पञ्चायतकालमा जनपक्षीय उम्मेदवारहरुको रणनीति हुन्थ्यो–पञ्चायतभित्रै पसेर पञ्चायतको भण्डाफोर गर्ने या पञ्चायतलाई ध्वस्त पार्ने । अहिले लोकतन्त्रका योद्धा भनिएका केपी शर्मा ओलीले ठ्याक्कै यही रणनीति अपनाएका छन् ।
पहिलेदेखि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरोधी केपी ओली काकताली परेर र अन्य नेताहरुको मुर्खताको कारण सत्तामा हाबी भए । गणतन्त्रभित्रै छिरेर गणतन्त्र ध्वस्त पार्ने ओलीको रणनीति स्पष्ट भैसकेको छ ।
संसद ओलीले दोस्रोपटक पनि विघटन गरिसके । संविधानलाई ओलीले कागजको खोस्टोमा परिणत गर्न खोजिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी ओलीको कठपुतली भएकी छन् ।
जसले गर्दा गणतन्त्रप्रति नै जनतामा वितृष्णा जागेको छ । जुन ओलीको चाहना नै हो । ओलीलाई जसरी पनि सत्तामा टिक्नु छ। चाहे गणतन्त्र भाँडमा किन नजाओस् ।
पञ्चायतकालको अन्त्यपछि बहुदल आएको केही वर्षमै पुनः महापञ्चहरु सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए ।
पूर्व मण्डलेहरु धमाधम मन्त्री भए र उनीहरुले बहुदलीय व्यवस्था नै बदनाम गरे । सत्ता समीकरणको सोही कालखण्डमा पजेरो काण्ड सुरा–सुन्दरी काण्डलगायत सांसद खरिदबिक्रीका अनेक काण्डहरु सार्वजनिक हुनुमा पूर्वमण्डलेहरुको भूमिका थियो ।
त्यस्तै गणतन्त्र आएपछि पनि अहिले ओलीजस्ता गणतन्त्रविरोधीहरु बयलगाडा सिद्धान्तका मालिकहरु माओवादीको वैशाखी टेकेर ओली र विद्याहरु एकाएक सत्ता राजनीतिको शिखरमा पुगे ।
जसले गर्दा प्रतिगामी शक्तिहरुले खेल्ने मौका पाउन थाले । सायद अहिले ओलीलाई प्रधानमन्त्री र विद्यालाई राष्ट्रपति बनाएकोमा प्रचण्ड पुर्पुराेमा हात राखेर पश्चाताप गरिरहेका छन् ।
त्यस्तै माधवकुमार नेपाल झलनाथ खनाल शेरबहादुर देउव लगायतका नेताहरुले पनि ओली यति तल्लो स्तरमा नाङ्गै हिड्छन् भन्ने कल्पना समेत गरेका थिएनन् होला ।
अब नक्कली राष्ट्रवादी, नक्कली लोकतन्त्रवादी र सत्ताको लागि जे जस्तो असंवैधानिक कदम पनि उठाउने ओली आफू कुर्सीमा बस्न नपाए बरु कुर्सी नै भाँचिदिने तर अरुलाई बस्न नदिने भनिरहेका छन् ।
धन्दुकारी स्वभावका ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउन जति ढिलो हुन्छ त्यति नै मुलुक संकटको दलदलमा फस्ने निश्चित छ ।
(रिजाल नेकपा एमाले माधव नेपाल समूहका नेता हुन् ।)