गाेपाल किराती
गत फागुन १७ गते विहान कवि खुक्सङ खम्बू राईमार्फत दुःखद् जानकारी प्राप्त भयो, पूर्वमा कोशी प्रदेश नामाकरण गरिसकेछन् । खोज सम्पर्क बढाउँदै लगियो, हो रहेछ । १८ गते विहान निश्चित गरियो कि किरात-लिम्बुवानको राजनीतिक प्रश्न अब दीर्घकालीन बन्न पुग्यो । विज्ञप्ति, अन्तर्वार्ता र सडकमा भाषण मात्रले हुँदैन । खास क्षेत्रमा पुगेर खास समुदायसँग संवाद गर्नुपर्छ कि अब के गरौं ? फिदिमदेखि पुष्पलाल मार्ग भएर पश्चिम हिँड्दै जनसंवाद यात्राको योजना तयार गरियो, सामाजिक सञ्जालमा सूचना प्रेषित पनि गरियो ।
तीन दशक अघिदेखि किरात गणराज्य आन्दोलनको नेतृत्व गरिआएको र सैद्वान्तिक रुपमा पहिचान आन्दोलनको दृढ पक्षधर हुनुको हैसियतमा धेरै साथीभाइले लगातार सम्पर्क तथा घच्घघ्याई गर्ने नै भए । यात्राका निमित्त टोली निर्माण, यस सर्वहाराका निमित्त खर्च जोहो, पर्चा प्रकाशन इत्यादिमा केन्द्रित भएर लाग्नैपर्यो । फेरि त्यहीँ बेला टेलिभिजन अन्तर्वार्ताहरु पनि बोल्नै पर्यो । किसानको असार भन्दा चर्को समय दबाब हुने नै भयो ।
१९ गते बेलुका एक युवाले फोन गरे, अत्यन्त विव्हल भावमा बोले- दाजू, किरात प्रदेश भएन, अब म आत्महत्या गर्छु । कडा शब्दमा सम्झाईबुझाई गरियो र भोलि दिउँसो अनामनगरमा भेट्ने समय तोकियो ।
तर, ती युवाले घण्टा-घण्टामा फोन गरिरहे । के हो, भनेर शंका पनि लाग्यो र निकै पटक झपारियो पनि ।
पत्रकार कुमार यात्रुले अन्तर्वार्तामा बोलाएका थिए । ६ बर्षपछि पुगेको, इन्डिजिनिस टेलिभिजन कार्यालय खोज्दा-खोज्दा अर्को हैरान परियो ।
वार्ता सकिनासाथ दौडदै चोकमा पुगेर भेटियो, ती युवालाई । खोटाङ, चुईचुम्मा घर बताए । ३५ बर्षको उमेर । अस्ति रामकुमार राई (पासाङ) लाई भोट दिएको । १२ कक्षासम्म पढेको बताउने ती हेर्दा र सुन्दा भद्र नै लाग्थे । जनसंवाद यात्राको कुरा गरेपछि आफूले पनि यात्रामा जान पाउनुपर्नेमा उनले जोड गरे । सहमति गरियो, तर लाग्ने खर्च खोज्न र यात्रामा अनुशासित हुन भनियो । हामी छुट्टियौं । फोन भने दिक्कै पार्ने गरि लगातार गरिरहे ।
२४ गते विहान उनले ३० हजार खर्च सोचेको, तर २० हजार रुपैयाँ मात्र जम्मा गर्न सकेको बताए । ठिकै छ, भन्दै हामीहरु २५ गते दिउँसो बाटो लाग्नुपर्ने बतायौं । एक जना साथी २७ गते इलाममा र अर्को जनाले ३० गते फिदिममा सिधै आउने गरी मिलाइएको थियो ।
ती युवासँग हामी दुई जना इटरी पुग्ने अनि भेटघाट गर्दै अघि बढ्ने योजना गरियो । फलस्वरुप २५ गते विहान दुई जनाको काठमाडौं-इटहरी बस टिकट काटियो र फोन गरियो । तर, बस चढ्ने बेलासम्मै उनको फोन लगातार अफ रह्यो । एकातिर भारी तनाव, अर्काेतिर टिकटको आधा रकम स्वहा !
“हुनेखाने राईहरुको रमिताको परिणाम” बिगतमा चिताएको सशस्त्र आन्दोलन अपेक्षित दिशामा हिँडाउन पाइएन भनेर जसरी हामी भनिरहेका छौं, तर एक जना किराती अनुहारका युवा हामीसँग त्यसरी खेलबाड गर्छन् । यहाँ भन्न खोजिएको यो हो कि फेरि त्यस्तो नहोस् । खेलबाड भएमा किमार्थ सह्य हुने छैन ।