सम्भवतः आफ्नो यायावर (घुमन्ते) जीवनकालदेखि रहँदै यस विकट पहाडी भूभागलाई पहिलोपटक हराभरा खेतीयोग्य बनाउँदै खसान क्षेत्रमा बसोवास गर्ने खसहरूले पौराणिककालमै दुर्ग, पुरहरू (सहर) बनाउँदै आफ्नै भाषा, लिपि, संस्कार, सांस्कृति, धर्म, मूल्य र मान्यताकाे विकासले गौरवशाली खस सभ्यताकाे विकास गरेको इतिहास पाइन्छ ।
प्राचीन आदिवासी खस जातिको खसान क्षेत्रमा ऐतिहासिक कारणबस समथर उत्तरी भारतीय भूमिबाट बाह्राैं शताब्दीतिर आर्यहरू आगमन गरेकोमा इतिहासविद्हरू एकमत छन् । नवआगन्तुक आर्यहरूले रहँदै बस्दा सुस्त एवम् मन्द गतिमा थाहै नपाई आफ्नो बर्चस्व र प्रभुत्व रैथाने खस जातिमाथि कायम गर्न पुगे । आर्यहरूकाे याे हस्तक्षेप कुनै घोडचढी, धनुषधारी लडाकुद्वारा या रणभूमिमा तरवारको बलमा खसहरूलाई परास्त गरी कुनै आर्य राज्य कायम गर्दै गरेको कार्य थिएन । इतिहास प्रसिद्ध लडाकु खस जातिलाई यसरी रणको माध्यममा बसिभूत गर्नु प्रायः असम्भव थियो र यसैले आर्यहरूले जातीय प्रभुत्वका लागि दिलचस्प र सर्वथा नुतन तरिका प्रयोग गरे ।
नवआगन्तुक आर्य बाहुन शिक्षित, दिक्षित र ग्रन्थले सुसज्जित थिए । यिनै घातक हतियारको प्रयोग गर्दै अत्यन्त परिस्कृत हिन्दू दार्शनिक एवम् समृद्ध तिलस्मी धार्मिक साहित्य र पुरोहितीको कलाकारिताको माध्यमबाट प्रभावित पार्दै मनोवैज्ञानिक रूपमा बसिभूत गर्दै स्वेच्छापूर्वक खसमाथि आर्यहरूले प्रभुत्व कायम गर्न पुगे ।
आर्य प्रभुत्वको फलस्वरूप “खस”जसकाे शाब्दिक अर्थ नै विशिष्ट, खास, शक्तिशाली, राजा वा नाइकेजस्तो अत्यन्त सम्मानित भावको थियो र विगत ३८०० वर्षदेखि आफू खस भएकोमा गर्व, आत्मसम्मान र स्वाभिमानको अनुभूति गर्ने त्यस्तै आफ्नो समयको दक्षिण एसियाको सबैभन्दा शक्तिशाली, समृद्ध र ठूलो साम्राज्यलाई खस देश नामाकरणमा गर्व गर्ने खसहरू १८औं शताब्दीसम्म पुग्दा नपुग्दा खस भएकोमा हिनताबाेध गर्न थाले । आफ्ना सभ्यताका अमूल्य निधी र पहिचानका धरोहर भाषा, लिपि, धर्म, सांस्कृतिलाई असभ्यताको द्याेतक सम्झदै आर्यका धर्म सांस्कृति अपनाएर सभ्य भएको ढोंग गर्न थाले । आफ्नो धर्मलाई कुलपुजा भन्दै “खोपीको देवता” बनाउन थाले । खसको यही चर्तिकलाले “खोपीको देवता”को आख्यान नै बन्यो । यसरी आर्यहरूकाे धार्मिक आक्रमणका कारण खसको स्वतन्त्र पहिचान आर्य प्रभुत्वकाे कठघरामा पुगिसकेको हो ।
यही अवस्थाको विशिष्ट परिवेशिक परिस्थितिमा, विश्वब्यापी मान्यताका आधारमा देशका प्रत्येक जाति/राष्ट्रियताले विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विभेदबाट सम्मान र समानताका आधारमा मुक्ति प्राप्त गर्दै जात/जातिविच नेतृत्वमा विकास गर्ने आन्दोलनको क्रममा खस जातिले स्वतन्त्र पहिचान र समान अधिकारको आवाज बुलन्द गर्न थालेको हो । यस्तो जातीय मुक्तिको प्रस्थानविन्दु भनेको सम्वन्धित जातिको पहिचानको वैधानिक मान्यताबाट सुरू हुने हो । हाम्रो समाजको सबैभन्दा घृणित निन्दनीय विभेद भनेको दलित/शिल्पीमाथिको सामाजिक विभेद हो । यस्तो अपराधिक अमानवीय विभेदमा परेको समुदायले पनि वैधानिक पहिचान प्राप्त गरेको छ । यस अर्थमा दलितको भन्दा दयनीय अबस्था खसको छ । किनकि खसको स्वतन्त्र वैधानिक पहिचान कायम छैन ।
यसकाे सार भनेको खस जातिमाथि भएको सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक विभेदको जड स्वतन्त्र पहिचान विहीन हुनाले हो । र यसकाे कारक तत्व भनेको आर्य हिन्दू धार्मिक अतिक्रमण हो । यो अतिक्रमणको जुवामा रमाएर मुक्तिको चाहना भनेको मृगमरिचिका भन्दा फरक छैन । यसैले खस जातिले आफ्ना पुर्खाले विकास गरी अनादि कालदेखि प्रचलनमा रहेको र आज पनि कायम रहेको धर्म सांस्कृतिको उत्खनन, प्रवर्द्धन, सम्वर्धन, परिमार्जन गर्दै पुनर्जागरण एवम् प्रचलन गर्नैपर्ने युगिन दायित्व बोधको बाध्यात्मक ऐतिहासिक अभिभारा हामीले बाेध गरेका हौं । यही मुक्तिको अभियानको प्रतिवद्धताको बाध्यता “विश्व मस्ट धर्म महासंघ” हो ।
पहिचान हाम्रो आत्मनिर्णयको अधिकार हो । यो नैसर्गिक अधिकार आर्य या अरू कुनै जातजातिप्रति पूर्वाग्रह या प्रतिशोंधको भावले होइन । न्याय, समानता, आदर, सम्मानपूर्ण र भातृत्वभावको सहअस्तित्व कायम गर्ने ध्येयले उठाइएको आवाजका रूपमा बुझ्न सबैमा सविनय अनुरोध छ । इतिहासको कटुसत्यको व्याख्याले कसैको भावनामा ठेस लागेको छ भने हाम्रो बाध्यता र विवशता हो भन्ने निवेदन छ ।
हाम्रा तत्कालीन नारा
१ गर्वसँग भनौं- हामी खस हौं ।
२ हाम्रो धर्म- मस्ट धर्म ।
३ पुर्खाको भाषा – खस कुरा ।
अब छिट्टै हुन गइरहेको जनगणनामा आफ्नो पहिचानको वैधानिक मान्यता आफ्नै हातले लेखौं, लेखाऔं । धन्यवाद ।
युवराज कार्की
अध्यक्ष, विश्व मस्ट धर्म महासंघ ।