र उपेन्द्रलाई किचन क्याबिनेटकाहरुले नै बझाउँदैछन्

दलमर्दन कामी

जसपा नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई उत्पीडक समुदायबाट रुपान्तरित अग्रगामी, जुझारु, त्यागी मात्रै हैनन्, सादकी, बाैद्धिक लोह पुरुष हुन्, वैकल्पिक शक्तिका प्रणेता हुन् । यो मेरो मात्रै बुझाइ नभएर उनी सरकारकाे अर्थमन्त्री र प्रधानमन्त्री हुँदा प्रमाणित भइसकेकाे कुरा हाे ।

जसपा नेपालका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव जो मधेशी समुदायमाथिको उत्पीडन भोगेका जो म र मेरो समुदाय हिन्दू बर्णश्रम व्यवस्थाका आधारमा सुद्र अछुत तल्लो जात दलित बनाइएर पशुवत व्यवहार भोग्दै नारकीय जीवन व्यतित हुँदाहुँदै पनि मधेशी अनुहार देख्ने बित्तिकै धोती इन्डियन भारतीय भन्दै अपमान गरेको ताजैछ, त्यस्तो उत्पीडनबाट हुर्केर उत्पीडनविरुद्ध आन्दोलनको आधिबेहरी सिर्जना गरी एकतन्त्रीय जहाँनीय केन्द्रिकृत राज्यसत्तालाई तोडफोड गरी राज्यको उपप्रधानमन्त्री समेत बनेका जुझारु व्यक्तित्व हुन् ।

जसपा नेपालका वरिष्ठ नेता अशोककुमार राई आदिवासी जनजातिको भाषा, लिपि संस्कृति, पहिचान, अधिकार, समानुपातिक प्रतिनिधित्वको लडाइँमा आफूले पाउँदै आएको र आउने थुप्रै अवसरलाई गुमाउन तयार भएर तत्कालीन समयमा देशकै निर्णायक एमाले पार्टीको उपाध्यक्ष जस्तो पदलाई त्यागेर उत्पीडितहरुको पहिचान र अधिकारको निम्ति सडकमा होमिएका त्यागी नेता हुन् ।

नेपाली राजनीतिमा डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोककुमार राई तिनैजना नेता अहिलेसम्म भएका सबै पार्टी र तिनका नेतृत्वहरु नश्लीय अहंकार र लोभले भरिएर यथास्थितिवादी पश्चगामी भई अतिस्वार्थमा लिप्त मात्रै हैन अहम् भ्रष्टाचारले भरिएका कारण तिनका हुलबाट बाहिरिएर उत्पीडित जनतालाई एकताबद्ध गराएर समाजमा भएको सबै प्रकारको विभेद, दमन, उत्पीडन, अन्याय, अत्याचार, बहिष्कार र बहिष्करणको अन्त्य गर्न र समानता, सामाजिक न्याय देशको विकास र समृद्धिको लागि लाग्ने वैकल्पिक शक्ति निर्माणकार्यमा लामबद्ध असल नेता हुन् ।

वास्तविकताको आधारमा कुरा गर्दा नेपाली राजनीतिले धेरै फड्को मारेको छ । तर, नेपाली समाजको आर्थिक, सामाजिक शैक्षिक, रुपान्तरण हुन सकेको छैन । व्यक्तिगत बलबुताले जति गर्न सकेको छ, त्यो एउटा कुरा छ तर राजनीति परिवर्तन र शासन सत्ताको रुपान्तरण भए । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा समेत आम जनताले गास, बास, कपास शिक्षा, स्वास्थ्य, रोजगारसँगै सम्मान, सामूहिक समावेशिता, सामाजिक न्याय, स्वतन्त्रता, समानता र समतामूलक समृद्धिको अनुभुति गर्न पाएनन् ।

नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त समाजलाई भुलेर विभिन्न राजनीति पार्टीको नाममा नेतृत्व हत्याइ सत्ता र शक्तिको दुरुपयोग गर्दै वर्ण व्यवस्थाद्वारा सिर्जित तथाकथित उच्च जातीय अहंकारवादी नश्लीय अन्धजातिवादी चिन्तनबाट राज्य सत्ताको दुरुपयोग भयो । यही प्रवृत्तिको अन्त्यका निम्ति कम्मर कसेर लागेको यी तीन नेताहरुको एकतापूर्ण संघर्ष नै आजको आवश्यकता हो ।

यसका लागि तिनैजना नेताले एकताबद्ध पार्टीभित्र देखिएको सुनिएको जुनसुकै किसिमको आन्तरिक समस्यालाई समाधान गर्न अन्तरघुलित भएर बृहत संवाद, छ्लफल, सहकार्य गरेर तत्काल एकतबद्ध हुनुको विकल्प छैन ।

जसपा नेपाल निर्माण नै आम उत्पीडित जनताको अधिकार सुनिश्चित गर्न संघीयता, सुशासन, समृद्धि र लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, समानुपातिक प्रणालीको मुद्दालाई संस्थागत गर्दै राज्यको दायित्व भन्ने गराउँदै विधिसम्मत संचालनमा ल्याउनु र जिम्मेवारी र जवाफदेहिता गराउने मुलभूत विषय हुन् ।

यसका लागि फुटेर हुन्न जुटेर लड्ने हो । एउटा जिवन्त र गतिशील पार्टीभित्र कुनै विषयमा आन्तरिक मतभेद हुनु, बहस हुनु स्वाभाविक हो  । यसलाई कसैले अन्यथा लिनुहुन्न । उठेका विषयलाई व्यवस्थापन गर्नु चाहिँ नेतृत्वको बुद्धिमानी कुरा हो ।

अहिले जसपा भित्रकाे समस्यालाई बृहत बहसमा लैजाने र उठेका विषयबस्तुलाई पार्टीको नीति, विधि, विधानमा रहेर प्रक्रियागत रूपमा पार्टीको नीति सिद्धान्त, विधि र प्रक्रियालाई आत्मसात गरेर अगाडि बढन जरुरी छ । यसका लागि पार्टीका तीन शीर्ष नेता तत्काल बसेर हल गर्ने हो । सकिन्न भने केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट समस्या सुल्झाउने, त्यो पनि सकिन्न भने केन्द्रीय समितिको बैठकबाट हल गर्ने हाे ।

र पार्टीले नयाँ निर्णय लिएर आउनै लागेको संघ र प्रदेशको चुनावमा होमिनुपर्छ । पार्टीभित्र उठेको समस्यालाई अझ बढवा गर्दै बल्दै गरेको आगोमा घिउ थपेझै गरि नेतृत्वमा एकाअर्का बीचमा तर्ककुतर्क राखेर को कसकाे नजिक हुने र व्यक्तिगत स्वार्थ लिनेको होडबाजीले व्यक्तिगत इगो र स्वार्थमा नेतृत्वमाथि गलत भ्रम फैलाउने कार्यले जसपा नै दुई चिरा हुने वा कसले हत्याउने जस्तो अत्यन्तै घिनलाग्दो खेल हुनु राष्ट्र र राष्ट्रियतामाथि घात हो । आम नेता-कार्यकर्ता माथिको गद्दारी हो ।

जसपामा देखिएको मुलभूत समस्या भनेकै शिर्ष नेताको छेउमा बसेर नेताको फेरो समाएर आफुलाई दोस्रो दर्जाको नेता ठान्दै त्यसको दुरुपयोग गरेर नेतृत्वलाई प्रभाव पार्ने, घुर्क्याउने, लोभ्याउने, दबाबमा पार्ने र पार्टीको काममा भन्दा आफू व्याक्ति केन्द्रित स्वार्थमा रही दलाल प्रवृत्तिमा पार्टीभित्र नेता-कार्यकर्तालाई गुट-उपगुटको खेल खेल्ने नेतृत्वलाई भ्रम सिर्जना गरि द्वन्द्व सिर्जना गराउँदै पार्टी टुटफुट बिभाजनसम्मको अबस्थामा पुर्याउनु, योजति अपराधीपूर्ण कार्य अर्को हुनै सक्दैन ।

व्यक्तिगत फाइदा र घाटाको तौल गर्दै नेताको फेरो समाउँदै साढेको फल झर्ला र खाउला भनेर रातभरि पर्खेर बसेको स्यालको कथाझैं पार्टीभित्रका आम नेता-कार्यकर्तालाई आँखामा छारो हाली धमिलो पानीमा माछा मार्न पल्केका पार्टीभित्रका गद्दार धोखेबाज पार्टीभित्र आफैलाई दोस्रो दर्जाको नेता ठानेर बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोककुमार राईको वरिपरि रहेर उनैको फेरो समाएर उनैलाई जबर्जस्त आम नेपाली राजनीति वृत्तमा कालो दाग लगाउने काम हुँदैछ । यो जति गद्दारी अरु हुन सक्दैन ।

नेपाली राजनीति बृत्तमा नै मुख देखाउन नसक्ने गरी कालो दाग लगाउने काम बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोककुमार राईकै वरिपरि घुम्ने किचन क्याबिनेटबाट हुँदैछ । बाबुराम, उपेन्द्र, अशोक नेपाली राजनीति रुपान्तरण र आम उत्पीडित जनताका सारथी हुन् । यी तीन नेताले यो बुझेर त्यस्ता गद्दारहरुको भ्रामक र स्वार्थमा बिश्वास नगरी तीनैजना नेता एकपटक हैन पटकपटक आन्तरिक छलफल बहस गरेर वैकल्पिक शक्ति निर्माण गरेर आम नेपाली जनताको बिकास र समृद्धिको बाटो समाउनु नै उचित हुन्छ ।

जसपाभित्र आएको समस्या बजारमा राजनीति बजारमा आउना साथ तीनजना नेता बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई जोगी देख्दा भैंसी तर्सने भैंसी देख्दा जोगी तर्सने भनेको उखानजस्तो गर्नु भएन ।

पार्टी भित्रको आन्तरिक समस्या पार्टी बाहिरको थर्डपर्सन मान्छे आएर मिलाउनु सक्दैन । उनको आशा गर्ने हो भने फेरि अर्को कुनै न कुनै समय झन ठुलो भंगालोमा पर्ने खतरा हुन्छ । आन्तरिक समस्या आन्तरिक रूपमा नै बसेर समाधान गर्नुपर्दछ ।

छलफल बहस गर्नुको सट्टा भाग्ने वा गुट बनाउने र त्यो गुटले जे भन्छ त्यो गर्ने हो भने त्यो नेतृत्व सही नेतृत्व हुन सक्दैन र वैकल्पिक शक्तिको कल्पना गर्न सकिन्न ।

यस बेला जसपामा भएका समस्या दुईवटा छ्न् । डा. बाबुराम भट्टराई समर्थनमा रहेका केही गुट र उपेन्द्र यादव समर्थनमा रहेको गुट-गुट-गुटको गुटबन्दी दुबै कार्य गलत हुन् ।

अशोककुमार राई बजारमा आएको र उहाँ आफैले स्वीकारेकाे कुनै एउटा अमूर्त मुर्ती हुन् जो पार्टीभित्र यतिधेरै खटपट होहल्ला र पार्टी फुटसम्मको अवस्था सिर्जना हुँदा समेत ढुंगाको मुर्ती जस्तो हल न चलको रूपमा पूर्व धरानमा किताब पढेर बसेका छ्न् ।

जता मल्खु उता ढाल्कुको दाउमा बस्नेकाे के यस्तो नेतृत्व हुन्छ ? पार्टीभित्र उठेको समस्या समाधान गर्न नसकेर पार्टी फुटकाे संघारमा पुगेको अवस्थामा समेत शीर्ष नेतृत्व कोही पार्टी फुटाउनुपर्छ भन्ने, गुटमा कोही अल्झने कोही चाहिन्न म एक्लै भए पनि हुन्छ भनेर अहम्ता देखाउँदै उत्पीडितको मुक्तिको रटान रट्दै व्यक्तिगत जुक्ति रच्दै एक्लो बृहस्पति देखिने र अर्का एउटा मुर्तीको रूपमा फुल पारिरहने यो गलत छ । तत्काल केन्द्रीय समितिको बैठक बोलाउन र पार्टीलाई एकताबद्ध रूपमा राखेर आगामी संघ र प्रदेशको चुनावमा अगाडि बढाउने रणनीतिका साथ अगाडि बढ्नु नै जसपा नेतृत्वकाे बुद्धिमानी हुनेछ ।

(दलमर्दन कामी जसपा नेपालका केन्द्रीय सदस्य एवं शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष हुन् ।)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्