यतिबेला जनता समाजवादी पार्टी एक ढिक्का भएर नेपाली राजनीतिलाई नेतृत्व प्रदान गर्दै पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्नु आम नेता-कार्यकर्ताकाे दायित्व हाे । पार्टीभित्र वैचारिक मत भिन्नता हुनु, तर्क-वितर्क हुनु गतिशील पार्टीकाे कार्य नै हो, पार्टीका हरेक नेता-कार्यकर्ताले याे बुझ्न् जरुरी छ ।
पार्टीभित्र सैद्धान्तिक वैचारिक बहसलाई लिएर पार्टी फुट्ने आशयसहितकाे टिकाटिप्पणी कहीकतै कसैले उठाउनु हुन्न । पार्टीभित्र उठेका मत भिन्नता र विवादलाई उच्च लेवलका नेताहरुबीच गम्भीर छलफल गरिनुपर्छ । पार्टीका नेता-कार्यकर्ताबीच आत्मियताका साथ अन्तरघुलन गराउँदै नयाँ बिश्वास र भरोसाका साथ संवाद गर्दै नेता-कार्यकर्ता तथा जनतालाई एकताबद्ध रहेको सन्देश दिनुपर्दछ ।
जसपालाई बल्लतल्ल उत्पीडक जातिका प्रगतिशील, अग्रगामी विचार बोकेका आर्य-ब्राह्मण, खस र उत्पीडित जाति, क्षेत्रका मधेसी, आदिवासी जनजाति, शिल्पी/दलितहरुकाे नेतृत्वमा बनेको देशकै निर्णायक वैकल्पिक राजनीति शक्ति बनाउन एकता गरेकाे केही वर्ष नबित्दै एकताभन्दा पनि अनेकताको कुरा आमसञ्चारमाध्यममा आएपछि नेता-कार्यकर्ता बिचलित भएका छन् भने आम उत्पीडित जनता निराश भएका छन् ।
यहीँबेला यथास्थितिवादी र पश्चगामी शक्तिहरुलाई उत्पीडितको नेतृत्वलाई कसरी टुटाउने भन्ने बारेमा विभिन्न प्रकारका हतकन्ड अपनाउने र विभिन्न धाकधम्की र प्रलोभनका हरियो घाँस छर्न सक्छन् । यस्तो बेला कोही पनि चुक्नु हुन्न । राजनीतिक पार्टी संगठनभित्र सैद्धान्तिक, रणनीतिक, कार्यनीतिक बहस तर्क हुनु, चलायमान पार्टी संगठनभित्र स्वाभाविक हुन्छ ।
कार्यकारिणी समितिकाे बैठकले तत्काल केन्द्रीय समिति, केन्द्रीय परिषद् र पार्टीकाे विधान अधिवेशनकाे मिति ताेकाेस्
जसपा नेपालमा अहिले उठेको बहस सामूहिक नेतृत्व समानुपातिक समावेशिताको मुद्दा सशक्त रुपमा उठेको छ । यो राम्रो कुरा हो । तर जोगी देख्दा भैंसी तर्सिने, भैंसी देख्दा जोगी तर्सिने भयो भने भैसीले दुध कसरी दिने ? जसपा नेपाल निर्माण र यसको नेतृत्व त्याग, तपस्या र बलिदानको उपलब्धि हो । यसलाई जीवन्त राख्नु पनि नेता-कार्यकर्ताहरुकै प्रमुख भूमिका रहन्छ । यसबेला हाम्रा विपक्षीहरुबाट कसरी फुटाउ भनेर विभिन्न प्रलोभन, धाकधम्की आएको हुन सक्छ ।
किनकि, अहिलेसम्मका नेतृत्वले कहिले उत्पीडित जनताको हित भएको देख्न चाहेनन् । त्यो कुरा हाम्रो पार्टीमा पनि आई पर्नसक्छ । यसबेला जसपा नेतृत्वहरुबिच विभिन्न तर्क, बितर्क, आरोप, प्रत्यारोप बजारमा सुन्नमा आएका छ्न् । यसको अन्त्य तत्काल हुनु जरुरी भएको छ । जसपा नेपाल केन्द्रीय कार्यकारी समितिको बैठक भोलि (फागुन १३ गते) बस्दैछ ।
आदरणीय नेतृत्वगणलाई मेरो अनुरोध छ, पार्टीभित्रको आन्तरिक बहसले पार्टीभित्र मात्रै हैन देशको राजनीति वृत्तमा निकै ठुलो हलचल ल्याएको छ भने जसपा फुटको संघारमा पुग्यो भन्ने समाचारले आम उत्पीडित जनता निराशामा छन् भने आम नेता-कार्यकर्तामा कुन पक्षमा उभिने भन्ने दोधारमा छन् ।
यसबेला पार्टीभित्र नेता-कार्यकर्ताबीच देखिएको समस्या भनेको जसले जुन पक्षले जे भनेर धुव्रिकृत भएता पनि पनि यसको मूल समस्याको समाधान भनेको आन्तरिक रुपमा छलफल बहस गर्दै अन्तरघुलनको अभाव नै हो । पार्टी संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पक्षबाट उठेको सामूहिक नेतृत्व प्रणाली भन्ने विषय नै प्रमुख भनिएको छ भने एमसिसीमा समर्थन या बहिष्कार ? जस्ता विषयले विवाद चुलिएको भन्ने पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षकाे आरोप छ ।
यी विषय दुबै देश र जनताको लागि नै हुन् । त्यसो हो भने उठेका विषयवस्तुमा पार्टीमा छलफल, बहस हुनु प्रमुख कुरा हो । कसकाे कति बल छ, कति शक्ति छ भनेर पौठेजोरी खेल्नु बुद्धिमानी हुन्न । बरु पार्टीभित्र बृहत् छलफल हुन आवश्यक छ । त्यसको लागि फागुन १३ गते बस्ने केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले सही निष्कर्ष निकाल्नु पर्दछ । यो अहिलेकाे प्रमुख जिम्मेवारी पनि हाे ।
पार्टीले तत्काल केन्द्रीय समिति र केन्द्रीय परिषद्काे बैठक पनि डाकाेस् भन्ने मेराे अनुराेध छ । आम नेपाली समाजको अवस्था र भौगोलिक बनोटको प्रमुख माग सामूहिक नेतृत्व, समानुपातिक समावेशिता नै हाे भने जुन मुद्दाले सबैलाई जातीय, समुदाय र भौगोलिक विकटता समेतको प्रतिनिधित्व गरी विकास र समृद्धि आधार किल्ला मान्न सकिन्छ र यो नै उन्नत लोकतान्त्रिक कुरा हो ।
यसलाई सार्थक बनाएर आम जनताको चाहना अनुसार जसपाकाे नेतृत्वले एकपटक सबै कुरा बिर्सिएर आत्मसमिक्षा गरी नयाँ शीराबाट संवाद र छलफलबाट पार्टीलाई अगाडि लैजानु, पार्टीकाे गतिरोध फुकाएर आउँदै गरेको स्थानीय तहकाे चुनावमा पार्टीका नेता-कार्यकर्तालाई चुनावी कार्यमा हाेम्नु जरुरी छ ।
याे किसिमको सकारात्मक सन्देशका साथ पार्टी र जनताकाे कार्यमा नेता-कार्यकर्तालाई निर्देशन हाेस् । यसको सुरुवात आज नै अहिले नै होस् र अन्त्यमा केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले तत्काल केन्द्रीय समिति, केन्द्रीय परिषद् र पार्टीकाे विधान अधिवेशनकाे मिति ताेकाेस् र पार्टी चुनाव केन्द्रीत पनि होस् ।
सहि सुझाब नेतृत्व पङ्कतिहरुलाई ,एकता रहनुपर्छ एम सि सि बारे ज स पा नेपालकाे अधिकारिक धारणा आउनुपर्छ जुन एम सि सि काे बिषयमा बुहत छलफल गरि राष्ट्रलाई घात पुर्याउने एम सि सि का बुँदाहरु सँसाेधन हुन जरुरी छ।