खस जातिको अध्यांश ज्यावनी समाज

युवराज कार्की

खस समाजको एउटा अध्यांश “पवै खस” जस्तै “ज्यावनी समाज” नामको अर्को समूह पनि प्रचलनमा रहेछ । ज्यावनी समाजमा खसका दयाल, बोहोरा, जाग्री, गिर्माल, बस्याल, बमौरी, धामी लगायतका थर पर्दा रहेछन् । यो समाजको प्रचलन आज पनि प्राचीन खस संस्कृति, संस्कार अपनाइरहेका र क्षेत्री, राजपुतमा पदोन्नति भएका खसहरुको तुलनामा न्यून मात्रामा सांस्कृतिकरण भएको रहेछ ।

ज्यावनी समाजका खसहरुमा आफ्नै समाजभित्र पुरोहित कार्य गर्ने (बाहुनजस्तै), धामी दमाईं र कामी रहँदा रहेछन् । उनीहरु मूलतः मस्ट पुज्दा रहेछन् । मस्टमा चडाउने दियो, धन्टी अन्य समाज बाहिरका खस कामीले बनाएको भए पनि ज्यावनी समाजभित्रका कामीले एकपटक भए पनि हथौडाले नपिटी चलाउन शुद्ध मानिदो रहेन छ ।

ज्यावनी समाजभित्रका बाहुन, धामी, दमाईं र कामीबिच छुवाछुत र उच्च निच मानिदो रहेन छ ।

सीमित संस्कार अपनाउने ज्यावनी समाजका खसहरुमा नाम राख्ने, वर्तबन्ध, विवाह र मृत्यु संस्कार मात्र प्रचलनमा रहेछ । नाम राख्ने आफ्नै बाहुनद्वारा केटा या केटी दुवैको सातौं दिनमा छरितो पद्धतिमा गर्ने चलन रहेछ ।

ज्यावनी समाजको विवाह र मृत्यु संस्कारमा आफ्नै बाहुन लगाएर र केहीले अन्त्येष्टि तल खोलाको किनारमा गर्ने र केहीले माथि पहाडको टुप्पातिर गर्ने चलन रहेछ । मृत्यु संस्कारमा बेसार र मासको दाल नखाने (बार्ने) चलन र नुन नबार्ने चलन रहेछ ।

मृत्यु संस्कारमा गच्छेअनुसारको दक्षिणा या भेटी दिने चलन भए पनि आजकाल बाहुन विधिजस्तै एकसरो सामान, भूमि र गाई दानको चलन थपिएको रहेछ । साइत हेर्ने लगायतका काम धामीले गर्ने चलन रहेछ ।

समाजमा टीका दही र चामलको मात्र लगाउने रातो रंग नमिसाउने चलन रहेछ । जनै लगाउने इच्छा गर्नेलाई समाजका धामीले ब्रतबन्ध गर्दा रहेछन्, जो कतिपयले बाहुन लागेर पनि गर्ने आजकाल चलन रहेछ । पहिले बाहुन पनि नचाहिने र जनै पनि नचाहिने रहेछ । छाउपडीलाई महिलाको व्रतबन्ध जस्तै मान्यता रहेछ ।

विवाहमा धामी चलाएर साइत जुराउने, बेहुलाको पगरी गुथ्ने, फेटा बाध्ने, दही चामलको सेतो टीका लगाउने, पैसाको माला लगाउने, लामो तरबार हातले समाएर काँधमा राख्ने (यस्तो तरबार सबैका लागि गाउँमा एउटा साझा हुने), खुकुरी पछाडिपट्टि भिर्ने, बेहुलाको र बेहुलीको घरबाट अन्माउदा केहीवेर बेहुला बेहुलीलाई काँधमा राखेर हिड्ने, बाजागाजा ढोल पिटेर होहल्ला गर्दै जन्ती जाने आउने गर्ने, भए बन्दुकै पड्काउने, निगालोको राँको बालेर बेहुली ल्याउनेजस्ता चलन यस समाजमा आज पनि रहेछ ।

बाजा गाजा बजाउनेलाई एउटा राँगो र दक्षिणा कबुलअनुसार दिनुपर्दो रहेछ । पहिले रक्सी जाडको चलन थिएन । काँध चडाउँदा दाहिने काँधलाई शुभ र देव्रे काँधलाई अशुभ मानिदो रहेछ । काँध चढाउने निश्चित साइनोको मानिसले मात्र गर्ने चलन रहेछ ।

छोरी चेलीको धरमा जुठो सुतक परेमा खानपिन बर्जित मानिदो रहेछ । मस्ट मुल देवता भए पनि भूमि जातो (पुजा), वन जातो, भैँसी जातो, रांगे (रागो) जातो, वल्ले (गोरु) जातो र माइती पुज्ने जस्ता धार्मिक कार्य ज्यावनी समाजको प्रचलन रहेछ ।

क्षेत्री र राजपुत (ठकुरी) भइसकेका खसहरुमा खस भएकोमा हीनताबोधको सामाजिक मान्यता भए पनि खसका ज्यावनी समाजमा खसप्रति गौरवको भाव र आफू खाँटी खस भएको मान्यता रहेछ ।

(कार्कीकाे फेसबुकबाट।)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. म कार्की हुं, क्षेत्रीय वंश मेरो तर यो लेख अनुसार म बिल्कुलै मान्यता राख्दैन तर पनि म केहि नराम्रो कमेन्ट गर्नै चाहन्न किनकी आ-आफ्नो चालचलन हुन्छ तर पनि म सम्मान भने गर्छु ! क्षत्री भनेर भनिसकेपछि नशो र चुरो एउटै हो भन्ने मान्यता मा म १००% अडिग छु ! विध्यार्थीहरू ज्ञान आर्जन गर्न विभिन्न ठाउॅ र दिशाबाट स्कूलमा जान्छन र ज्ञान आर्जन त्यो ज्ञान भनेकै क्षत्रियता हो ! जति थरबाट क्षेत्री हुं भनेपनि ! Do respect with each other even where in the world remains !!!

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्